- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
ललितपुर । हुनेले दिने नहुनेले लैजाने अभियान अन्तर्गत नेपाल तरुण दल ललितपुर क्षेत्र नं. १ ले सञ्चालन गरेको फुड बैंक कार्यक्रम प्रहरीले हस्तक्षेप गरेर हटाएको छ । प्रहरीलाई अघी सारेर सत्तारुढ दलका स्थानिय नेताहरुले गरेको अमानवीय कार्यको स्थानियले कडा बिरोध गरेको नेपाली कांग्रेसका स्थानिय नेता तथा कांग्रेस खेलकुद विभागका सदस्य सचिव मिनकृष्ण महर्जनले जानकारी दिए ।
हरेक दिन बिहान ८ बजे देखि ९ बजेसम्म सञ्चालन हुँदै आएको ‘फुड बैंक’ मा दाल, चामल, नुन लगाएतका खाद्यान्न सामाग्री लिनको लागि कमजोर आर्थिक अवस्था भएकाहरु आउने गरेका थिए । भौतिक दुरी कायम गर्दै बिहान ५ बजेदेखि लाइन बसेका स्थानीयलाई प्रहरीले मंगलवार विहानै लखेटेको थियो ।
माथीको आदेश भन्दै आयोजक तरुण दल क्षेत्रीय समितिलाई समेत खाद्य सामग्री बितरण नगर्न प्रहरीले दबाब दिएपछि गोदावरी नगरपालिकका मेयर गजेन्द्र महर्जनले समन्वय गरि कार्यक्रमलाई सुचारु गरेका थिए ।
ललितपुर क्षेत्र नं. १ का सांसद नवराज सिलवाल र प्रदेश सांसद चेतनाथ सञ्जेलले तरुणदलको कार्यक्रमलाई रोक्न प्रहरीलाई दबाब दिएको स्थानीयले आरोप लगाएका छन् ।
चापागाँउस्थित बज्रबाराही मन्दिर परिसरमा एक हप्तादेखि सञ्चालित ‘फुड बैंक’ बाट दैनिक १ सय भन्दा बढी परिवारले खाद्यान्न प्राप्त गर्दै आएका थिए ।
‘हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ’ भन्दै सुरु गरिएको उक्त अभियानमा पुर्व अर्थ राज्यमन्त्री उदय शम्सेर राणा, कांग्रेस ललितपुरका सभापति मदन अमात्य, तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, कांग्रेस खेलकुद बिभाग सचिव मिनकृष्ण महर्जन, महासमिति सदस्य ऋषिराम घिमिरे, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन लगाएतले सहयोग गरेका छन् ।
कारोना भाइरसको महामारीका कारण झण्डै दुई हप्तादेखि भएको निषेधाज्ञाका कारण न्युन आयस्तर भएका र दैनिक ज्याला गरि खाने मदजुर, अपांग, असहायहरु भोकै बस्न नपोरोस भनेर यो कार्यक्रम गरेको संयोजक अनिल श्रेष्ठ बताए । तर सत्तारुढ दलका नेताहरुले प्रहरी लगाएर मानविय कार्यमा पनि हस्तक्षेप गरेकोमा श्रेष्ठले बताए ।