arrow

राप्तीसोनारी गाउँपालिकाको बजेट ७९ करोड ३३ लाख रुपैयाँ 

logo
प्रकाशित २०७७ असार ११ बिहिबार
104996163_629136417998121_5.jpg

बाँके । राप्तीसोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७–७८ का लागि ७९ करोड ३३ लाख ६ सय ९० रुपैयाँको बजेट पारित गरेको छ । 

गाउँपालिकाको बुधबार आयोजित सातौं गाउँसभाले उक्त बजेट पारित गरेको हो । 

“समृद्ध राप्तीसोनारीको आधार शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र दिगो पुर्वाधार” भन्ने  मुल नाराकासाथ आयोजित गाउँसभाले चालुतर्फ ५६ करोड ९५ लाख १५ हजार ६ सय ९० र पुँजीगततर्फ २२ करोड ३७ लाख ८५ हजार रुपैयाँको बजेट पारित गरेको छ । 

सभाले पुर्वाधार विकास कार्यक्रमका लागि २० करोड ५७ लाख, सामाजिक विकास कार्यक्रममा ६ करोड १२ लाख ६५ हजार, वन वातावरण तथा विपद ब्यवस्थापन कार्यक्रमका लागि २ करोड ६५ लाख र सुशासन तथा संस्थागत विकास कार्यक्रमका लागि २१ लाख रुपैयाँ वनियोजन गरेको छ । 

यस्तै चालु खर्च तर्फ कार्यालय सञ्चालन तथा उपभोग खर्चका लागि ११ करोड ४२ लाख ५० हजार रुपैया विनियोजन गरिएको छ । 

वडागत चालु प्रशासनिक कार्यक्रमतर्फ ९० लाख र तालिम लगायत लक्षितवर्ग कार्यक्रमतर्फ ३ करोड ३३ लाख बजेट विनियोजन गरिएको छ । 

त्यसैगरी संघिय सरकार शर्सत अनुदान २९ करोड ७१ लाख र विशेष अनुदानतर्फ (कृषिपकेट क्षेत्र सुपर जोन स्थापना तथा संचालन) १ करोड विनियोजन गरिएको छ ।

प्रदेश सरकार शर्सत अनुदानतर्फ १ करोड ४० लाख ८५ हजार र विशेष अनुदानतर्फ ६० लाख विनियोजन गरिएको छ । 

संघिय सरकारबाट प्राप्त अनुदान अन्तर्गत वितिय समानिकरण अनुदान १६ करोड १९ लाख, राजश्व बाँडफाड १४ करोड ९२ लाख ४८ हजार, सर्सत अनुदान २९ करोड ७१ लाख, प्रदेश सरकारबाट प्राप्तवित्तिय समानिकरण अुनदान ५९ लाख ६ हजार, राजश्व बाँडफाँड १ करोड ४४ लाख७६ हजार, शर्सत अनुदान १ करोड ४० लाख ८५ हजार, विशेष अनुदान ६० लाख तथा गाउँपालिकाको आन्तकि स्रोततर्फ १३ करोड ४५ लाख ८४ हजार ७ सय २० रुपैयाँ रहेको छ । 

गाउँ सभाले शिक्षा, स्वास्थ्य खानेपानी तथा सरसफाइ, कृषि, पशु सँस्कृति प्रर्बद्धन, उद्योग तथा वाणिज्य, पर्यटन, सहकारी वित्तिय क्षेत्र, खेलकुद तथा मनोरञ्जन लगायतलाई प्राथमिकतामा राखेको छ । 

सभाले शिक्षामा ३ करोड ३० लाख, स्वास्थ्यमा १ करोड ९९ लाख ५० हजार ६ सय ९०, कृषि पशु लगायतमा १ करोड ४० लाख, विपद ब्यवस्थापनमा २ करोड, जलउत्पन्न प्रकोप नियन्त्रणमा २५ लाख, फोहोरमैला तथा ढल ब्यवस्थापनमा, खानेपानी तथा सरसफाइमा १० लाख विनियोजन गरेको छ ।

गाउँ सभामा गाउँपालिका अध्यक्ष लाहुराम थारुले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपाध्यक्ष धनीकुमारी खत्रीले प्रस्तुत गरेको बजेट सर्वसम्मत रुपले पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।

सभामा उपस्थित हुनु भएका सभासदहरुले नीति तथा कार्यक्रम र बजेटबारे विभिन्न जिज्ञासा, सल्लाह तथा सुझाव राखेका थिए । 

बजेटमा विपद ब्यवस्थापन र रोजगारी सिर्जना, आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार विकास, वन तथा वातावरण विकास, सुशासन तथा संस्थागत विकासमा मुख्य प्राथमिकता दिइएको छ । 

बजेटमा कोरोना भाइरस कोभिड १९ का कारण प्रभावित भएका जनतालाई राहत लगायत अन्य आय आर्जनका क्रियाकलापहरु अभिवृद्धि गर्ने, सामाजिक न्याय समावेशीकरण र समानताको प्रर्वद्धन गर्ने, नागरिकको प्रत्यक्ष जीवन प्रक्रियासँग जोडिएका पुर्वाधार संरचनाको विकास गर्ने, गुणस्तरिय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा तथा स्वच्छ खानेपानी र सरसफाई लगायत बिद्युतीकरणलाई प्राथमिकताका साथ परिपुर्ति गर्ने, पालिकाको सेवा प्रवाहलाई चुस्त दुरुस्त तुल्याउन प्रशासनिक ब्यवस्थापन तथा पुर्वाधार संरचनाको विकास गर्ने रहेको छ । 

सभाका सभाध्यक्ष एवम् राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बजेटमा पुर्वाधार विकासका साथै शिक्षा, स्वास्थ्य, कृषि लगायत क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ