सिन्जियाङमा स्वतन्त्र अनुसन्धानकर्तालाई प्रवेश दिन चीनलाई युरोपियन युनियनको आग्रह
एजेन्सी,
प्रकाशित २०७७ असोज १६ शुक्रबार
847
Shares
काठमाडौं। सिन्जियाङमा अल्पसंख्यक मुस्लिम उइगरहरुलाई वर्षौदेखि यातना दिएर हिरासतमा राखेर चीनले मानवअधिकारको चरम उल्लंघन गरेको भन्दै चर्को आलोचना भइरहेको छ ।
सिन्जियाङमा लाखौं उइगरहरुलाई चीनले श्रम शोषण गरिरहेको कारण संयुक्त राज्य अमेरिकाले सिन्जियाङका कम्पनीमा उत्पादित वस्तुहरुमा प्रतिबन्ध लगाएको छ ।
बेलायतले पनि सिन्जियाङमा मानवअधिकारको चरम उल्लंघन भएको भन्दै निष्पक्ष अनुसन्धानका लागि आग्रह गरेको छ । पछिल्लो समय बेलायत र अमेरिकासँगको सम्बन्धमा समस्या आएपछि युरोप केन्द्रीत भएको चीनलाई युरोपले पनि सिन्जियाङमा स्वतन्त्र अनुसन्धानका लागि प्रवेश दिन आग्रह गरेको हो ।
युरोपियन युनियनका प्रमुख चार्ल्स माइकलले चीनको उइगर स्वायत्त क्षेत्र सिन्जियाङमा उइगरहरुमाथि भइरहेको व्यवहारको अनुसन्धानका लागि स्वतन्त्र अध्ययन समिति बनाउने र उक्त समितिलाई प्रवेश दिनका लागि चीनलाई आग्रह गरेका हुन् ।
सिन्जियाङमा करिब १८ लाखभन्दा बढी उइगरहरुलाई सिन्जियाङका सिकाई केन्द्र भनिने हिरासतहरुमा थुनेर राखिएका छन् ।
त्यसैगरी ईयूका प्रमुख माइकलले तिब्बत र भर्खरै जारी गरेको नयाँ सुरक्षा कानुनबारे हङकङमा पनि अध्ययन आवश्यक भएको बताएका छन् ।
माइकलले भने, "चीनको सिन्जियाङमा अल्पसंख्यक उइगरमाथि भइरहेको चरम निकृष्ट व्यवहार, तिब्बतको मानवअधिकार उल्लंघन र हङकङको स्वतन्त्रता र स्वायत्तामाथि उत्पन्न गरिएको खतराको विषयमा युरोपियन युनियनको ध्यानाकर्षण भएको छ । यसका लागि स्वतन्त्र अध्ययन टोलीका लागि प्रवेश दिन र सहजीकरण चीनले गर्न आवश्यक छ ।"