- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । गृह मन्त्रालयले जाडोबाट नागरिकलाई जोगाउन ‘शीतलहर तथा हिमपात विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य मार्ग दर्शन २०७७’ स्वीकृत गरी लागू गरेको छ ।
जाडो मौसम शुरु भएसँगै शीतलहर र हिमपातबाट जनधनको क्षति रोक्न मार्गदर्शन जारी भएसँगै ७७ वटै जिल्लामा चरणबद्ध रुपमा पूर्व तयारीका कार्यक्रम शुरु भएको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले सूचना सङ्कलनदेखि विपद् हुन नदिन र विपद्का घटना भइहालेमा उद्धार, राहत वितरण तथा पुनःस्थापनका कार्यक्रम तय गरी तयारी थालिसकिएको जानकारी दिए ।
स्थानीय र जिल्ला विपद् व्यवस्थापन समितिले तत्कालै अबस्था अध्ययन गरी विवरण सङकलन गर्ने, साधनस्रोतको कमी रहे÷नरहेको पहिचान गरी त्यसको जोहो गर्ने तथा अपुग सामग्री केन्द्रमा माग गर्ने मार्गदर्शनमा उल्लेख छ । तल्लो तहबाट आएको प्रतिवेदनका आधारमा सङ्घीय सरकारबाट आवश्यक सहयोग तथा व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत भएको छ ।
केही अघि बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले सबै जिल्लाका स्थानीय तहलाई आवश्यक तयारीमा लाग्न निर्देशन दिइसकेको छ । त्यसका लागि जिम्मेवार निकायको रुपमा जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यावस्थापन समितिलाई तोकिएको छ । सहयोगीका रुपमा प्रदेश विपद् व्यवस्थापन कार्यकारी समिति रहेको मार्गदर्शनमा उल्लेख छ । यस्तै राहत, आश्रयस्थलको व्यवस्थापकीय कार्यसमेत तत्काल प्रबन्ध गर्ने गरी कार्यक्रम अघि बढेको पोखरेलले बताए । सोही व्यवस्थापन र अवस्था अध्ययनका लागि हालै मात्र शीतलहरबाट बढी प्रभावित हुने तराईका विभिन्न जिल्ला पुगेर प्राधिकरणले छलफल चलाएको उनले जानकारी दिए ।
विगत १० वर्षको तथ्याङ्क हेर्दा मुलुकमा शितलहरका कारण ११६ जनाले ज्यान गुमाएका छन् । विसं २०७१ असोज २८ मा मनाङ, मुस्ताङलगायतको हिमाली क्षेत्रमा आएको हिमआँधी (हुदहुद) का कारण ४३ जनाको ज्यान गएको प्राधिकरणको अभिलेखमा उल्लेख छ । जसमध्ये २१ जना पदयात्री रहेका थिए । त्यहाँ ५० जना हराएका थिए भने ४०० जनाको उद्धार भएको प्राधिकरणले जनाएको छ ।
शीतलहर र हुस्सु तथा हिमपातका कारण ठूलो भौतिक तथा अन्य क्षति भए पनि ठोस अभिलेख भने नभएको प्राधिकरणले जनाएको छ ।
यसवर्ष थप चुनौतीपूर्ण
यसवर्ष भने मनसुनजन्य विपद्मा परेर धेरैको ज्यान गएको र घरबार विहीन भएको अवस्था छ । प्राप्त विवरणअनुसार विभिन्न विपद्जन्य घटनामा वैशाख यता मात्रै ४८६ जनाको मृत्यु भएको छ । बाढी पहिरोका कारण ज्यान गुमाएका परिवार र घरबारविहीन नागरिक अझै पनि अस्थायी आश्रयस्थलमा रहेका छन् । उनीहरुलाई जाडोको समयमा थप समस्या पर्ने भएकाले अवस्था चुनौतीपूर्ण रहेको देखिएको छ । त्यसमा पनि ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी तथा गर्भवती थप सङ्कटमा छन् ।
कोठा तातो बनाउन आगो ताप्दा निसासिएर मृत्यु तथा घाइते हुने गरेको छ । आगलागीबाट जनधनको क्षति भएको छ । कोभिड–१९ सङ्क्रमणको अवस्था कायमै रहेका बेला जाडो बढेसँगै दोहोरो चुनौती खडा भएकाले विशेष ध्यान दिनुपर्ने विपद्सम्बन्धीको बैठकमा गृहमन्त्री रामबहादुर थापाले बताए । गृह मन्त्रालयले न्याना कपडा लगाउन, धेरै चिसोमा नहिँड्न, आगो बालेर कोठा बन्द गरेर नबस्न सर्वसाधारणमा अनुरोध गरेको छ ।
जाडोमा बढी प्रभावित हुने जिल्ला
शीतलहरका कारण सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, कपिलवस्तुलगायत ११ जिल्ला प्रभावित रहेको जनाइएको छ । शीतलहरबाट कम प्रभावित जिल्लामा झापा, मोरङ, उदयपुर, चितवन, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर गरी ११ वटा जिल्ला रहेको छ । हिमपातका कारण ताप्लेजुङ्, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुमपूर्व, म्याग्दी गरी २१ जिल्ला रहेको छ ।