arrow

बेलायतको रिडिङस्थित पार्कमा छुरा प्रहार, तीन जनाको मृत्यु

logo
एपी,
प्रकाशित २०७७ असार ७ आइतबार
khukuri.jpg

लन्डन । बेलायतको रिडिङ शहरस्थित एक पार्कमा शनिबार अन्धाधुन्ध आक्रमण हुँदा तीन व्यक्तिको मृत्यु हुनुका साथै अरु तीन जना गम्भीर घाइते भएका छन् । स्थानीय प्रहरीले उक्त आक्रमण आतंकवादी हो वा होइन भन्ने बारेमा अनुसन्धान शुरु गरिएको जनाएको छ । 

थेम्स भ्याली प्रहरीले एक जना २५ वर्षका व्यक्तिलाई घटनास्थलबाट पक्राउ गरेको जनाएको छ । प्रहरीले गोप्य सूचनाका आधारमा अरु थप आक्रमणको सम्भावना नरहेको र स्थानीयबासीलाई नआत्तिन आग्रह गरेको छ । 

गुप्तचर विभाग प्रमुख इयान हन्टरले उक्त आक्रमणको भित्री कारणबारे अनुसन्धान भइरहेको जानकारी दिँदै प्रतिआतंकवादी इकाईका गुप्तचरहरुले अनुसन्धान कार्यमा सहयोग गरिरहेको बताए । 

बेलायती संचार माध्यमहरुले उक्त घटना आतंकवादी प्रकृतिको देखिएको र पक्राउ परेका व्यक्ति लिबियाली नागरिक रहेको जनाएका छन् । प्रहरीले पक्राउ परेका व्यक्ति लिबियाली नै रहेको पुष्टि गरेको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले रिडिङमा भएको घटनाबाट पीडितका परिवारप्रति आफूले गहिरो दुःख प्रकट गरेको बताएका छन् । 

बेलायतको राजधानी लन्डनबाट करिब ६४ किलोमिटर पश्चिमस्थित रिडिङको फोरबरी गार्डेन पार्कमा साँझपखको घाम तापिरहेका व्यक्तिमाथि साँझ करिब ७ बजे आक्रमण भएको थियो । 

प्रत्यक्षदर्शीहरुले प्रहरीको कार र हेलिकप्टर तत्कालै घटनास्थलमा पुगेको बताएका छन् । केही मिनेटभित्रै प्रहरीले वरपरका सडकहरु अबरुद्ध गर्नुका साथै घाइतेहरुको उद्धारका लागि दुईवटा एयर एम्बुलेन्स ल्याइएको थियो । 

पार्कमा रहेका प्रत्यक्षदर्शी लरेन्स वोर्टले एक जना एक्लो व्यक्ति ठूलो समूहमा रमाइरहेका व्यक्तिहरुको नजिक पुगेर अन्धाधुन्ध छुरा प्रहार गरेको जानकारी दिए । 

पार्कका अरु मानिसलाई पनि छुरा हिर्काउँदै ती व्यक्ति पार्कबाहिर भागेका थिए । उक्त घटना हुनुअघि फोरबरी गार्डेनमा अश्वेत नागरिकमाथिको विभेद विरुद्ध एउटा प्रदर्शन गरिएको थियो । प्रहरीले उक्त  आक्रमण र प्रदर्शनबीच कुनै सम्बन्ध नरहेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ