arrow

प्रदिप गिरीलाई खुलापत्र

logo
लोकराज भट्ट,
प्रकाशित २०७७ मंसिर ६ शनिबार
lokraj-bhatta.jpg

प्रदीप दाई नमस्कार, 
म आराम छु हजुरलाई पनि आरामै होला कामना गर्दछु । तपाईलाई तपशिलका बिषयमा पत्र लेख्ने यो उपयुक्त समय हो की होइन थाहा छैन । तर राजनीति खासै नबुझेपनि चासो राख्ने भएकै कारण यो धृष्टता गरेको छु । दशै र तिहारको बिदामा तपाईले डिजिटल संवादहरुमा बीपी, नेपालको प्रजातान्त्रिक आन्दोलन, बीपीको समाजबादबारे दिनुभएका विभिन्न मन्तव्य सुनेर यो खुलापत्र नलेखि बस्न सकिन । त्यो मात्रै होइन अन्य यूट्युवबाट सम्प्रेषण गरेका बीपी र प्रजातन्त्रबारेका तपाईंका अन्य थुप्रै विचारहरु पनि सुने । विचार दर्शनको हिसाबले तपाईको अगाडी मैले लेख्नु इन्द्रको अगाडी स्वर्गको बयानजस्तै हुन्छ, तथापी केहि लेख्ने शाहस गरेको छु ।  

नेपाली राजनीतिमा सबैभन्दा बढी अध्ययनशील, बौद्धिक, दार्शनिक नेताको रुपमा चिनिने तपाईंलाई प्रजातन्त्रवादीहरुले मात्रै होइन मार्क्सवादीहरुले पनि उत्तिकै सम्मान गरेको देखिरहन्छु । संसदमा तपाईंले केहि शब्दहरु बोलिरहदा सबै माननीयहरुले ज्यादै महत्वका साथ सुनिरहन्छन । मिडियामा पनि तपाईंका आलेख एवं अन्तर्वार्ताहरुले राम्रै स्थान पाइरहेका हुन्छन् । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सिराहा जिल्लाबाट तपाईं विजयी हुनु भयो तर तपाईं केन्द्रीय सदस्य रहेको पार्टी नेपाली कांग्रेसले लज्जास्पद पराजय व्यहोरिरहँदा तपाईंले "कांग्रेसले ऋतु परिवर्तन गर्ने समय भएकोले पुरानो पात झरेर गएको र अब नयाँ पालुवा पलाउने छ" भन्ने आशयको अभिव्यक्ति दिदा कांग्रेस बृतमा निराशाको घाउमा आशाको मलम लगाएको अनुभुत भएको थियो । त्यो सन्देशले केहि दिन सामाजिक सञ्जालमा धेरै नै चर्चा पायो । नेपाली कांग्रेसका संस्थापकहरु बीपी, किसुनजी, गणेशमान, महेन्द्र नारायणनिधिसंग लामो संगत गर्नुभएका व्यक्तिहरु मध्ये एक तपाईं पनि हो । बीपीसँग उति बेलापनि वैचारिक बहस गर्ने, आजभोलि कांग्रेस र बीपीबारे केहि बहस, छलफल गोष्ठी सेमिनार भयो भने प्रदीप गिरी नछुट्ने नाम हो । विचार र दर्शनमा त्यति क्षमता भएको व्यक्ति अहिले कांग्रेस पार्टीको केन्द्रीय सदस्य हुँदा किन यो पार्टी यति विचारबिहिन अवस्थामा पुग्न गयो ? तपाईंका विचार तथा दर्शन सुनेर मलाईंसमेत सोच्न बाध्य बनाएको छ । बीपीले नेपाली जनता र नेपाली राजनीतिबारे देखाएको सपनाबारे जब तपाईंले भाषण गर्नु हुन्छ सबैले ज्यादै महत्वका साथ सुन्छन र प्रदीप गिरीले क्या गजब भाषण गर्नुभयो भनेर प्रतिक्रिया आउछ । सुन्ने बेला आहा क्या गजब लागेपनि त्यो भाषणले दीर्घकालिनरुपमा जनतामा त केहि आशा देखाउदैन । किनकि तपाईंका अधिकांश विचार भाषणमा मात्रै सिमित भए तपाईंको पार्टी सरकारमा हुँदा समेत तपाईंले अभिव्यक्त गर्ने विचार कार्यान्वयनमा आएको देखिदैन । 

केहि दिन पहिला नेपाली कांग्रेसका नेता लोकेश ढकालले तपाई लक्षित ट्वीट गर्दै भनेका थिए, “प्रदीप गिरीको विमर्श र चिन्तन सुन्दा सुन्दै हाम्रो पुस्ता पनि बुढो हुन लागि सक्यो, प्राय निरन्तर संसद र केन्द्रीय समितिमा छन् । न आफै नेता हुन सके न पार्टीलाई समाजवादी वाटोमा हिडाउन सके ? चिन्तन र विमर्श गर्न त विश्वविद्यालयका प्रोफेसर छँदै थिए नि, पार्टी भित्र दवाव दिनुपर्‍यो नि” यिनको भनाईलाई मन्थन गर्ने हो भने साच्चिकै यथार्थ हो जस्तो लाग्छ । बीपी र किशुनजी लगायतका संस्थापक नेताहरुको जन्मोत्सव एवं स्मृति दिवसमा उहाँहरुको सिद्धान्त, दर्शन, निष्ठा बारेका गहकिला भाषण लोकेश ढकालको पुस्ताले मात्रै होइन हाम्रो पुस्ताले पनि तपाईंको मुखारबिन्दुबाट सुन्दै युवा अवस्था पार गर्दैछौ । हाम्रो पुस्ताले पनि तपाईंको चिन्तन सुन्ने मात्रै हो कि देश र नेपाली कांग्रेस समाजवादी बाटोमा हिडेको हेर्ने हो ? तपाईं जस्तो दार्शनिक, चिन्तक केन्द्रीय समिति र संसदमा भएकै अवस्थामा अहिलेको वर्तमान नेपाली कांग्रेसको वैचारिक, सांगठनिक, समाजवादी दृष्टिकोण मर्माहत छ । प्रदीप गिरी जस्तो वैचारिक व्यक्ति कांग्रेसमा छन् भनेर आम कांग्रेसीहरुले कसरी गर्व गर्ने ? तपाईंको दर्शन भाषणमा गहकिलो तर पार्टीको कार्यान्वयन तहमा शुन्यप्राय छ ।

बीपीले यसो भनेका थिए उसो भनेका थिए भनेर भन्नु हुन्छ तर तपाईंको पार्टीका नेताहरुलाई यो बीपीको विचार सम्मत छैन यसो नगरौ भनेर किन भन्नु हुन्न ? यदि भन्दाभन्दै पनि तपाईंको आग्रहलाई कार्यान्वयन गर्दैनन् भने हस्तक्षेप किन गर्नु हुन्न ? यदि बीपीको सच्चा उत्तराधिकारी हुने हो भने त उहाँको विचार आदर्शलाई हस्तक्षेप गरेर भएपनि कार्यान्वयनमा लानु पर्ने होइन र ? पार्टीको महाधिवेशन आउदा वैचारिक वहस पनि चलाउनु हुन्न ? प्राय नेपाली कांग्रेसको महाधिवेशन वैचारिक बहस भन्दापनि पद प्राप्ति कसरी गर्ने, नेतृत्वमा कसरी विजयी हुने भन्नेमा नै केन्द्रीत भएको देखिन्छ । यस्तो अवस्थामा वैचारिक आन्दोलन किन गर्नु हुन्न वा आफै नेतृत्वमा किन आउनु हुन्न ? एउटा विचारकले यो भएन त्यो भएन, पार्टी बीपीको सिद्धान्त अनुरुप चलेन भनेर गुनासो मात्रै गर्ने कि आफै नेतृत्व लिएर सो पार्टीलाई दिशानिर्देश गर्ने हो ? तपाईं जस्तो विचारक कांग्रेसमा हुनुमा कांग्रेसीहरुले गर्व त गर्लान नै तर तपाईंकै जीवनकालमा पार्टीको यो हालत हुँदा पार्टीलाई सहि दिशानिर्देश गर्न नसक्नुमा दुर्भाग्य पनि सम्झिएलान । अहिलेको कांग्रेस पार्टीको यो हविगत हेर्दा लाग्छ प्रदीप गिरी यो पार्टीमा हुनुमा र नहुनुमा कुनै अर्थ राख्दैन, तपाईं जस्तो विचारकले त पार्टीका कार्यकर्तालाई मात्रै होइनकी आमजनतालाई राजनीति र समाजवादबारे जागरुक बनाउनु पर्ने होइन र ? पार्टीका कार्यकर्तामा अहिले जुनखाले बितृष्णा छ त्यसमा आशाको सञ्चार गराउनु पर्ने होइन र ? संसदमा थोरै उपस्थित हुने माननीयहरुमा तपाई पनि पर्नु हुन्छ, हुन त थोरै उपस्थिति भएपनि जुनदिन तपाईको उपस्थिति हुन्छ त्यो दिन दमदार भाषण दिएर नै आउनु हुन्छ ।

हुन त कैयौ कुरा कार्यान्वयनमा ल्याउनको लागि नीति निर्माणको नेतृत्व तहमा हुनै पर्छ । तपाई आजसम्म पार्टीमा केन्द्रीय सदस्य मात्रै, पदाधिकारी पनि हुनु भएको छैन । उस्तै गरी संसद मात्रै हुनुभएको छ कार्यकारी मन्त्री पदमा आसिन हुनु भएको छैन । यदि आफनो विचार सिद्धान्त बोल्दै गर्दा कार्यान्वयनमा आएन भने नेतृत्वमा आफै जानुपर्ने हुन्छ कि त नेतृत्वलाई हस्तक्षेप गर्नुपर्छ । महाधिवेशनको समयमा अरुलाई जिताउन आलेख एवं अन्तर्वार्ता मार्फत गेम चेन्जरको भूमिका त खेल्नु हुन्छ आफै चाहि किन आउनु हुन्न ? यदि पार्टीलाई परिवर्तन गराउने हो भने समाजवादी बाटोमा डोर्‍याउने हो भने उमेरको हिसाबले पनि अन्तिम अवसर अनि महाधिवेशन पनि निकट समयमा आईरहेको यस पछि नयाँ पुस्ता पनि पार्टी हाक्न योग्य रहेको यस उपयुक्त समयमा तपाई किन तातेको फलामलाई पिटेर आफु अनुकूलको साइजमा ल्याउनु हुन्न ? आफै नेतृत्व गरेर पार्टीलाई सत्मार्गमा किन हिडाउनु हुन्न ? एक वर्ष पहिला नयाँपत्रिकामार्फत जुगल भुर्तेलले तपाइलाई पत्र लेख्दै भनेका थिए "दायित्वमुक्त भइरहने तपाईंको नितान्त नीजि रुचिको सम्मान गर्दागर्दै इतिहासमै सायद सबैभन्दा संकटग्रस्त अवस्थामा रहेको पार्टीको वैचारिक पुनर्जागरण र पुनरोत्थानको गहन जिम्मेवारी अब तपाईंले कर्तव्यबोधका साथ स्विकार्नैपर्छ ।" भुर्तेल दाइ जस्तै धेरै अग्रज विद्वानहरुको तपाईप्रति आशा र भरोसा छ त्यसलाई सम्बोधन गर्न जरुरि देखेको छु । महाभारतको युद्धमा भगवान कृष्णले हतियार प्रयोग नगर्ने वांचा गरे पनि सत्य र धर्मको जित गराउन भगवान कृष्णले पनि भिष्मपिता बिरुद्ध सुदर्शन चक्र धारण गरेकै हुन  । अब तपाइले पनि नेपाली कांग्रेसलाई जित गराउन नेतृत्व लिएर अगाडी बढ्नै पर्छ । हुन त तपाईंलाई पद, प्रतिष्ठा चाहिदैन । तपाई पद र प्रतिष्ठाको भोगी पनि होइन । तर साच्चिकै बीपीको उत्तराधिकारी भएर पार्टी चलाउने हो भने तपाई जस्ता विचारकको नेतृत्व आवश्यक छ । बीपी र किसुनजीले पनि बिषम परिस्थितिमा पार्टीलाई नेतृत्व दिएर पार्टीलाई जीवन्त बनाएका थिए । कांग्रेस पार्टी भित्र पद र प्रतिष्ठाको लागि बीपीको वंशको आधारमा नेतृत्व गर्ने भए तर बीपीको विचारको असल अनुयायी भएर नेतृत्व गर्ने कोही भई दिएनन् । किसुनजीको अनुयायी हौ भनेर राजनीति गर्ने भए तर व्यवहारमा किसुनजीको निष्ठा, आदर्श, त्याग र नैतिकताको अनुयायी कोही भई दिएनन् । यो नै कांग्रेसको बिड्म्बना रह्यो । कांग्रेसको यो हालत देखेर स्वर्गबाट बीपीले भन्दै होलान कांग्रेसभित्र विचारक भए तर असल विचारक भइदिएनन्,  नेता भए असल नेता भइदिएनन् ।

उहि तपाईंको शुभेच्छुक

लोकराज भट्ट, दशरथचन्द नगरपालिका १, बैतडी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ