arrow

आइएफजेको रिपोर्ट भन्छ, ‘यसरी विश्व मिडियामा प्रभाव बढाउँदैछ चीन’

पत्रकारलाई चीन भ्रमण मिडियामा प्रभाव बढाउने रणनीतिको अंग

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार १२ शुक्रबार
ifj-china-report.jpg

काठमाडौं। अन्तराष्ट्रिय पत्रकार महासंघ (आईएफजे)ले चीन सरकारले विश्व मिडियामा आफ्नो प्रभाव राख्न बनाएको रणनीति बारे गरिएको एक अध्ययन सार्वजनिक गरेको छ। आईएफजेको उक्त अध्ययनले चीनले रणनीतिक रुपमा विश्वका सबै महादेशका अधिकांश देशहरुका पत्रकारहरुलाई चीन भ्रमण गराईसकेको उल्लेख छ। 

चीनले बिकासशील, बिकासोन्मुख र बिकसित सबै देशहरुका पत्रकारहरुलाई चीन भ्रमण गराउने कार्य गरिरहेको छ। बिकासशील र बिकासोन्मुख देशहरुमा मिडिया कम्पनीहरुलाई कम्प्युटर, रेकर्डर लगायतका सामाग्रीहरु सहयोग गर्ने गरिएको पनि अध्ययनले जनाएको छ। 

‘चीनको कथाः विश्व मिडियाको नयाँ रुप’ नामक अध्य्यनमा विश्वभरीका ५८ देशका पत्रकार संस्थाहरु सहभागी रहेका थिए। उक्त अध्ययनले विश्वका मिडियामा चीनको बर्चश्व बढ्दै गएको देखाएको छ। अध्ययन विश्व राजनीति, अर्थतन्त्र आदीमा चीनले आफ्नो एजेण्डा स्थापित गर्दै गरेको पाईएको छ। 

उक्त अध्ययन अन्तराष्ट्रिय पत्रकार महासंघसँग आवद्ध बिभिन्न देशका पत्रकारका संस्था र पत्रकारहरु माझ गरिएको थियो। उक्त अध्ययनले चीनले बिभिन्न देशका संस्थाहरुसँग पत्रकार भ्रमण, सदभाव भ्रमण, समाचारहरुको आदान प्रदान, बिभिन्न देशहरुमा मिडियामा लगानी आदी लगायतका कामहरु गरिरहेको देखाएको छ। 

चीनको महत्वाकांक्षी ‘बेल्ट एण्ड रोड ईनिसिएटीभ’ कार्यक्रमलाई मध्यनजर गरेर सम्पुर्ण मिडिया सम्बन्धी कार्यहरु भइरहेको उक्त अध्ययनले देखाएको छ। उक्त अध्ययनका अनुसार एक तिहाई पत्रकार संघहरु चीनको मिडिया युनियनसँग कुनै न कुनै रुपमा जोडिएका छन् वा चिनियाँ मिडिया युनियनले ति संस्थाहरुसँग समेवन्ध बढाएका छन्। ती मध्य १४ प्रतिशतले चिनियाँ मिडिया युनियनसँग लिखित सम्झौताहरु गरेका छन्।चीनले सबै महादेशहरुमा बराबरीका हिसाबमा चीनका पत्रकारहरुलाई सद्भाव भ्रमण गराईरहेको छ।

आईएफजेका अनुसार चीनले विश्व मिडियामा आफ्नो पदचाप बढाउँदै लगेको छ। बिशेषगरी गरिब वा कमजोर सरकार रहेका देशहरुका मिडियामा आफ्नो प्रभाव बढाउँदै लगेको छ। 

चीनले हालसालै विश्वका मुस्लिम पत्रकारहरुलाई सिनजियाङ प्रान्तको भ्रमण गराएको थियो। उक्त क्षेत्रमा उईगुर मुसलमानहरु बिरुद्ध चीन सरकारको ज्यादतीबारे धेरै समाचारहरु बाहिरिएका थिए। चीनले मुसलमान पत्रकारहरुलाई उक्त क्षेत्रमा लगेर उइगुर मुसलमानहरु बिरुद्ध केहि नराम्रो भएको छैन भन्ने स्थापित गर्ने प्रयास गरेको थियो। 

चीनका कम्पनीहरुले विश्वका मिडियाहरुमा शेयर किन्न थालेका छन्। अफ्रिकाको केन्यामा चिनियाँ स्टार टाईम्स स्याटलाईट कम्पनीले ठुलो मात्रामा लगानी गरेको छ। अफ्रिकाको ३० वटा देशमा प्रभाव पार्ने उक्त मिडियामा लगानी विश्वको ठुलो मिडियामा गरिएको लगानी हो। 

आईएफजेको अध्ययनमा सहभागी मध्य तीन चौथाईले चीनको भ्रमण गरिसकेको बताएका छन्। चीन सरकारको निमन्त्रणामा सबैले भ्रमण गरेको उल्लेख गरेका छन्। सन् २०१६ देखि अष्ट्रेलियाबाट २८ जना पत्रकारले चीनको भ्रमण गरिसकेका छन्।

चीनको आफ्नो स्वार्थमा रहेका समाचारहरु विश्वभरीबाट एकै स्वरमा आउने वातावरण बनाउन चीन प्रयत्नरत रहेको छ। बिआरआई होस् वा साउथ चाइना सीको समस्या विश्वभरबाट चीनको पक्षमा समाचार आइरहेका छन्। 

फिलिपिन्समा चीनको सहयोगमा सरकारले प्रोपोगण्डाहरु गरिरहेको छ। सरकारको संचार टोलीसँग मिलेर चीनले आफ्नो मिडियामा आफ्नो प्रभावको प्रयोग गरिरहेको फिलिपिन्सका पत्रकारहरुले बताएका छन्।

चीनका पत्रकारहरुले विश्वभरीका मिडियाहरुमा काम गरिरहेको परिप्रेक्ष्यमा चीनको विश्व मिडियामा प्रभावलाई हल्का रुपमा लिन नहुने पत्रकार संघहरुले जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ