arrow

एक लाख म्यादी प्रहरी भर्नाको तयारी, अदालतको आदेश कुर्दै प्रहरी

logo
माधव चम्लागाई
प्रकाशित २०७७ माघ ५ सोमबार
myadi-police.jpeg

काठमाडौं। नेपाल प्रहरीले आगामी बैशाखमा गर्ने घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब १ लाख म्यादी प्रहरी भर्ना गर्ने गरी तयारी गरेको छ । प्रहरीले आगामी १७ र २७ बैशाखमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि करिब १ लाख म्यादी प्रहरीको भर्ना आहवानको तयारी गरिरहेको हो । 

नेपाल प्रहरी उच्च स्रोतका अनुसार आगामी निर्वाचनका लागि ९९ हजारमा केही संख्या थप हुने गरी म्यादी प्रहरी आवश्यक पर्ने निश्कर्ष सहित भर्नाको तयारी भइरहेको छ । प्रहरीले सकेसम्म संसद विघटनको मुद्दालाई सर्वोच्च अदालतले टुंगो लगाएपछि मात्रै भर्ना आहवान गर्ने गरी छलफल गरिरहेको छ । ‘संख्याका विषयमा लगभग टुंगो लागिसक्यो, ९९ हजारमा केही बढ्ने र एक लाख ननाघ्ने गरी म्यादी प्रहरी भर्ना आहवान गर्ने गरी प्रारम्भिक खाका बनेको छ, तर सर्वोच्चले संसद विघटनको मुद्दामा फैसला गरेपछि मात्रै भर्ना आह्वान होला,’ प्रहरी उच्च स्रोतले हाम्राकुरासँग भन्यो ।  
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले फागुनको १५ देखि २० गतेसम्ममा भर्ना गर्ने गरी तयारी भइरहेको जानकारी दिए । 
‘निर्वाचनको पचास दिन अघिसम्म भर्ना गर्दा पनि तालिम दिएर निर्वाचनका लागि म्यादी प्रहरीलाई तयार बनाउन सकिन्छ, त्यसकारण फागुनको १५ देखि २० गतेसम्मा भर्ना आहवान गर्ने गरी तयारी भइरहेको छ,’ केन्द्रीय प्रहरी प्रवक्ता कुँवरले हाम्राकुरासँग भने । 

नेपाल प्रहरीले गत २०७४ सालको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि प्रहरी संगठनमा रहेको फौजबाट मात्रै सुरक्षामा जनशक्ति कमी हुने भन्दै ९८ हजार २ सय ६८ म्यादी प्रहरी भर्ना गरेको थियो । त्यसबखत भर्ना आह्वान गर्दा साधारण लेखपढ गर्न जान्ने, शारीरिक रूपमा तन्दुरुस्त, कुनै दलको सदस्य नभएको र कुनै फौजदारी अभियोग नलागेको १८ देखि ५४ वर्ष उमेरबीचका व्यक्ति म्यादी प्रहरीका लागि योग्य मानिएको थियो भने मासिक १७ हजार २ सय ३० रुपैयाँ म्यादी प्रहरीको तलब निर्धारण गरिएको थियो । 

म्यादी प्रहरीका लागि भर्ना आहवान गर्दा अवकाशप्राप्त सुरक्षाकर्मी, विगतमा म्यादी प्रहरीका रुपमा काम गरेका तथा गार्डका रुपमा काम गरेकालाई भर्नामा प्राथमिकता दिइने गरिएको छ । भर्ना आह्वानपछि छनोट भएका म्यादी प्रहरीलाई तलब बाहेक पोशाक र प्रहरी जवानको बराबर खाजा खर्च समेत दिइने छ भने उनीहरुको कार्यावधि पनि निर्धारित समयको हुनेछ ।

योजना बनाउँदै समिति
प्रहरीले आगामी बैशाखमा हुने प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि ३७ सदस्सीय निर्वाचन समिति समेत बनाइसकेको छ । प्रहरी प्रधान कार्यालयले केही दिन अघि अतिरिक्त प्रहरी महानीरिक्षक (एआइजी) विश्वराज पोखरेलको नेतृत्वमा ३७ सदस्सीय केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरेको थियो । समितिमा एआइजी पोखरेलको नेतृत्वमा प्रहरी नायब महानीरिक्षक (डीआइजी) दिवेश लोहनी र सुनिलकुमार श्रेष्ठ सहित ३७ जना छन् । 

समितिले निर्वाचनका लागि शान्ति सुरक्षाको योजना, रणनीतिदेखि जनशक्ति परिचालन र आवश्यक पर्ने स्रोत साधनदेखि आर्थिक व्यवस्थापनसम्मको खाका बनाउँने गरी काम गरिरहेको छ । सोही समितिले नै म्यादी प्रहरी भर्नाका लागि आवश्यक पर्ने खाका समेत तयार गर्ने छ । त्यसका लागि निर्वाचन आयोगको मतदान केन्द्र तथा मतदानस्थलको पुनरावलोकनलाई समेत प्रहरीले आधार मान्ने छ । 

समितिले बनाएको प्रारम्भिक खाकाका आधारमा नेपाल प्रहरीले सरकारसँग निर्वाचनका लागि आवश्यक पर्ने स्रोत साधनको माग गर्ने छ । त्यसका लागि प्रहरीले निर्वाचन आयोग र अर्थमन्त्रालयसँग समेत छलफल गर्दै आइरहेको छ । सरकारले निर्वाचनको सुरक्षा रणनीति बनाएर आवश्यक तयारीमा जुट्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको नेतृत्वलाई निर्देशन समेत दिइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ