arrow

माधव नेपाललाई अध्यक्ष र वामदेवलाई उपप्रधानमन्त्री बनाउने ओलीको प्रस्ताव, दुबैले पत्याएनन्

सहकार्य भत्काउन खोजेको बुझाइपछि ओलीलाई उल्टै दिए सुझावः कार्यशैली सुधार्नुस

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक ३० आइतबार
madhav-bamdev-kp.jpg

काठमाडौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली संकटमा परेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष ओलीलाई व्यक्तिगत आक्षेप लगाउदै सचिवलाय बैठकमा छुट्टै दस्तावेज प्रस्तुत गरेपछि उनको संकट चुलिएको हो । आफू संकटमा परेपछि ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र वामदेव गौतमसँग भेट गरेका छन् । ओलीले नेता नेपालसँग मात्रै करिब ४ घण्टा लामो छलफल गरेर संकट निवारण गर्ने प्रयास गरेका छन् । त्यसअघि वामदेव गौतमसँग पनि उनले छुट्टै भेटघाट गरेका थिए । 

पार्टीभित्र चुलिएको विवादमा सचिवालयका नेताहरूलाई आफ्नो पक्षमा उभ्याउने कोशिश गर्न प्रधानमन्त्री ओलीले शुक्रबार राष्ट्रपतिसँग भेट गरेका थिए भने आइतबार बिहान पार्टी उपाध्यक्ष वामदेव गौतमसँग भेट गरेका थिए । पार्टीका प्रचण्डले एकल दस्तावेज ल्याएको भन्दै ओलीले फिर्ता गराउन पूर्वएमालेका नेताहरूलाई फकाउने कोसिस गर्दै उनले सबैसँग छलफल र भेटघाट बढाएका हुन् । 

स्रोतका अनुसार ओलीले नेता नेपालसँग आजको भेटमा दाहालले पेस गरेको राजनीतिक दस्तावेज फिर्ता लगाइदिन आग्रह गरेका थिए । साथै ओलीले नेपालसँग आफूले सहकार्य गर्न के के गर्नुपर्ने हो तयार रहेको बताएका थिए । तर नेता नेपालले भने उक्त प्रस्ताव दाहाल एक्लैको वा आफ्नो र दाहालको मात्रै नभएर सचिवालयका पाँचै जनाको भएकाले फिर्ता गर्न नसकिने जवाफ दिएका स्रोतको दावी छ ।

बिहानै प्रधानमन्त्रीसँग बालुवाटारमा भएको भेटमा उपाध्यक्ष गौतमले पनि प्रधानमन्त्रीले आफ्नो कार्यशैली सुधार्नुपर्ने समेत सुझाव दिएका थिए । भेटमा प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालका तर्फबाट आएको प्रस्ताव फिर्ता लिने वातावरण बनाउन र आफूलाई सहयोग गर्न गौतमलाई आग्रह गरेका थिए । जवाफमा गौतमले कुनै नेतालाई गाली गरेर समस्याको समाधान नहुने भन्दै पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्नका लागि आएको प्रस्ताव फिर्ता नहुने बताएका थिए । ‘यो कमरेड प्रचण्डको मात्र प्रस्ताव होइन हामी पाँचै जना (अध्यक्ष दाहाल, उपाध्यक्ष गौतम, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ) को प्रस्ताव हो । सबैको सहमतिमा आएको प्रस्ताव हो’, नेता गौतमले प्रधानमन्त्रीसँगको भेटमा भनेका थिए ।

नेकपाका कार्यकारी प्रचण्डले सचिवालय बैठकमा राजनीतिक दस्तावेज नै पेश गरेपछि पार्टीका महासचिव विष्णु पौडेलको मध्यस्थतामा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले पूर्वएमालेका नेताहरु नेपाल र गौतमसँग परामर्श बढाएका हुन् । पार्टी सचिवालयका बहुमत सदस्यको समर्थनमा प्रचण्डले ओलीप्रति आक्रामक प्रस्ताव पेस गरेलगत्तै उनले पार्टीका अन्य प्रमुख नेताहरुसँग आफूलाई सहयोग गर्न आग्रह गर्दै परामर्श बढाएका हुन् ।

आइतबार बिहान पार्टी महासचिव विष्णु पौडेलको उपस्थितिमा उपाध्यक्ष गौतमलाई भेटेर आफूलाई साथ दिन आग्रह गरेका प्रधानमन्त्री ओलीले अपरान्ह वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर सहमति जुटाउने प्रयास गरेका थिए । पार्टी अध्यक्ष ओलीले नेपाललाई भावी अध्यक्ष र गौतमलाई सरकारमा उपप्रधानमन्त्रीको प्रस्ताव गरेको स्रोतको दावी छ । दुवै नेताहरुले ओलीले अल्मल्याउने प्रयास गरेको बताएका छन् । गौतम र नेपाल दुवैसँग बालुवाटारमा भएको छुट्टाछुट्टै भेटमा महासचिव पौडेल साथमै थिए ।

‘अहिलेको संकट समाधान गर्न सहमति जुटाउने प्रयासस्वरुप प्रधानमन्त्री ओलीले नेता नेपाल र गौतम दुवैसँग भेट गर्नुभएको हो,’ दुबै भेटबारे जानकार एक नेताले बताए । प्रचण्डबाट ‘अत्यन्त आक्रामक र गालिगलौजपूर्ण प्रस्ताव’ आएपछि उनीसँग तत्काल सहमति हुने संभावना नदेखेर ओलीले अन्य नेताहरुसँग कुराकानी बढाएको ती नेताको भनाइ छ । स्रोतका अनुसार प्रधानमन्त्रीले वामदेव गौतमलाई सरकारमै सहभागी बनाउने गरी समर्थन प्राप्त गर्ने प्रयास गरेका छन् । त्यसैगरी ओलीले नेपाल र गौतम दुवैको सहयोग प्राप्त गर्नका लागि आउने महाधिवेशनमा नेतृत्वबारे समझदारी गर्ने प्रस्तावका साथ कुराकानी अघि बढाएका छन् । स्रोतका अनुसार महासचिव पौडेल कार्यकारी अध्यक्ष प्रचण्डसँग पनि सम्पर्क र संवादमा छन् ।

प्रधानमन्त्री ओलीले संकट निवारणका लागि सचिवालयका पाँच सदस्यहरुसँग अलग्गै अनौपचारिक छलफल गरिरहेका छन । शुक्रबार पार्टीको सचिवालय बैठक सकिएपछि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेलसँग अलग्गै छलफल गरेका हुन् । यसअघिको सचिवालय बैठक सकिए लगत्तै कार्यकारी अध्यक्ष प्रचण्ड, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ बाहिरिएपछि प्रधानमन्त्री ओलीले पाँच जना नेताहरुलाई एकैछिन काम छ भनेर बालुवाटारमा अलग्गै छलफल गरेका थिए ।

सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित ५ नेताले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको पत्र र त्यसबारे ओलीले दिएको जवाफ अध्ययनका लागि नेताहरुलाई दिइएको छ । अध्यक्षद्वयका पत्र अध्ययनपछि बैठक मंसिर ३ गते बस्ने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ