arrow

चीनलाई विश्वास गर्न नसकिने बेलायती विदेशमन्त्रीको भनाई

म्याग्‍निट्‌स्की-शैलीको प्रतिबन्ध कानुन पारित

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन १ बिहिबार
dominic-raab-uk-foreign-minister.jpg

लन्डन। बेलायतका विदेशमन्त्री डोमिनिक राबले चीनलाई कुनै हालतमा विश्वास गर्न नसकिने बताएका छन्। चीनले हङकङका लागि नयाँ सुरक्षा कानुन लागु गर्दै हङकङको स्वतन्त्रता अन्त्य गरेपछि बेलायती विदेशमन्त्री राबले अन्तर्राष्ट्रिय मामिलाका कुनै पनि प्रसंगमा चीनसँग विश्वास गर्न नसकिने बताएका हुन्।

"चीनले बेलायतसँग गरेको अन्तर्राष्ट्रिय सम्झौतालाई उल्लंघन गरेको छ। सन् १९९७ मा हङकङलाई चीनको जिम्मा लगाउँदा हङकङको स्वतन्त्रता र स्वायत्तता ५० वर्षसम्म कायम गर्ने र एक मुलुक दुई प्रणाली लागु गर्ने सम्झौता भएको थियो । त्यो विश्वासको विषय थियो। तर, चीनले उक्त सम्झौता उल्लंघन गर्दै विश्वासको संकट पैदा गरेको छ।"

उनले विश्वभरका अधिकांश मुलुकहरुले चीनले किन सम्झौता उल्लंघन गरेको भन्दै प्रश्‍न गरिरहेका बताएका छन्। यसअघि बेलायतका लागि चिनियाँ राजदूत लिउ सियाओमिङले बेलायतले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको बताएका थिए।

बेलायतले चीनले हङकङमा लागु गरेको नयाँ सुरक्षा कानुनको विरुद्धमा अभिव्यक्ति दिनुका साथै ३० लाख हङकङबासीलाई बेलायतमा नागरिकता दिने प्रस्तावसमेत गरेको थियो। 

हङकङको सरकारले संसदको कुनै परामर्श बिना नयाँ नियम जारी गर्दै व्यक्तिको सम्पत्ति छानबिन गर्ने, सम्पत्ति हरण गर्ने, व्यक्तिहरुका कुराकानी ट्रेस गर्ने र इन्टरनेटमा गरेका गतिविधिहरुलाई निगरानी गर्ने काम भइरहेको छ। 

चीनको उक्त कदमपछि अमेरिकाले चिनियाँ र हङकङका अधिकारीहरुमाथि प्रतिबन्धको कानुन बनाएको थियो भने बेलायतले पनि म्याग्‍निट्‍स्कि शैलीको प्रतिबन्धको कानुन पारित गरेको छ । यसअन्तर्गत मानवअधिकारको उल्लंघन गर्ने, अपराधमा संलग्‍नलाई बेलायतमा प्रतिबन्ध लगाइने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ