arrow

महासंघको बस्तुगततर्फ दुई श्रेष्ठको श्रेष्ठ बन्ने होड 

श्रेष्ठ बन्ने होडमा रहेका अन्जन र उमेशलालको यस्तो छ कमजोर सबल पक्ष

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर ७ आइतबार
anjan-umeshlal-fncci-vp-can.jpg

काठमाडौं। नेपाल उद्योग वाणिज्य महांघको चुनाव नजिकिदै गर्दा यसको भावी नेतृत्व तहको बारेमा पनि अनेक आँकलन शुरु भएको छ । बरिष्ठ उपाध्यक्ष सहित उपाध्यक्षहरु र केन्द्रीय सदस्यहरुका लागि भइरहेको चुनावमा आकांक्षीहरु मैदानमा खडा भएका छन् । मैदानमा खडा भएका उमेद्वारहरुका बारेमा यतिखेर विभिन्न कोणबाट विश्लेषण समेत शुरु भएको छ। गुट गुटमा बाँडिएको महासंघको राजनीतिमा आफ्नो पक्षमा रहेकाहरुको पक्षपोषण गर्ने अर्को गुटमा रहेकाहरुको कमजोरी औंल्याउने काम पनि यस बीचमा भइरहेको छ । स्वयं निर्वाचन समिति पनि विवादमा तानिएको छ। यस अवस्थामा सबैकुरा गुटसापेक्ष हुने देखिएको छ। 

कतिपय मतदाताहरु भने अझै पनि हाम्रो मान्छे भन्दा पनि महासंघमा राम्रो मान्छे आउनुपर्ने वकालत गर्दै आइरहेका छन्। संख्यामा धेरै नभएपनि प्रभावका हिसावले उनीहरुको आवाज पनि अर्थपूर्ण मानिएको छ। महासंघमा व्यवसाय र उद्योगीहरुको सहि प्रतिनिधित्व हुनुपर्ने, महासंघलाई राजनीतिको दलदलबाट निकाल्नु पर्ने, दोहोरिएर एउटै पदमा बस्न नहुने, नेतृत्वको स्वभाविक विकासलाई अवरुद्ध हुन दिन नहुने पक्षधरहरु महासंघमा एउटै गुटको व्यवसायीहरु भन्दा पनि महासंघलाई नेतृत्व गर्न सक्ने तथा महासंघको आवश्यकतामा खडा हुन सक्नेहरुलाई ल्याउनुपर्ने तर्क गर्छन । यहि कसीमा महासंघको बस्तुगत संघबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षका उमेद्वारहरुका बारेमा मतदाताहरुले गरेका टिप्पणीका आधारमा यहाँ संक्षिप्त विवेचना गर्ने प्रयास गरिएको छ।   

बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठले उमेद्वारी दिएका छन्। दुबैले आफ्नो जीत पक्का भएको दावी पनि गरेका छन्। तर यसका लागि भने अझै हप्ता दिन कुर्नु नै आवश्यक होला । तर दुबैको पृष्ठभूमी र व्यवसायीक करियरको यहाँ सामान्य चर्चा गर्ने प्रयास गुटभन्दा पनि व्यवसायिकता हेर्ने मतदाताको लागि उपयुक्त हुने ठानी हामीले यो सामग्री तयार गरेका छौ। 

एमआरदेखि ओलम्पिक कमिटीसम्म पुगेका उमेश
पुर्ख्यौली रामेछाप भएका उमेशलाल श्रेष्ठको पृष्ठभूमी राजनीतिक नै हो। कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठका छोरा उमेशलाल एमआरको जागिरे भएपनि प्रजातन्त्र पुनर्स्थापना पछि आमा साहना प्रधान उद्योग मन्त्री भएपछि चौधरी ग्रुपको कर्मचारी भएका थिए। त्यहाँ केहि समय काम गरेपछि उनले केहि साझेदारहरुसँगमिलेर क्वेष्ट फर्मास्यूटीकल शुरु गरेका थिए। अहिले क्वेष्ट कम्पनी नेपालकै राम्रो औषधी उत्पादक कम्पनीका रुपमा चिनिन्छ । तर उनको सक्रियता औषधी उत्पादक संघमा मात्र समिति रहेन। उनले खेलकुद क्षेत्रमा पनि हात हाले । तर खेलकुदमा भने उनको यात्रा पूर्णतया असफल सावित भयो । 

२५ बर्षदेखि हक्की संघमा अध्यक्ष रहेका उनले त्यहाँ भने नेतृत्व हस्तान्तरण गर्न सधै अनिच्छुक देखिए । एक पटक मात्र साधारण सभा गरि आजिवन अध्यक्ष बन्ने लालसामा रहेको उनीमाथि आरोप लाग्दै आएको छ। पार्टीलाई भर्‍याङ बनाएर पदमा टिकीरहेपनि संघलाई भने कहाँ छ भन्ने अवस्थामा पुर्‍याएको हक्कीका खेलाडीहरु बताउँछन् । ओलम्पिक कमिटीमा एकपटक भएपनि नेतृत्व गर्छु भन्ने लालसाका कारण हक्की संघमा टासिरहेपनि उनको दुई पटक ओलम्पिक कमिटीमा जाने चाहना पुरा हुन सकेन । नेपाल ओलम्पिक कमिटीमा अध्यक्ष बन्ने उनको प्रयास उनकै पार्टीका नेता जीवनराम श्रेष्ठका कारण सफल भएन ।पहिलोपटक एक मत पाएका उनी दोस्रो पटक भने ७ मत पाएपनि जीतको लागि त्यो पर्याप्त थिएन। सांसद समेत रहेका नेकपाका नेता अहिले जीवनराम ओलम्पिक कमिटीका अध्यक्ष छन् ।  

नेपाल औषधी उत्पादक संघमा पनि लोकप्रिय अध्यक्ष नभएको प्रमाण उनको उमेद्वारीमा समेत प्रकट भएर आयो । उमेशलाललाई आधिकारीक मान्न उत्पादक संघमा एकमत नदेखिदा निवर्तमान अध्यक्ष दिपक दाहालले अन्जन श्रेष्ठ प्यानलबाट बस्तुगत संघमा केन्द्रीय सदस्यको उमेद्वारी दिए । यो आधिकारीकताको विवादले महासंघको निर्वाचन समितिमा पनि नोट अफ डिसेन्ट लेख्ने अवस्था बन्यो। एक कार्यकाल उपाध्यक्ष भइ फेरि दोहोरिदै गर्दा त्यसलाई पुष्टी गर्ने आधार पेश गर्न उमेशलालले सकेका छैनन् । गत ३ बर्षमा बस्तुगततर्फको जम्मा तीनवटा बैठक मात्र गरेर उत्साहजनक प्रदर्शन नगरेको उद्यमीहरु नै बताउँछन्। 
दोहोरिने कुराको पुष्टी गर्न नसक्दा कतिपय प्रभावशाली उद्यमीहरुले उनलाई सार्वजनिक कार्यक्रममै मत नदिने घोषणा गरेका छन् । झनक्क रिसाउने र अधिकांशलाई तिमि र त भनेर बोलाउने गर्दा उनीभन्दा जुनियर उद्यमी तथा व्यवसायीहरु उनीसँग तर्केर समेत हिड्ने गरेको स्वयं उमेशलालका समर्थकहरु बताउँछन्। यसलाई सुधार्नेतर्फ उमेशलाले ध्यान नदिएको गुनासो समर्थकहरुकै छ । 

सामाजिक संजालमा उट्पट्याङ कुरा लेख्ने कुरामा चर्चित उनले उमेद्वारी घोषणा सभामा वालुवाटारतिर औंला देखाएर आफू यता नभएको भए त्यता हुने बताएपछि उनको सो अभिव्यक्तिमाथि पनि टिप्पणी हुँदै आएको छ । जीवनराम निकट नेकपाकै एक कार्यकर्ताले हाम्राकुरासँग भने, ‘वालुवाटारमा विराजमान हुन कति गाह्रो छ भन्ने कुरा उनलाई दुईपटक आफ्नै पार्टीका नेताहरुसँग प्रतिष्पर्धा गरेर ओलम्पिक कमिटी जान रोकिएबाट पनि पुष्टी हुन्छ ।‘ 

दर्जनौ ब्राण्डसँग जोडिएका अन्जन
दुई पुस्ता अघी भक्तपुरबाट व्यापारका सिलसिलामा पोखरा पुगेको अन्जनका हजुरबाले त्यहाँ उद्यमशिलता नै रोजे । दुई पुस्ता अघी नाङलोमा पुष्टकारी बेचेर हजुरबाले शुरु गरेको व्यापारलाई बढाइ अन्जनको पिताले चकलेट र डेरी उद्योगमा पाइला बढाएका थिए । त्यहिबाट विस्तार भएको उद्योगलाई अझ फराकिलो र विस्तार गर्दै अन्जन र उनको दाजुभाइ सहितको परिवार लक्ष्मी ग्रुपको नाममा संगठित उद्यम तथा व्यवसायमा होमिएको छ । काठमाडौंको पिपल्स र शंकरदेवमा पढेका थिए। पढाइ पछि पिताले शुरु गरेको व्यवसाय र उद्यमलाई अन्जन र उनका दाजुभाइले अघी बढाएका छन् । आज अन्जन नेपालको चर्चित र लोकप्रिय व्यवसायिक घराना लक्ष्मी ग्रुपका कार्यकारी प्रमुख छन् । चकलेटका ४५ व्राण्ड, सवारी साधनका ३, स्टीलको एक, बैंकिङ, हस्पिटल लगायतका चर्चित ब्राण्डको नेतृत्व गरेको श्रेष्ठको लक्ष्मी ग्रुप पर्यटन र सेवा उद्योगमा समेत प्रवेश गरेको छ ।  

वीएमडब्लू इसुजु र हुण्डाई जस्ता नेपालमा लोकप्रिय ब्राण्डको नेपालको आधिकारीक विक्रेता लक्ष्मी ग्रुपको नेतृत्व गरेका अन्जन नेपाल अटो मोवाइल्स डीलर्स एशोसियन नाडाको अध्यक्ष हुँदै महासंघको राजनीतिको मुलधारमा प्रवेश गरेका थिए । उद्यमी व्यवसायीहरुको छाता संस्था महासंघमा सुहाउने पात्रको रुपमा उनको चर्चा भइरहँदा उनको तुलना वहालवाला उपाध्यक्ष उमेशलालसँग भइरहेको छ। उमेरका हिसावले बाहेक उमेशलाल भन्दा अरु सबै कुरामा अगाडी देखिएका अन्जन महासंघका पछिल्लो पुस्ताका आशलाग्दा अनुहार भएको व्यवसायिक जगतलाई नजिकबाट नियालिरहेकाहरु बताउँछन् । उपाध्यक्षको उमेद्वारको रुपमा नाडाले नै उनलाई सर्वसम्मत प्रस्ताव समेत गरेको छ । अन्जनको जस्तो सर्वसम्मत प्रस्ताव उमेशलाले औषधी उत्पादक संघबाट गराउन सकेनन् । जुन महासंघको विवादको एउटा कारण यो चुनावमा बनेको छ । उद्यमी व्यवसायीहरुको सहि प्रतिनिधित्व हुने भनेर चर्चामा रहेका अन्जन सबैको पहुँचमा नभएको उद्योगीका रुपमा लिइदै आएको थियो। तर केन्द्रीय राजनीतिको भित्री तहमा पुग्दै गर्दा पछिल्ला दिनमा उनले यसलाई सुधारेको बस्तुगत संघका सदस्यहरु बताउँछन् । सबैसँग फोनमा मात्र होइन प्रत्यक्ष समेत भेटेका उनी अहिले सोसल मिडियामा पनि उद्योगी व्यवसायीहरुका मुद्धाहरुमा समेत सक्रिय धारणा राख्दै गरेका भेटिन्छन् । 

जम्मा १०३ जना मतदाता भएको बस्तुगत संघभित्र यसपटक १०१ जनाले मतदानको अधिकार राख्छन् । उपाध्यक्षको जित्ने उमेद्वारले कम्तिमा ५१ मत ल्याउनु पर्ने हुन्छ । दुबै उमेद्वारले आफूले जित्ने दावी समेत गरिरहेका छन् । सामान्यतया विश्लेषण गर्दा कडा प्रतिष्पर्धा देखिएपनि नेतृत्वमा नयाँ अनुहार देख्ने मतदाताको चाहना र संघलाई चलायमान बनाउनुपर्ने आकांक्षाको बीचमा दुई श्रेष्ठ उमेद्वार अन्जन र उमेशलालको चुनावी मैदानमा श्रेष्ठ हुने होड जारी नै छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ