arrow

धमाधम मर्न थाले गाईबस्तु

logo
प्रकाशित २०७७ माघ २२ बिहिबार
cow-dead.jpg

सिमकोट । अज्ञात रोगको सङ्क्रमणले गाईबस्तु धमाधम मर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् ।

हुम्लाको तल्लो क्षेत्रस्थित अदानचुली गाउँपालिकामा घरपालुवा गाईबस्तुमा अज्ञात रोगको सङ्क्रमण फैलिएर मर्न थालेपछि किसान चिन्तित बनेका हुन् ।
 
 निकै लामो समयको खडेरीले गर्दा विभिन्न किसिमका अज्ञात रोगको सङ्क्रमण भई गाईबस्तु मर्ने गरेका छन् । मङ्गलबार मात्रै अदानचुली गाउँपालिका-४ को बिगोठी गाउँमा पाँच गाईबस्तु अकस्मात मरेको स्थानीयवासी राजबहादुर बुमीले बताए ।

उनले भने, “के कति कारणले, कस्तो रोगले मरेका हुन् त्यसको बारेमा थाहा छैन्, अकस्मात पशु मर्न थालेका छन्” । यस्तै केही दिनअघि पनि धेरै ठाउँमा गाईबस्तु मरेको खबर आएका छन् । उनले अहिलेसम्म रोगको पहिचान हुन नसकेको बताए । “ रोग पहिचान हुन नसक्दा उपचार नपाएर गाईबस्तु मर्ने क्रम जारी छ”, उनले भने, “रोगको पहिचान हुन नसक्दा उपचारसमेत गराउन पाइएको छैन ।”

सम्बन्धित निकायलाई पटक-पटक जानकारी गराउँदा पनि रोकथाममा चाँसो नदिँदा गाईबस्तु मर्न थालेको बुमीको दुःखेसो छ । यस सम्बन्धी कार्यालयमा कुनै जानकारी वा सूचना नआएको गाउँपालिका पशुसेवा शाखाले जनाएको छ ।

“कुन ठाउँमा हो, हामीलाई कुनै पनि जानकारी आएको छैन । यदि आयो भने हामी तत्काल गएर हेर्ने र गाउँपालिकामा भएको औषधि प्रयोग गर्ने तथा नभए प्रक्रिया अगाडि बढाउन सक्छौं”,  शाखाका प्राविधिक अमर बुमीले भने ।

अज्ञात रोगबारे पशु स्वास्थ्य प्राविधिक र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले स्थलगत निरीक्षण गरे मात्र भन्न सकिने बुमीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ