arrow

सहरभित्र सहर बनाउँदै भरतपुर महानगर

logo
प्रकाशित २०७७ फागुन ८ शनिबार
bharatpur.JPG

चितवन। जिल्लाको प्रमुख सहर नारायणगढमा बहुउद्देश्यीय व्यावसायिक भवन (भरतपुर मेट्रो प्लाजा) बनाइने भएको छ। सिङ्गो सहरको जति सुविधा हुने गरी निजी क्षेत्रमार्फत व्यावसायिक भवन बनाउन लागिएको हो।

भरतपुर महानगरपालिका–३ मा पर्ने लायन्स चोकमा रहेको ११ कट्ठा सात धुर जमिनमा ५० मिटर अग्लो व्यावसायिक भवन बनाइँदै छ। महानगरपालिकाले सार्वजनिक निजी साझेदारी अवधारणाबमोजिम निजी क्षेत्रबाट नक्साङ्कन, निर्माण, वित्त, सञ्चालन एवं हस्तान्तरण विधिबाट भवन बनाउँदै छ। महानगरपालिका प्रमुख रेणु दाहालका अनुसार आउँदो चैत महिनाभित्रमा निर्माणको सम्झौता हुने गरी काम अन्तिम चरणमा पुगेको छ।

महानगरपालिकाले सार्वजनिक निजी साझेदारी ऐन, नियमावली बनाएर राजपत्रमा प्रकाशित गरी व्यावसायिक भवन बनाउन लागेको हो। दाहालको भनाइमा भवन निर्माणका लागि निजी क्षेत्रबाट सात वटा कम्पनीले मनसाय पत्र पेस गरेका थिए। जसमध्ये चार वटाको मनसाय पत्र स्वीकृत भएको थियो। तीमध्ये तीन वटा कम्पनीले प्रस्ताव पत्र पेस गरेका छन्। प्राविधिक मूल्याङ्कनको काम अन्तिम चरणमा पुगेको छ।

महानगरपालिकाको सार्वजनिक निजी साझेदारी ऐन, नियमावलीबमोजिम एकाइ प्रवर्द्धन समिति गठन गरी काम अघि बढाइएको छ। समितिको अध्यक्ष प्रमुख दाहाल छिन् भने सदस्य सचिवमा महानगरकै वरिष्ठ इ भरतकुमार आचार्य छन्। आचार्यका अनुसार हाल प्रस्ताव पत्र पेस गरेका पिजन इन्जिनियरिङ, आर्य विल्डर्स र इनोभेटीव इञ्जिनीयरिङमध्येका एउटा कम्पनी छनोटमा परी चैत महिनाभित्रमा ठेक्का सम्झौता हुने छ। तीमध्ये छनोटमा परेका कम्पनीले करिब रु दुई अर्ब लगानी गरेर भवन बनाउने छन्। तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ भने उनीहरूले निर्माण पछि उपयोग गर्ने अवधि २७ वर्ष पाउने छन्।

प्रस्ताव पेस गर्ने कम्पनीले १२ देखि १४ तल्ला बनाउने प्रस्ताव गरेका छन्। दुई तला भूमिगत पार्किङ हुनेछ। आचार्यका अनुसार कम्तीमा २५ लाख वर्ग फिटको भवन बन्ने छ। जहाँ २०० भन्दा बढी गाडी पार्किङ गर्न मिल्ने छ भने २०० भन्दा बढी दुई पाङ्ग्रे सवारी पार्किङ गर्न सकिने छ। पेस भएका प्रस्तावमा पाँच तारे होटेलसमेत उल्लेख छन्। महानगरपालिकाले नै कम्तीमा तीन तारे होटेल हुनुपर्ने उल्लेख गरेको छ।

महानगरले मानव केन्द्रित अवधारणामा निर्मित खुला स्थान, कार्यालय तथा बैङ्किङ सेवाका लागि पर्याप्त सुविधा, होटेल, बालबालिका खेल्ने क्षेत्र, रेस्टुराँ तथा खाद्य सुविधा, सिनेमा हल तथा मनोरञ्जन केन्द्र बनाउनु पर्ने गरी प्रस्ताव माग गरेको दाहालले जानकारी दिइन। सुरुमा आफैँ निर्माण गर्ने भनिएकोमा पछि सार्वजनिक निजी साझेदारी अवधारणाबमोजिम भवन बनाउन लागिएको हो।

महानगरपालिकाले नागरिक उड्डयन प्राधिकरणसँग राय लिएर भवनको उचाइ तय गरेको हो। दाहालका अनुसार कूल जग्गाको क्षेत्रफलमध्ये आधा भागमा भवन बन्नेछ। उनले भनिन्, “यो भरतपुर महानगरको गहना हुनेछ।” जिल्लाको प्रमुख सहर नारायणगढमा पार्किङको अभावमा व्यवसाय प्रभावित भएको छ। यो भवन बनेसँगै महानगरवासी पूर्णपुरमा लाभान्वित हुने दाहालको भनाइ छ। नेपालमा ऐन नियमावली बनाएर निजी क्षेत्रको सहकार्यमा बनाउन लागिएको यो पहिलो र ठुलो परियोजना हो। उनले भनिन्, “यो परियोजना देशकै नमुना बन्ने छ।”

एउटै भवनभित्र सबै खालका सुविधा प्राप्त गर्ने भएकाले भरतपुर महानगरको सहरभित्रको एउटा महत्त्वपूर्ण सहरको रूपमा व्यावसायिक भवन बन्ने अपेक्षा गरिएको छ। भरतपुर महानगरपालिका–३ का अध्यक्ष चन्द्रभित्र पण्डित नारायणगढ बजारको सुन्दरता भवनले बढाउने बत्ताउँछन्। उनले भने, “नारायणगढको भविष्यसँग जोडिने गरी हामी भवन बनाउँदै छौँ।” देशकै मध्यभागमा रहेको नारायणगढ बजार राजधानी बाहिरका ठुलो बजारमध्येको एक हो।

स्थान अभावका कारण सङ्कटमा पर्दै गएको अवस्थामा महानगरपालिकाले बेलैमा दीर्घकालीन सोचका साथ भवन बनाउन लागेको पण्डितको भनाइ छ। उपयुक्त प्रस्ताव छनोटका लागि महानगरपालिकाले मूल्याङ्कन समितिमा विरोक एन्ड कम्पनीका अध्यक्ष राधेश पन्तसहित चार जना विषय विज्ञलाई आमन्त्रण गरी काम गरिरहेको छ। पन्तले विगत तीन वर्षयता सार्वजनिक निजी साझेदारीसम्बन्धी कानुन निर्माण र परियोजना सहरीकरणमा सहयोग गर्दै आएका छन्। महानगरका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारी कहिल्यै पुरानो नहुने गरी आधुनिक र सुविधा सम्पन्न व्यावसायिक भवन बन्ने बत्ताउँछन्। उनले भने, “प्रमुख दाहालले दीर्घकालीन सोचका साथ नारायणगढ बजारलाई जीवन्त राख्ने गरी यो महत्त्वपूर्ण योजना ल्याउनुभएको हो।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ