arrow

सुधिर चौधरीको माफी : गलत ठाउँमा निहुँ खोज्दाको परिणती

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार २७ शनिबार
sudhir-chaudhary-zee-news.jpg

काठमाडौं। नेपालको बारेमा अतिरञ्जित र मिथ्या प्रचारमा उत्रिएका भारतीय मिडियाहरुलाई नेपालमा हेर्न नमिल्ने बनाएपछि भारतीय कतिपय पत्रकारहरुले सामाजिक संजालमा गरेको टि्प्पणी उनीहरुलाई नै महंगो परेको छ। 

जी न्यूजको विहार झारखण्ड संस्करणमा नेपाली प्रधानमन्त्रीको बारेमा आएको अतिरञ्जित विषयबस्तुको प्रतिक्रियास्वरुप टिभी सिग्नल वितरकहरुले सबै भारतीय न्यूज च्यानल बन्द गरिदिए। भारतीय च्यानल बन्द गरेपछि त्यसको प्रतिक्रिया जनाउँदै त्यहाँका टीभी च्यानहरुले समाचार बनाए। त्यतिमा मात्र चित्त नबुझाएर जी न्यूजका सम्पादक सुधिर चौधरीले सामाजिक संजाल ट्वीटरमा प्रतिक्रियास्वरुप ट्वीट गरे। 

भारतीय टीभी च्यानल र एंकरहरुसँगै नेपाल डराएको उल्लेख गर्दै नेपाल बिरुद्ध सेना परिचालन नै गर्नु नपर्ने आपत्तीजनक अभिव्यक्ति दिए। तर यो प्रतिक्रिया स्वयं उनकै लागि भारी परेको छ। आफ्नो अभिव्यक्तिमा उनी टिकिरहन सकेनन्। नेपालमा उत्पन्न कडा प्रतिक्रियामा कतिपय भारतीयहरुको समेत साथ रहेपछि चौधरी आफ्नो पूर्ववत प्रतिक्रियाबाट पछि हट्दै माफी माग्न वाध्य भएका छन्। 

चौधरीले माफी मात्र मागेनन उनले नेपालको बारेमा लेखेको सो ट्वीट नै मेटाएका छन्। वरिष्ठ पत्रकार भएपनि चौधरीले अति राष्ट्रवादी बन्ने नाममा नेपालम भारतबीचको सदियौं पुरानो सम्वन्धमा सेना परिचालन गर्ने सम्मको बिषय छेडेपछि उनीमाथि भारतभित्रै ठूलो दवाव परेको उनको पछिल्लो ट्वीटले देखाउँछ। भारतीय सेनामा अहिले पनि हजारौ गोर्खा सैनिक छन्। नेपाली र नेपाली मूलका गोर्खा सैनिक अहिले पनि भारतीय सीमा सुरक्षामा खटिरहेका छन्। यो सम्वन्धलाई नजरअन्दाज गर्दै लेखेका चौधरी अन्ततः आफै माफी माग्ने अवस्थामा पुगे। उनले ट्वीट नै गर्दै माफी मागे।        

@sudhirchaudhary
मेरे इस ट्वीट से नेपाल के हमारे दर्शक आहत हुए हैं। यहाँ भारत में भी बहुत से लोगों ने मुझे लिखा कि ये विचार सही नहीं है। सम्भव है कि मैंने ये खबर आने के बाद आवेश में अनावश्यक प्रतिक्रिया कर दी हो। ये मंच अभिव्यक्ति का है,आहत करने का नहीं। इसलिए खेद जताते हुए इस ट्वीट को हटा रहा हूँ।

माफी मागिएको ट्वीटको अन्तमा उनले नमस्कार गर्दै विनयी भाव समेत प्रस्तुत गरेका छन्। आफ्नो ट्वीटका कारण नेपालका दर्शकहरु दुखी भएको तथा भारतकै नागरिकहरुले पनि बफ्नो विचार सहि नभएको बताएपछि आफू पुरानो ट्वीट हटाउँदै माफी माग्ने निष्कर्षमा पुगेको उनले स्विकारेका छन्। नेपालमा भारतीय च्यानल बन्द भएको समाचार पछि आवेशमा आएर अनावश्यक प्रतिक्रिया दिएकोमा पश्चाताप गर्दै उनले सामाजिक संजाल अभिव्यक्तिको रहेको र कसैलाई दुख पुर्‍याउन नभएको स्विकार्दै माफी मागेका छन्। 

चौधरीको अघिल्लो ट्वीटमा उनले गाली मात्र खाएका थिए। नेपाल भारतको राजनीतिक स्तरको सम्वन्धलाई मात्र देख्ने गल्ती गरेका चौधरीले जनस्तरको प्राचिनतम सम्वन्धलाई ध्यान नदिएकोमा अनावश्यक खप्की खानुपर्‍यो। सायद उनले यस किसिमका गाली उनको जिन्दगीभरमा पनि खाएका थिएनन होला। 

माफी मागेपछि नेपाली जनमतले मिश्रीत प्रतिक्रिया दियो। गल्ती सुधारेर माफि मागेपछि धेरैले उनलाई धन्यवाद दिएका छन् भने कतिपयले चाहि चौधरी बल्ल आफ्नो ठाउँमा आइपुगेको शैलीमा प्रतिक्रिया दिदै 'अब आइ उँट पहाड के निचे' शैलीमा व्यंग्य गरेका छन्। 

इमेज ग्रुपमा आवद्ध पत्रकार तथा मानवअधिकारकर्मी राजन कुँकेलले गल्ती भएको स्वीकारोक्ती जनाएकोमा चौधरीलाई धन्यवाद भनेका छन्। अर्का पत्रकार रोशन खड्काले पनि गल्ती स्विकारेकोमा धन्यवाद प्रकट गरेका छन्। पत्रकार महासंघका सचिव उदय जीएमले माफी मागेर उचित काम गरेको बताए। 

वरिष्ठ पत्रकार गोपाल झाले पत्रकार चौधरीको माफी गलत ठाउँमा निहुँ खोज्दाको परिणती भएको बताए। उनले पत्रकारीताको सामान्य सिद्धान्त पछ्याएर समाचार सम्प्रेषण गर्नुपर्ने पत्रकारले द्विपक्षीय सम्वन्धलाई ध्यान नदिदा आफै प्रतिरक्षा गर्नुपर्ने अवस्थामा पुगेको बताए। 

जी न्यूजको समाचारको विषयमा नेपालमा तीव्र प्रतिक्रिया उत्पन्न भएको थियो। नेपाल पत्रकार महासंघ प्रेस काउन्सिलले विरोध जनाएको थियो। काउन्सिलले भारतीय प्रेस काउन्सिललाई पत्र लेख्दै अनर्गल प्रचार गर्ने भारतीय मिडियालाई सचेत गराउन आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ