ट्रम्प आत्तिए, राष्ट्रपतिको निर्वाचनमा विपक्षीद्धारा धाँधली हुने दाबी
प्रकाशित २०७७ भदौ ९ मंगलबार
424
Shares
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनामा धाँधली हुने दाबी गरेका छन् । दोस्रो पटक राष्ट्रपतिका लागि उम्मेदवार बनेका ट्रम्पले चुनाव हार्ने डरले विपक्षीले चुनावमा धाँधली गर्न लागिपरेको दावी गरेका हुन् ।
रिपब्लिकन पार्टीको राष्ट्रिय भेलामा उनले विपक्षी डेमोक्र्याटहरु चुनाव धाँधली गर्न लागिपरेको दाबी गरेका हुन् ।
दोस्रो कार्यकालका निम्ति पनि उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउन रिपब्लिकन दलले स्वीकृती दिए लगत्तै ट्रम्प मञ्चमा आएर एक घण्टा सम्बोधन गरेका थिए।
उनले त्यहाँ आफूलाई जिताए अमेरिका अघि बढ्ने बताउँदै भने, ‘यो चुनाव हामीले जित्नै पर्छ। यो हाम्रो देशको इतिहासकै सबभन्दा महत्त्वपूर्ण चुनाव हो। सबभन्दा ठूलो हो। हाम्रो देश अत्यन्त खराब दिशामा जान सक्छ या त अझै राम्रो उचाइमा पुग्न सक्छ। चीनबाट प्लेग आउनु अगाडि हामी त्यही राम्रो दिशामा गइरहेका थियौँ।’
उनले हुलाकमार्फत् गरिने मतदानलाई डेमोक्र्याटहरुले दुरुपयोग गरेर चुनावमा धाँधली गर्न लागेको आरोप कुनै प्रमाण विना लगाएको समेत बीबीसीले लेखेको छ । कोरोना भाइरस महामारीका कारण हुलाकमार्फत् निकै सङ्ख्यामा मतदान हुने ठानिन्छ ।
ट्रम्पले यस्तो आरोप लगाए पनि स्वतन्त्र विज्ञहरू भने अमेरिकामा मतदानमा दुर्लभै अनियमितता हुने दाबी गर्छन् ।
ताजा मत सर्वेक्षणहरूमा ट्रम्प विपक्षी उम्मेदवार जो बाइडनभन्दा पछाडि परिरहेका छन् ।