arrow

दानी राजा हराउन श्रीकृष्णको यस्तो चाल

logo
प्रकाशित २०७७ माघ १६ शुक्रबार
jarasand.jpg

गौरीघाट । श्रीकृष्ण केही दिन युधिष्ठिरसँग बिताउने विचार गरेर द्वारकाबाट इन्द्रप्रस्थ आउनुभयो । युधिष्ठिरको मनमा राजसूय यज्ञ गर्ने विचार थियो । उनले आफ्नो सभामा उपस्थित ऋषिमुनि, भाईबन्धुका सामुन्ने श्रीकृष्णलाई आफ्नो मनको कुरा भने । श्रीकृष्णले उनको विचारलाई समर्थन गर्नुभयो र “यस्तो यज्ञ गर्नाले कीर्ति बढ्न जान्छ, सुयश फैलिन्छ, यसबाट सबैलाई फाईदा हुन्छ “ भन्नुभयो र यज्ञ गर्ने तय भयो ।

श्रीकृष्णले उनलाई “पृथ्वीमा भएका सबै राजाहरूलाई जितेर आफ्नो काबुमा पारेपछि मात्र यो यज्ञ शुरु गर्नुपर्छ, त्यसैले पहिले त्यो काम गर्नु“ भन्नुभयो । युधिष्ठिरका चार भाईको सर्हाना गर्दै श्रीकृष्णले भन्नुभयो, “ तपाईंका चार भाइ र तपाईंको सद्गुणले गर्दा नै म तपाईंको वशमा पर्न आएको हो । जो पुरुषले आफ्नो मन र इन्द्रियलाई आफ्नो वशमा गर्न सक्तैनन्, त्यस्ताले मलाई पाउन सक्तैनन् । सबै देवताहरू मिले पनि मेरो भक्तलाई तिरस्कार गर्न सक्तैनन् आदि भन्दै उनीहरूको सत्कार्यको सरहना गर्नु भयो र गुणको वयान गर्नुभयो ।
 
श्रीकृष्णको यस्तो अर्तीले युधिष्ठिरको मन गदगद भयो । सबैमा प्राण संचार भयो । उनले चार भाईलाई चार तिर पठाए र जरासन्ध बाहेक अरु राजाहरूलाई जितेर सबै फर्केर आए । जरासन्धलाई जित्न नसकेको कुराले युधिष्ठिरलाई अप्ठेरो परेको थियो ।

जरासन्धलाई जित्ने उपाय श्रीकृष्ण संग थियो । उहांले आफू ब्राम्हणको भेष लिएर अर्जुन र भीमसेनलाई पनि त्यही भेष बनाएर जरासन्ध कहां जानुभयो । जरासन्ध ब्राम्हण भक्त थिए र गृहस्थधर्मको पनि राम्रो पालना गर्ने राजा थिए । उनी याचकहरूलाई दिन उद्यत थिए । कोही हात खाली फर्कंदैन थिए ।

श्रीकृष्णसहित ब्राम्हण भेष गरेका पुरुषले जरासन्धलाई अनेक ज्ञान दिए । उनीहरुले यो नाशवान शरीर नाश भएपनि उत्तम पुरुषहरू याचकको  इच्छा अनुसार दान गरेर कहिल्यै नाश नहुने बस्तु प्राप्त गर्दछन् भन्ने जस्ता उपदेश दिन थाले । जरासन्धलाई उनीहरूको हाव भाव, शरीर, बोली आदि देखेर 'यिनीहरू व्राम्हण होइनन्, भेष बदलेर आएका हुन् 'भन्ने मनमा पक्का भयो र' क्षत्रिय भएपनि मसँग डराएर ब्राम्हण भेष लिएर आएका रहेछन्, यिनीहरूले जे मांगे पनि दिन्छु' भन्ने मनमा अठोट गय्रो ।

जरासन्ध मांगेको कुरा दिने निर्णयमा पुगे । श्रीकृष्णले उनलाई  'हामी अरुकुनै विषय मांग्दैनौं तिमीसँग युद्ध गर्न आएका हौ, युद्ध गर्ने बचन देऊ' भन्नु भएपछि उनी युद्धकालागि तयार भए । उनले सोची सकेको थिए, कृष्णसँग के लड्नु अर्जुन त झनै बच्चा नै हो, मेरो जोडा मिल्ने भीम नै हुन् भनेर भीमसँग लड्ने तयारी गरेर गदा युद्ध शुरु गरे ।

दुवै बीच २७ दिनसम्म घमासान युद्ध भयो । एक आपसमा हाना हान भयो । श्रीकृष्णलाई जरासन्धको बारेमा सबै थाहा थियो । त्यसैले एउटा सिन्कोलाई माथिबाट चिर्नुभयो र बायांको दायांतर्फ र दायांको बायांतर्फ फाल्नुभयो । भीमसेनले उसको कटिप्रदेशबाट चिरे र कृष्णको इशारा अनुसार फालिदिए र २८औं दिनमा जरासन्धले मृत्यु वरण गरे । जरासन्ध मरेपछि हाहाकार भयो । श्रीकृष्णले उनको छोरा सहदेवलाई राजा बनाए ।

जरासन्धले २० हजार ८ सय राजाहरूलाई विनाकारण बन्दी बनाइरहेको थियो । श्रीकृष्णले उनीहरूलाई छोडिदिनु भयो । उनीहरू मैला थैला थिए तर उनीहरुले श्रीकृष्णको गलामा कौस्तुभ मणि लगायतको चतुर्भुज रूपको दर्शन पाए र खुशीले गदगद भएर अनेक प्रकारले स्तुतिगर्न थाले ।

उनीहरुले गरेको स्तुति  ' कृष्णाय वासुदेवाय हरये परमात्मने । प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः ।' श्रीकृष्णले उनीहरूको स्तुति सुनेपछि उनीहरूलाई भन्नुभयो, 'तिमीहरूले मलाई गरेको स्तुतिले म खुशी भए । तिमीहरूले जे भन्यौ त्यो ठीक छ । म प्रति निश्चल भक्ति भइरहोस्, शरीर भएपछि शरीरसँग सम्बन्धित सबै नाता गोता आदि सबै नाशवान् छन् । शरीर रोगको जन्मस्थल हो । कालको गति बलवान छ । तिमीहरूले विषय भोग गरेपनि सन्तान उत्पत्ति गर्नका लागि मात्र गर्नु, भोगको लालसाले नगर्नु, संसारमा परि आउने दुःख सुख सबैलाई बराबर सम्झेर काम गर्नु, आत्म चिन्तनमा मन लगाउनु, ब्रम्ह प्राप्त गर्नु' आदि अनमोल ज्ञान दिनुभयो ।

श्रीकृष्णले उनीहरूलाई स्नान गराएर नयां नयां बस्त्रहरु लगाइदिनु भन्नुभयो र त्यसरी सबै राजाहरूलाई आ आफ्नो स्थानमा फिर्ता पठाएर आफू अर्जुन र भीमसँगै इन्द्रप्रस्थ फर्कनुभयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ