arrow

हिमपात अघी नै खाद्यान्नको जोहो गर्दै लिमिबासी

नपुगे पनि पुगेझैँ गर्नुपर्ने लिमिबासीको बाध्यता

logo
जनकबहादुर शाही,
प्रकाशित २०७७ कार्तिक १८ मंगलबार
chamal-rice-humla.jpg

हुम्ला। सधै चीनको ताक्लाकोटबाट खाद्य सहित लत्ताकपडा र सम्पुर्ण उपभोग्य सामान ल्याउने लिमिका बासिन्दालाई कोभिड १९ का कारण नाकाबन्दीको अवस्था भोग्नुपरेको छ भने सरकारी ढुवानी अनुदानको चामल पनि पुगेको छैन। यहि अवस्थाकै बीचमा हिमाल पारिको गाउँ भनेर चिनिने लिमी गाउँका बासिन्दा हिमपात अघि नै खाद्यान्नको जोहो गर्न जुटेका छन । आफ्नो उत्पादनले मुस्किलले ३ महिना पनि नपुग्ने लिमिमा अहिले सबैभन्दा बढी खाद्यान्न अभाव देखिने भएको छ ।

कोरोना महामारीका कारण चिनियाँ नाका बन्द भएपछि गाउँमा खाद्यान्न समस्या चुलिएको स्थानीय कोलाप्साङ्ग तामाङले बताए । गाउँको उत्पादनले ३ महिना पनि पुग्दैन, सरकारी अनुदानको चामल गाउँमा नपुग्दा चिनियाँ खाद्यान्नको भर पर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘यो वर्ष हिल्सा नाका नखुलेपछि चामल ल्याउन सदरमुकाम आएका हौं । उनका अनुसार लिमीमा कात्तिक अन्तिम साताबाट हिउँ पर्न सुरु हुन्छ । हिमपात भएपछि घरबाहीर निस्किन पनि मुस्किल हुन्छ ।'

पर्याप्त भौतिक पूर्वाधारदेखि अन्य सामग्री पाउन फलामको चिउरा चपाएझैँ हुन्छ तर बाध्यता र विवशताको बीचमा सबै कुरा नपुगे पनि पुगे झैं गरी काम गर्नुपर्ने बाध्यता छ, नाम्खा गाउँपालिका–६ लिमिका बासिन्दालाई । अहिले कोभिड १९ का कारण चीनबाट ल्याईने नुनदेखि सुनसम्मका सम्पुर्ण सामग्री आयातमा रोक लगाए पछि झनै समस्या भएको वडा अध्यक्ष पाल्जोर तामाङ्गले बताए । चीनको ताक्लाकोटबाट आयात गरिने आवश्यक सामग्री कोबिड १९ ले भएको नाकाबन्दीले अहिले ट्याक्टरमा ४ दिन लगाएर सदरमुकाम सिमकोटबाट ल्याउनु परेको छ । केही हुने खानेहरु चिसो छल्न शहरतिर झरेपनि गरिब परिवारलाई आवश्यक सामग्री जुटाएर लिमिमै बस्न बाध्य छ ।

सरकारले उपलब्ध गराउँदै आएको खोपदेखि अन्य सुविधाबाट लिमिका स्थानियबासि र बालबालिका हिमपातको समयमा सेवाबिहीन भएर बस्नु बाहेक अरु बिकल्प नभएको वडा अध्यक्ष तामाङ्गले बताए । हिमपात भएपछि मंसिरदेखि बैशाखसम्म ६ महिना प्राकृतिक नाकाबन्दी हुने भएकाले चाहेको काम समेत गर्न नसकिने अवस्था रहेको लिमिको पीडा छ । हिमपातले ६ महिना गाउँबाट बाहिर आवतजावत गर्न नसकिने अबस्था भएकाले लिमीका जाङ्ग, हल्जि र तील ३ गाउँका अगुवा गाउँबासिका लागि खाद्यान्न र सम्पुर्ण दैनिक उपभोग्य समान जोहो गर्न सदरमुकाम सिमकोट पुगेका हुन् । तत्कालको लागि लिमीको खाद्य समस्या टार्न खाद्य ब्यबस्था तथा ब्यापार कम्पनीको हुम्ला शाखाले ३ सय क्विन्टल चामल उपलब्ध गराएको छ । भने लिमिका लागि २ हजार क्विन्टल खाद्यान्न स्वीकृत भए पनि ठेकेदारको बेवास्ताले अझै चामल ढुवानी हुन सकेको छैन । तत्कालको खाद्यान्नको समस्या नहोस भनेर लिमीबासीलाई ३ सय क्विन्टल चामल वितरण गरिएको कम्पनीका शाखा प्रमुख रामबहादुर विष्टले बताए। 

कर्णालीमा सबैभन्दा न्यून खाद्यान्न उत्पादन हुने हुम्लामा माग अनुसार चामल नआउँदा बर्षेनी खाद्यान्न अभाव हुने गरेको छ । यदि जिल्लाले माग गरे अनुसारको खाद्यान्न आउने हो भने जिल्लामा खाद्यान्न संकट नहुने जिल्ला खाद्य ब्यबस्थापन समितिले जनाएको छ । यस आर्थिक बर्षमा जिल्ला खाद्य व्यवस्था समितिले हुम्लाको लागि ७३ हजार क्विन्टल खाद्यान्न माग गरेको भएपनि २५ हजार ८ सय क्विन्टल मात्र खाद्यान्न स्वीकृत भएको खाद्य ब्यबस्था तथा ब्यापार कम्पनीका शाखा प्रमुख रामबहादुर विष्टले बताए । अहिले कम्पनीको सिमकोट शाखामा ३ हजार १ सय क्विन्टल, श्रीनगर डिपोमा १ सय ५० र सर्केगाडमा १ सय क्विन्टल मात्र चामल मौज्दात भएको उनले बताए । हुम्लामा नेपालगन्जबाट जहाज मार्फत खाद्यान्न ढुवानी गर्न प्रतिकिलो १ सय १३ र सुर्खेतबाट १ सय ८ रुपैयाँ भाडा तिर्नुपर्ने बाध्यता छ । लकडाउनयता चामल खरिद गर्नेको संख्या बढेको छ । उनले भने, हुम्लाका लागि आउने खाद्यान्नको ढुवानी नरोकिए तत्काल हुम्लामा खाद्यान्न अभाव हुने अवस्था छैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ