arrow

उद्योग वाणिज्य महासंघका मागप्रति अर्थमन्त्री पौडेल सकारात्मक

logo
प्रकाशित २०७७ पुष २२ बुधबार
fncci-finance-minister-poudel.jpg

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासंघको पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष मंगलबार अर्थ मन्त्रालयमा भेटगरी सरकारका तर्फबाट तत्काल संवोधन हुनुपर्ने केही महत्वपूर्ण विषयमा ध्यानाकर्षण गराएको छ। उद्यमी व्यवसायीहरुले बुझाउनु पर्ने कर विवरणको म्याद र बैंकको साँबा व्याज भुक्तानी गर्ने समय बढाउन सो अवसरमा महासंघका तर्फबाट अर्थमन्त्री समक्ष आग्रह गरिएको महासंघले जानकारी दिएको छ।

भेटवार्तामा महासंघका तर्फबाट उद्यमी व्यवसायीले आर्थिक बर्ष सकिएको ६ महिनाभित्र आफ्नो अघिल्लो आर्थिक बर्षको लेखा परिक्षण गरिएको प्रतिवेदन सहितको विवरण सम्बन्धित कर कार्यालयमा बुझाउनुपर्ने व्यवस्था रहे पनि गत वर्षको अन्तिम साढे ३ महिना लकडाउन र चालु आर्थिक बर्षमा पनि झण्डै एक महिना निषेधाज्ञा भएकाले कम्पनी फर्महरुले लेखापरिक्षण समयमै गर्न नसकेको यथार्थता अर्थमन्त्री समक्ष राख्दै बिवरण बुझाउने म्याद तीन महिना थप गरिदिन आग्रह गरिएको हो।

त्यसैगरी भेटवार्तामा महासंघका तर्फबाट बैंकहरुले उद्यमी व्यवसायीमाथि गरेको कडाइले निजी क्षेत्र समस्यामा परेको भन्दै लकडाउनबाट विशेषगरी साना मझौला उद्योग बढी प्रभावित भएका र कुनै पनि साना मझौला उद्यम पूर्णरुपमा संचालनमा आइनसकेका र स्वदेश तथा विदेशमा समेत माग नबढेकाले ऋण तिर्न तोकिएको समय अपर्याप्त भएकाले यही पुस मसान्तसम्मका लागि तोकिएको ऋण तिर्ने म्यादलाई कम्तीमा तीन महिना पर सारिदिन पनि आग्रह गरिएको महामसंघले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ।

कानुनी व्यवस्था प्रष्ट हुँदाहँदै पनि बैंकहरुले कालोसूचिमा राख्ने लगायतका धम्की दिइरहेको जानकारी गराउँदै म्याद थपिएन भने पचास प्रतिशत भन्दा बढी साना मझौला उद्यम बन्दै हुने अवस्थामा पुग्ने पनि सो अवसरमा महासंघका तर्फबाट स्पष्ट पारिएको महासंघले जनाएको छ।

बैशाख यतामात्रै २८ सयलाई कालोसूचिमा राखिएको विभिन्न माध्यमबाट जानकारी आएकोतर्फ अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराउँदै साना मझौला उद्यमीलाई यो बाहेक पनि छुट्टै रिकभरी जस्तो कर छुट, विभिन्न अन्य शुल्क मिनाहा, बजार प्रवद्र्धन लगायतको प्याकेज आवश्यकता पर्ने बताइयो। साथै महासंघका तर्फबाट बजेटको मध्यावधि समिक्षामा साना तथा मझौला उद्यमीहरुका लागि विशेष राहत प्याकेज राखिदिन पनि आग्रह गरिएको महासंघले भनेको छ।

सो अवसरमा अर्थमन्त्री पौडेलले महासंघका तर्फबाट राखिएका सुझावहरूलाई आफूले गम्भीरतापूर्वक लिएको र प्राप्त सुझावहरुको कार्यान्वयनमा सक्दो सहयोग गर्ने विश्वास दिलाएका छन्।

सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, रामचन्द्र संघई, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, उद्योग समितिका सभापति भरत आचार्य, कर तथा राजस्व समितिका सभापति संदीप अग्रवाल, अर्थ मन्त्रालयका वरिष्ठ अधिकारीहरू, महासंघका उपमहानिर्देशक गोकर्ण अवस्थी र उपनिर्देशक विदुरचन्द्र लामिछानेको सहभागिता रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ