arrow

रुकुम सोती हत्याकाण्डका पीडित प्रधानमन्त्रीकहाँ

प्रधानमन्त्रीज्यू, छोरा मारिए न्याय नमारियोस् !  

न्याय पाउने आशा हराउन थाल्यो

logo
प्रविर ददेल
प्रकाशित २०७७ पुष २० सोमबार
pm-oli-rukum-masscare-hatya.jpg

काठमाडौं । गत जेठ १० गते ६ जना युवाको ज्यान जाने गरी भएको सोती घटनाका पीडित न्याय माग्दै प्रधानमन्त्री कार्यालय पुगेका छन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नंं ८ सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनाका दोषिलाई कारबाहीको माग गदै पीडित परिवारले आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो कुरा राख्ने क्रममा नबराज विकका बुवा मुनलाल नेपालीले भने, ‘प्रधानमन्त्रीज्यू, जातीय विभेदका कारण छोरा मारिए, न्याय नमारियोस्, !’ उनले न्याय माग्दै जिल्ला अदालत रुकुमपश्चिम, उच्च अदालत सुर्खेत र सर्वोच्च अदालत काठमाडौंसम्म पुग्दा पनि शक्ति, पहुँच र प्रभावले छोराहरुले न्याय पाउनेप्रति आशंका व्यक्त गरेका थिए । झण्डै आधा घण्टासम्म सोती घटनाको बारेमा जानकारी गराएका नेपालीले ६ युवाहरुको सामुहिक हत्या भएको घटनामा राज्यबाट असहयोग भएको गुनासो गरे । 

मुनलालले थपे, ‘घटनाको प्रहरी अनुसन्धान रिर्पोट, पोष्टमार्टम रिर्पोट र अदालतले घटनाका संलग्नहरुलाई एक पछि अर्को गर्दै छोड्न थालेकोले न्याय पाउने आशा मर्न थालेको छ ।’ यो देशमा कानून छ भने, सोती घटनामा संलग्नलाई कारबाही होस्, घटनाका संलग्नहरुलाई कारबाही भएपछि मात्र छोराहरुको आत्माले शान्ति पाउने र आफूहरुले न्यायको महसुस गर्ने नेपालीको भनाई थियो । ‘हामीले न्यायको माग राख्दै न्यायलय धाउन थालेको ८ महिना वित्यो, तर अझै न्याय महसुस गरेका छैनौं, घटनामा संलग्नहरु समाजमा छाति फुल्याए हिड्दा झन् पीडाबोध भएको छ ।' मृतक गोविन्द शाहीकी आमा भुमीकुमारी शाहीले बताईन् ।

पीडित परिवारको कुरा सुनेपछि प्रधानमन्त्री ओलीले सोती घटनाबारे आफू सुरुदेखी नै जानकार रहेको र कुनै पनि बहानामा घटनामा संलग्नलाई कारबाही गरी छोड्ने विश्वास दिलाएका थिए । उनले अन्तरजातीय प्रेम सम्वन्धका कारण ६ जनाको मृत्यु भएको खबरले आफू स्तब्ध भएको भन्दै कुनै पनि पहुँच, प्रभाव वा दवाबमा यो घटनाका दोषीले उन्मुक्ती नपाउने प्रतिवद्धता जनाए ।

सोती घटनाका परिवार न्याय माग्दै तीन दिनदेखि राजधानीका न्यायलय, राजनीतिक दलका प्रमुखहरु, पत्रकार र दलित अधिकारकर्मीहरुसँग भेट गरिरहेका छन् । न्यायको माग गर्दै मृतक नवराज विकका आमा–बुवा उर्मिला विक र मुनलाल नेपाली, गोविन्द शाहीका आमा भूमिकुमारी शाही, गणेश बुढा मगरका बुवा पदमबहादुर, टीकाराम नेपालीकी आमा लक्ष्मी र सञ्जु विकका आमा सविता काठमाडौ आएका छन् । 

अन्तरजातीय प्रेमको निहुँमा नियोजित रुपमा हत्या गरिएका नवराज विक र उनका अन्य पाँच साथीका आमा–बाबु न्याय खोज्दै काठमाडौं आएका हुन् । गत जेठ १० गते भेरी नगरपालिका ४ रानागाउँ जाजरकोटका २१ वर्षीय नवराज विकले मल्ल थरकी एक युवतीलाई बिहे गर्न रुकुम पश्चिमको सोती पुग्दा गाउँलेहरुले सामुहिक र सुनियोजित ढंगबाट आक्रमण गरि ६ जनाको हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए ।

उक्त घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ३४ जना मध्ये जिल्ला अदालत रुकुम पश्चिम र उच्च अदालत सुर्खेतले नवराजकी प्रेमीका र आमासहित छ जनालाई छोडिसकेको छ भने उच्च अदालतले थप ६ जनालाई छोड्ने विषयमा तीन जना न्यायाधीशहरुबीच राय बाझिएपछि उक्त मुद्दा सर्वोच्च अदालतमा आइपुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ