चीन बिरुद्ध अमेरिका आक्रामक, छिमेकीलाई नसताउन विदेशमन्त्री पोम्पेओले गराए सचेत
प्रकाशित २०७७ साउन ८ बिहिबार
514
Shares
काठमाडौं। अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले चीनले कोरोना भाइरसको महामारीको समयमा यसको फाइदा उठाउँदै आफ्नो स्वार्थका लागि छिमेकी देशलाई धम्क्याउने तथा सताउने गरिरहेको आरोप लगाएका छन्।
बेलायत भ्रमणमा रहेका विदेश मन्त्री पोम्पेओले चीनको सत्ताधारी चिनियाँ कम्युनिष्ट पार्टीले महामारीको यो समयमा विश्वलाई सहयोग गर्न जुट्नु पर्नेमा छिमेकी देशमाथि दादागिरी प्रस्तुत गरिरहेको आरोप लगाएका हुन्।
बेलायतका विदेश मन्त्री डोमिनिक राबसँगको भेटपछि भएको पत्रकार सम्मेलनमा पोम्पेओले चीनसहित विश्वका सबै देशले अन्तर्राष्ट्रिय सीमाका सम्बन्धमा रहेको अन्तर्राष्ट्रिय कानून पालना गर्नुपर्ने बताए । उनले साउथ चाइना सी को विवादित क्षेत्रमा चीनले गरेको दाबी वैध नरहेको बताए । गैरकानूनी रुपमा आफ्नो नरहेको क्षेत्रमा चीनले दाबी प्रस्तुत गरेको र यसका लागि छिमेकी देशलाई धम्क्याएको उनको भनाई छ।
पोम्पेओले चीनले कोरोना भाइरसको महामारीका कारण उत्पन्न संकटलाई आफ्नो हितका लागि प्रयोग गरेको र यो अति लाजमर्दो रहेको बताए । चीनले महामारीको सुरुवातमा यसबारेका जानकारी लुकाएको आरोप उनले पुनः लगाए । पोम्पेओले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) चीनको कठपुतली बनेको आरोप समेत लगाएको बेलायती सञ्चारमाध्यमले जनाएका छन्।