पूर्व कम्युनिस्ट लडाकु बाटिस्टीद्वारा इटालीको जेलमा भोक हडताल शुरु
प्रकाशित २०७७ भदौ २३ मंगलबार
770
Shares
रोम । पूर्व कम्युनिष्ट लडाकू सिसेरे बाटिस्टीले इटालीको एक जेलमा मङ्गलबार भोक हडताल सुरू गरेका छन् । उनलाई एकान्त कारावासमा राखिएको स्थानमा नै भोक हडताल सुरु गरेको इटालियाली समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।
बाटिस्टी ६५ लाई सन् १९७० मा बामपन्थी आन्दोलन (क्रान्ति) को नेतृत्व गरिरहेका समय मारिएका चार व्यक्तिको हत्यामा दोषी ठहर गर्दै थुनामा राखिएको हो ।
इटालियाली सञ्चारमाध्यमले प्रकाशित गरेको बाटिस्टीले आफ्ना वकीललाई लेखेको पत्रमा भनिएको छ, “मेरा अधिकारहरूका लागि अन्य सबै उपायबाट थकित भएपछि सम्पूर्ण स्वास्थ्य सेवा अस्वीकार गर्न बाध्य छु र भोक हडताल सुरू गरेको छु ।”
इटालीको समाचार संस्था (आन्सा) ले बाटिस्टीका वकीललाई उद्धृत गरी लेखेको छ, “आफ्ना सेवाग्राही बाटिस्टालाई सार्डिनियाको भूमध्यसागरीय टापूमा कडा सुरक्षासहित ओरिस्टानो जेलमा ‘सबै सम्पर्क र गतिविधि’ बाट अलग गरी छ महिना राखिएको र यसबाट उनको मानव अधिकार हनन भएको छ । सबै कानुनी विकल्पहरू प्रयोग गरी अधिकारका लागि गरेका प्रयासप्रति प्रशासनले वेवास्था गरेपछि बाटिस्टाले यो अन्तिम विकल्प प्रयोग गर्नुभएको हो ।”
सन् १९७९ मा इटालीमा गैरकानुनी रूपमा सशस्त्र क्रान्तिकारी समूहमा लागेको आभियोगमा जेल परेका बाटिस्टी दुई वर्ष पछि जेलबाट भागेका थिए र लगभग चार दशक उनले विभिन्न मुलुकमा भूमिगत जीवन विताएका थिए ।
अन्तराष्ट्रिय प्रहरी सञ्जालले उनलाई गत वर्ष जनवरीमा बोलिभियाबाट पक्राउ गरेको थियो भने पछि इटालीलाई सुपुर्दगी गरिएको थियो ।