arrow

‘हिन्दूराष्ट्र’ कांग्रेसको १४औं महाधिवेशनको मुख्य एजेण्डा

logo
हरि पन्त, 
प्रकाशित २०७७ फागुन ११ मंगलबार
hindurastra-congress.jpg

पोखरा । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनबाट हिन्दूराष्ट्र पुनःस्थापनाको प्रस्ताव पारित हुने नेताहरुले बताएका छन् । पोखरामा आयोजित हिन्दूराष्ट्र पुनःस्थापनामा नेपाली कांग्रेसको भूमिका विषयक अन्तरक्रियामा नेताहरुले देशलाई जोगाउन र कांग्रेसले आफूलाई राष्ट्रवादी पार्टी हो भन्ने सिद्ध गर्नका लागि हिन्दूराष्ट्र पुनःस्थापनाको पक्षमा उभिनुपर्नेमा जोड दिए । 

लामो समयदेखि हिन्दूराष्ट्रको पक्षमा उभिंदै आएका नेता शंकर भण्डारीले कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा सनातन धर्म, संस्कारलाई वेवास्ता गरिनु दुःखद् र हिन्दूराष्ट्रको विपक्षमा उभिनु विडम्वना भएको बताए । 

सधै वीपीको नाम बेचेरे खाने गरिएको भन्दै नेता भण्डारीले आक्रोश व्यक्त गरे । उनले प्रश्न गरे, ‘वीपीले कहाँ धर्म निरपेक्षता र संघीयता भनेका छन् ?’ धर्म र संस्कार बिर्सिदा पार्टीमा अनुशासन, मर्यादा र जिम्मेवारीपन हराउँदै गएको नेता भण्डारीले बताए ।  

भारतको स्वतन्त्रता आन्दोलनमा सन्तमहन्त, योगी र जोगीहरुको भूमिकालाई नबिर्सन नेता भण्डारीले आग्रह गरे । उनले भने, ‘दलाई लामाका केही एजेन्टहरु नेपालको संविधान बन्ने क्रममा सल्बलाएका थिए । यिनै एजेन्टहरु नेपालको सनातनी हिन्दू संस्कार र संस्कृति मास्न उद्धत छन् ।’

धर्म, संस्कार, संस्कृति र राष्ट्रका लागि आफूले जस्तोसुकै बलिदानी दिन पनि तयार रहेको पूर्व मन्त्रीसमेत रहका नेता भण्डारीले उद्घोष गरे ।

अर्का नेता देवेन्द्रराज कंडेलले सनातन हिन्दूराष्ट्रलाई रातारात अपहरण गरिएको भन्दै यो कुरा कुनै पनि नेपाली नागरिकलाई चित्त नबुझेको बताए ।

धर्म, संस्कार र संस्कृति जोगाउने हो भने राष्ट्रमा कुनै संकट नआउने भन्दै उनले अब कांग्रेसले जनताको साथ लिएर हिन्दूराष्ट्रकै पक्षमा उभिने स्पष्ट पारे ।

जनभावना कदर गर्न नसक्ने हो भने कांग्रेस लोकतान्त्रिक पार्टी हुन नसक्ने जिकिर गर्दै नेता कंडेलले पार्टीको अबको प्राथमिकता हिन्दूराष्ट्र नै भएको स्पष्ट पारे ।

उनले कुर्ची हल्लिन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओली भगवान पशुपतिनाथको शरणमा पुगेको टिप्पणी गरे । उनले भने, ‘यो प्रधानमन्त्रीको नाटकमात्र हो । हिन्दूको भावनामाथि खेल्ने प्रयत्न गरेका हुन् ।’ 

हिन्दूराष्ट्रका लागि अबको एकमात्र विकल्प भनेको जनमत संग्रह नै भएको उनको जिकिर छ । 

सनातन हिन्दूराष्ट्रका लागि एकतावद्ध हुन आवश्यक रहेको भन्दै नेता कंडेलले कतैकतैबाट राजासहितको हिन्दूराष्ट्रको आवाज उठाइएकोले यो सम्भव नभएको ठोकुवा गरे । नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले मुखले धेरैले हिन्दू हुँ भन्ने गरे पनि व्यवहारमा लागू गर्न नसकेको टिप्पणी गरे । 

धर्म सापेक्ष मुलुकका लागि कांग्रेस अघि बढ्नुको विकल्प नरहेको भन्दै नेता शर्माले हिजो राजा हुँदा हिन्दूराष्ट्र हुने तर राजा नहुँदैमा धर्म निरपेक्ष हुनु बिडम्वना भएको बताए । 

कांग्रेसको १४औं महाधिवेशनको मुख्य मुद्धा हिन्दूराष्ट्र नै हुनुपर्ने भन्दै नेता शर्माले यसका लागि दह्रोसंग उभिन नेताहरुलाई आग्रह गरे ।

आयोजक संस्था विश्व हिन्दू महासंघ कास्कीकी अध्यक्ष पार्वता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस नेता लालगोपाल अर्याल, महासंघका केन्द्रीय उपाध्यक्ष शंकर खराल र महासंघ कास्कीका सचिव कमल पौडेलले बोलेका थिए । 

हिन्दूराष्ट्र पुनःस्थापना महाअभियान पोखराबाट शुरु
विश्व हिन्दू महासंघका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारीले हिन्दूराष्ट्र पुनःस्थापना महाअभियान पोखराबाट शुरु भएको घोषणा गरे । यो अभियान देशव्यापी हुने र कांग्रेसमात्र होइन सबै पार्टीसंग हिन्दूराष्ट्रबारे धारणा बुझ्ने बताए । 

सबै ओमकार परिवारलाई एकतावद्ध र गोलबन्द गर्दै हिन्दूराष्ट्र घोषणा गरेरै छाड्ने उनले उद्घोष गरे । उनले भने, ‘हाम्रो एकमात्र उद्देश्य भनेको नेपालको संविधानमा ‘धर्म निरपेक्ष मुलुक’ लेखिएको छ, उक्त स्थानमा ‘धर्म सापेक्ष मुलुक’ भनेर सच्याउने हो ।’

राजा र हिन्दूराष्ट्र फरक कुरा भएको स्पष्ट पार्दै अध्यक्ष अधिकारीले भने, ‘केही पक्षबाट राजासहितको हिन्दूराष्ट्रको कुरा आएका छन् । यसलाई कदापि स्वीकार गर्न सक्दैनौं ।’

राष्ट्र र राष्ट्रियता, सनातन धर्म संस्कृति र लोकतन्त्र आफूहरुको सिद्धान्त भएको भन्दै उनले आफूहरुको यो सिद्धान्तमा राजा अटाउन नसक्ने ठोकुवा गरे । 

सम्भव छ हिन्दूराष्ट्र पुनःस्थापना ?
यस विषयमा पनि नेताहरुले बोलेका छन् । नेता शंकर भण्डारी भन्छन्, ‘बोल्न जति सजिलो छँदै छैन । निकै कठिन र चुनौतीपूर्ण छ ।’ तर जनजनको मनमा हिन्दूराष्ट्र रहेकाले जनताले नै यसको फैसला गर्न सक्ने उनले स्पष्ट पारे । 
हिन्दूराष्ट्रको नारा निकै घोक्दै आएका कमल थापाले मन्त्री बनेपछि सबै बिर्सिएको उनले आरोप लगाए । उनले भने, ‘हामीले उहाँ (कमल थापा) बाट धेरै आशा गरेका थियौं । संविधानसभामा हिन्दूराष्ट्रकै नारा बोकेर २५ सिट जित्नुभो । मन्त्री बन्नुभो । सबै भुल्नुभो ।’ उनले हिन्दूराष्ट्रको पक्षमा उभिने नेतालाई मात्रै अबको पार्टी सभापति बनाउनुपर्ने जिकिर गरे । 

अर्का नेता देवेन्द्रराज कंडेलले हिन्दूराष्ट्र पुनःस्थापना भनेजस्तो सहज नभएको बताए । उनले भने, ‘हिन्दूराष्ट्र भनेजस्तो सजिलो छैन। कठिन निकै चुनौतीपूर्ण छ । पार्टीको नेतृत्व तहमा बसेकाहरुले यो कुरा महशुश गरेका छैनन् ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ