arrow

प्लास्टिकजन्य फोहोरबाट 'कङ्क्रिट'भन्दा बलियो इँटा उत्पादन गर्दै केन्याली ईन्जिनियर

logo
प्रकाशित २०७७ माघ २७ मंगलबार
Plastic-Brick.jpg

काठमाडौं। विश्वभर प्लास्टिकजन्य फोहरले निकै सङ्कट निम्त्याइरहेका बेला केन्यामा एक मटेरियल इन्जिनियरले विश्वलाई नै प्रभाव पार्ने काम गरेकी छन् । केन्याली इन्जिनियर नजाम्बे माटेले आफैले प्लास्टिकको फोहरबाट इँटा उत्पादन गर्न थालेकी हुन् । यसका लागि मेसिन समेत उनी आफैले डिजाइन गरेकी थिइन् ।

ठुलो मात्रामा वातावरणमा फालिने गरेको प्लास्टिकको फोहरबाट बनेको इँटा कंक्रिटको इँटाभन्दा पाँच देखि सात गुणा बलियो हुने गरेको उनी बताउँछिन् । उनको यो प्रयोग बारे अन्तराष्ट्रिय संचार माध्यमहरुले प्राथमिकताका साथ समाचार सम्प्रेषण गरिरहेका छन्।

केन्याको राजधानी नैरोबीमा सन् २०१७ मा उनले जेंगे मेकेर नामको कम्पनी एवं इँटा उत्पादक कारखानाको  स्थापना गरेकी थिइन् । यो कम्पनीले नै प्लास्टिकको फोहरबाट इँटा उत्पादन गर्छ ।सन् २०१७ देखि उनको कम्पनीले झण्डै २० टन प्लास्टिकजन्य फोहरबाट इँटा बनाइ सकेको छ । 

विभिन्न किसिमको प्लास्टिकको मिसावट बाट दैनिक १५०० इँटा उत्पादन गर्न सक्ने क्षमता रहेको यो कम्पनीले बनाएका इँटा घर, आँगन एवं सडक, पेटीहरूमा बढी जसो प्रयोग हुने गरेका छन् ।

इँटा बनाउनका लागि सुरुमा प्लास्टिकको फोहरलाई बालुवासँग मिसाइन्छ । त्यसपछि त्यसलाई तताइन्छ र इँटामा परिणत गरिन्छ । यस्ता इँटा आकार र रङ्ग अनुसार फरक फरक मूल्यमा बेच्ने गरेको उनले बताएकी छन् ।

औसतमा १ वर्ग मिटर इँटाको मूल्य ८५० केन्यान सिलिंग (करिब ९ सय रुपिया) पर्छ । इँटा उत्पादनका लागि फोहर प्लास्टिक विभिन्न फ्याक्ट्रीहरूबाट उनले निःशुल्क ल्याउँछिन् भने केही मूल्य तिरेर पनि प्रयोग हुन्छ ।

यो वर्षको अन्त्यसम्म उनले आफ्नो कम्पनीको उत्पादन क्षमता तीन गुणा बढाउने लक्ष्य राखेकी छन् । उनको यो कदमलाई देश, विदेश एवं संयुक्त राष्ट्र सङ्घको पर्यावरणीय एकाइले समेत सहयोग गर्दै आएको छ ।

नेपालमा पनि प्लास्टिकको प्रयोगबाट सडक पिच गरेका समाचारहरू बाहिर आइरहेका बेला इँटा नै उत्पादन गर्न सकिने कुरा प्रभावकारी बन्न सक्छ । वातावरणीय संरक्षणको क्षेत्रमा काम गरिरहेका विभिन्न सङ्घ, संस्था एवं कम्पनीहरूका लागि  यो एक सकरात्मक पक्षकारुपमा देखिन सक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ