arrow

इजरायल र मोरक्कोबीच पनि अमेरिकाले गरायो शान्ति सम्झौता, अरब विश्वमा तनाब

इजरायलसँग कुटनीतिक सम्बन्ध स्थापना गर्दै आधिकारीक सम्पर्क पुनःसुरु

logo
एजेन्सी,
प्रकाशित २०७७ मंसिर २६ शुक्रबार
israel-morocco-usa.jpg

काठमाडौं। अमेरिकाले अघि सारेको योजना अनुरुप इजरायल र मोरक्को कुटनीतिक सम्बन्ध स्थापनाका लागि सहमत भएका छन्। बिहीबार दुईदेशबीच यो सम्झौता भएसँगै मोरक्को इजरायलसँग शान्ति सम्झौता गर्ने चौंथो अरब मुलुक बनेको छ।

सम्झौता अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पश्चिमी सहाराको सार्वभौमिकता मोरक्कोलाई दिन तयार भएका छन्। यो क्षेत्र मोरक्को र पोल्सारियो फ्रन्ट (अल्जेरियाको समर्थनमा रहेका एक मोर्चा)बीच दशकौंदेखि विवाद रहिआएको थियो। पोल्सारियो फ्रन्टले यो क्षेत्रमा एक स्वतन्त्र राज्य स्थापना गर्न खोजेको छ।

ट्रम्पले बिहीबार मोरक्कोका राजा मोहम्मद छैटौंसँग फोन वार्ता गरि सम्झौतामा हस्ताक्षर गर्न लगाएका हुन्। गत अगस्ट यता इजरायलसँग शान्ति सम्झौता गर्ने चौंथो अरब मुलुक अब, मोरक्को हुन पुगेको छ।

यसअघि युनाइटेड अरब एमिरेट्स (युएई), बहराइन् र सुडानले इजरायलसँग शान्ति सम्झौता गरिसकेका छन्। प्यालेस्टाइनीहरुले यो सम्झौताको आलोचना गर्दै आइरहेका छन्। इजरायलले अरबी भुमी कब्जा गरेको र त्यो भुमी नछोड्दासम्म आफुहरुले शान्ति सम्झौता अर्थात सामान्य सम्बन्ध नबनाउने प्यालेस्टाइनीहरुको भनाई रहिआएको छ।

प्यालेस्टाइन लिब्रेसन अर्गनाइजेसनको कार्यकारी समितिका सदस्य बासम अ साल्हीले यो सम्झौताको निन्दा गरेका छन्। ‘२००२ को ‘अरब शान्ति पहल’ अनुसार, इजरायलले प्यालेस्टाइनी र अरब भुमीमा आफ्नो कब्जा छोडेपछि मात्रै शान्ति सम्झौता हुने जनाउँछ, तर यो प्यालेस्टानी नागरिकको अधिकारको हनन् हो र यसले इजरायलसँगको झगडा बढाउँछ’ साल्हीले भने।

गाजामा, हमासका प्रवक्ता हजेम कासेमले भने, ‘यो पाप हो, इजरायलले प्यालेस्टानी नागरिकविरुद्ध आक्रमकता बढाउन र विस्तारवादका लागि नयाँ सम्झौता गरिरहेको छ।’

मोरक्कोका राजा मोहम्मदले भने, प्यालेस्टाइनका अध्यक्ष मोहमोद अब्बससँग फोनमा कुरा गर्दै ‘प्यालेस्टाइन र इजरायलबीचको विवाद समाधानका लागि यो एक पहल’ हुने बताएका छन्।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो सम्झौताको वकालत गर्दै ‘अर्को ठूलो शान्तिको किरण’ भएको बताएका छन्। उनले अब दुईदेशबीच सीधा हवाई उडान हुने र कुटनीतिक पहल सुरु हुने बताएका छन्।

यसबाहेक ट्रम्प प्रशासनले साउदी अरेबियालाई समेत इजरायलसँग शान्ति सम्झौताका लागि अग्रसर गरेको छ। यद्यपि अहिलेसम्म साउदी तयार भएको छैन्। साउदीले पनि इजरायलसँग शान्ति सम्झौता गर्न तयार भएमा अन्य अरब मुलुकहरु पनि तयार हुने अनुमान छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ