- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालका सुपुत्र, विश्वका ज्योति, महामानव बुद्धको जन्म नेपालको रुपन्देहि जिल्लामा पर्ने लुम्बिनी नामक उद्यानमा ई.पु. ६२३ वैशाख पूर्णिमाको दिन आमा महामायादेवी र पिता शुद्धोदनको कोखबाट भएको थियो । तत्कालिन समयमा लुम्बिनी उद्यान कपिलवस्तु गणराज्यका शाक्यहरुको अधिनमा रहेको थियो । साथै उक्त लुम्बिनी उद्यान शाक्य राजकुमारीहरुको कृडा स्थलको रुपमा पनि परिचित थियो । सारा संसार अनि चक्रवाल मै अद्वितिय महापुरुष, महा-पुण्यवान तथा शान्तिका नायक बुद्धपुरुषको जन्म पश्चात सारा चक्रवालका देव ब्रह्माहरु आएर स्वागत गर्नु भएको थियो । उहाँ बुद्धपुरुष जुनसुकै भावमा जीवन व्यतित गरे पनि लोकको सर्वहित सिद्ध गर्ने अर्थमा नै उहाँको नाम सिद्धार्थ राखिएको थियो । जन्मेको सातौं दिनमा मातृत्व वात्सल्य गुमाउन पुगेका बोधिसत्वको त्यसपछिका २९ बर्ष सम्मको जीवन महामायादेवीकी बहिनी एवं सुद्धोदनको कान्छी महारानी अर्थात कान्छी मुमा महाप्रजापति गौतमीको रेखदेखमा बित्यो ।
महाप्रजापति गौतमीले आफैले जन्माएको छोरा नन्दकुमारलाई धाइ आमाको हातमा सुम्पिएर बोधिसत्व सिद्धार्थकुमारलाई मातृ-स्नेह प्रदान गरि काखमा लिएर दुग्धपान समेत गराउनु भएको थियो । यसरी महाप्रजापति गौतमीको मातृत्व वात्सल्यमा आफ्नो शैशवकाल बिताउनु भएका सिद्धार्थ कुमारको जीवन अत्यन्तै सुख सयलमा बितेको थियो । २९ बर्ष सम्म कपिलवस्तु दरबारको ऐश्व आराम अनि पिता शुद्धोदन र माता महाप्रजापति गौतमीका छत्र छाँयामा जीवन व्यतित गर्नु भएका सिद्धार्थ कुमारले अन्तत संसारमा विद्यमान दुःखहरुबाट आजित भइ यस जगत संसार उद्धारको निमित्त कपिलवस्तु दरबार अनि सम्पूर्ण आत्मिय सम्बन्धहरु त्याग गरि प्रवजित हुनु भएको थियो ।
६ बर्ष सम्मको कठिन प्रयास अनि दुष्कर चर्या पश्चात सिद्धार्थ कुमारले सम्यकसम्बुद्धत्व ज्ञान लाभ गर्नुभइ यस लोकमा बुद्ध कहलाउनु भयो । यसरी सम्बोधि ज्ञान लाभ गरि लिनुमा महाप्रजापति गौतमीको ठुलो त्याग तपस्या रहेको छ । महाप्रजापति गौतमीले प्रदान गरिएको मातृत्व स्नेहले गर्दा नै सिद्धार्थ कुमारले बुद्धत्व ज्ञान प्राप्त गर्न सफल हुनुभयो । समस्त संसारको कल्याण अनि बहुजन हित, बहुजन सुखको लागि बोधिसत्व सिद्धार्थ कुमारको बुद्धत्व प्राप्तिमा महाप्रजापति गौतमीको त्याग, तपस्या र मातृ-स्नेहको स्थान अरु कसैले पनि लिन सक्दैन ।
सारा संसारमै मैत्री र करुणाले आफ्नो सन्तानहरुमा कुशल कर्म रुपी संस्कारहरुको बिजारोपन गरि समर्थवान बनाउनुमा आमाको ममता अनि स्नेहको सर्वश्रेष्ठ स्थान रहेको हुन्छ । यसै अनुरुप महाप्रजापति गौतमीले पनि सिद्धार्थ कुमार प्रति गर्नुपर्ने कर्तव्यमा कुनै कञ्जुस्याई गर्नु भएन । स्याहार सुसार, शिक्षादिक्षा दिने देखि लिएर संकुचित धारणा र संकिर्ण विचारधाराले भरिएको समाजमा सानी आमाले पनि पर सन्तानलाई समर्थवान बनाउन र आमाको परिपुरक बनि मातृ स्नेह, माया, ममता दिन सक्छ भन्ने उदाहरण समेत महाप्रजापति गौतमी बनिदिनु भयो ।
महाप्रजापति गौतमीकै अथक प्रयास, धैर्य अनि मेहनतबाट बुद्धशासनमा नारी जातिको लागी प्रवजित हुन स्थान पाएको थियो । तथागत बुद्धले तीन पटक सम्म नारी जातिलाई प्रवजित हुन प्रतिक्षेप गर्दा पनि उहाँको प्रयत्नशील स्वभावको कारण नै भिक्षु आनन्दको सहायताले तथागत बुद्धसँग प्रव्रजित हुने अनुमति मागि दिनु भएको थियो । आजको २१ औं शताब्दीमा नारीहरुले कान्छी आमा (सौतेनी आमा), प्रव्रजित महिला (भिक्षुणी) महाप्रजापति गौतमीको मातृत्व, संघर्षशील जीवन, धैर्य, मेहनत, लगनशीलता, पयत्नशील स्वभाव र साहसिक कदमलाई आदर्शको रूपमा ग्रहण गर्न योग्य छ ।
माता पितालाई ब्रह्मा पनि भनिन्छ । माता या आमा शब्द सुन्दैमा जो कोहिको मनमा पनि आनन्द अनि शितलताको अनुभुति हुने गर्दछ । महाप्रजापति गौतमीले आफ्नो दिदी महामाया देवीको देहान्त पश्चात उहाँका छोरा सिद्धार्थ कुमारलाई मैत्री, करुणा, मुदिता र उपेक्षा युक्त ब्रह्म विहारी भई स्याहार सुसार गर्नुभयो । यी चार ब्रह्म गुणहरु आमा बुबामा मात्र हुन्छन् । स्वार्थरहित यी गुण आमा बुबामा हुने भएकोले नै हामी आमा बुबालाई ब्रह्माको रुपमा लिने गर्दछौं । यी चार गुणलाई चतुर्ब्रह्म विहार भनिन्छ । यहाँ ब्रह्मा शब्दको अर्थ उत्तम श्रेष्ठ वा दोष रहित हो भने विहार शब्दको अर्थ वास गर्नु बस्नु हो । यसैले ब्रह्म विहार भनेको उत्तम श्रेष्ठ दोष रहित भएर बस्नु हो ।
१) मैत्री - दया, माया, ममता अरुलाई दुःख हुन्छ भनि चिन्ता हुने ।
२) करुणा - अरुको दुःखमा आफु पनि दुःखित हुने, चित्त कम्पित हुने ।
३) मुदिता - अरुको सुखमा आफु पनि रमाउने ।
४) उपेक्षा - आफुले गरेको उपकारको बदला नखोज्ने ।
यी गुण आफ्नो छोरा-छोरीप्रति आमा बुबाको मात्र हुन्छ । यसैले अंगुत्तर निकायको ब्रह्म सुत्रमा भगवान बुद्धले भन्नु भएको छ कि -
ब्रह्माति माता पितरो - पुब्बाचरियाति वुच्चरे ।
आहुनेय्या च पुत्तानं - पजाय अनुकम्पका ।।
“सन्तानप्रति अनुकम्पा राख्ने हुनाले मातापिता ब्रह्मा समान र पूर्वआचार्य भनिन्छ ।”
यसैगरी तथागत भगवान बुद्धले भन्नुभएको छ कि “माता मित्तं सके घरे” अर्थात छोरा-छोरीकोहरुको लागि आमा नै असल साथी हुन्छन् । सिद्धार्थ कुमारको लागि महाप्रजापति गौतमीले साथीको रुपमा व्यवहार गर्नुभई राम्रो व्यवहारिक शिक्षा दिनुभयो । यी चार ब्रह्म गुणले युक्त महाप्रजापति गौतमीले बालक सिद्धार्थ कुमारलाई दिनको दुई पटक सुगन्धित जलमा नुहाइदिने गरिदिनु हुन्थ्यो साथै आफ्नै दूध पिलाउनु हुन्थ्यो । बालक हुर्किदै गएपछि दिनको दुई पटक खुवाउने, पिलाउने, हातखुट्टा मिच्ने आदि गर्नुपर्ने सबै सुश्रुषाको कामहरु अत्यन्त स्नेह अनि ममता पूर्वक आफैले गर्नु हुन्थ्यो र खेलाउने तथा डुलाउने समेत आफैले गर्नुहुन्थ्यो । यसरी अत्यन्त माया गरी स्नेह पूर्वक सिद्धार्थ राज कुमारलाई स्याहार सुसार गरी ठुलो भएपछि पान-सुपारी समेत आफैले दिनु हुन्थ्यो । साच्चै भन्ने हो भने यो लोकमा महाप्रजापति गौतमी जस्ती सानी आमा पाउनु महान दुर्लभ कुरा हो ।
महाप्रजापति गौतमीले नै २९ वर्ष सम्म सिद्धार्थ कुमारलाई मातृ स्नेह दिनुभई हुर्काउनु भएको थियो । यसकारण पनि सिद्धार्थ कुमारको गृहत्यागले महाप्रजापति गौतमीको मातृ हृदयमा ठूलो घात पुगेको थियो, उनि सिद्धार्थ कुमारलाई सम्झिदै विरह गर्थिन । सिद्धार्थ कुमारको महाभिनिष्क्रमनले शुद्धोदन र यशोधरा देवीलाई पनि कम दुःखित तुल्याएको चै पक्कै थिएन औ समस्त प्रजाजन यस घटनाबाट दुखित थिए । आफ्नो व्यथालाई एकठाँउमा राखी महाप्रजापति गौतमीले आफ्नो छोराको कुशल कार्य सफलताको कामना गरी चित्ताएको पुरा होस् भनि आफ्नो पति र बुहारीलाई धैर्य धारणा गराउँथिन । यसप्रकार छोराको दीर्घायुको कामना र चिताएको इच्छा पूरा होस् भनी दिन प्रतिदिन प्रार्थना गरी ६ वर्षसम्म आफ्नो पुत्ररत्नको बाटो कुरी बसेकी थिइन् । बास्तवमा आमा बुवामा हुने ब्रह्मत्व गुण भनेको पनि यहि नै हो । आफ्नो सन्तानहरु प्रगतीको पथमा अग्रसर हुने क्रममा आफुबाट टाढा नै हुनु पर्ने अवस्थामा समेत किञ्चित पनि चित्त बिचलित नगरि हृदय देखि कुशल कामना गर्न सक्ने क्षमता समर्थवान आमा बुवामा मात्र हुन्छन् । यसरी आफ्नो सन्तानहरुको राम्रो होस् भनि मैत्रीको कामना गर्नु, मनमा करुणा जगाउनु, आफ्नो सम्मुख नहुँदा पनि छोरा-छोरीहरुको प्रगती देखेर वा सुनेर मनमा मुदिता भाव र उपेक्षा भावले जीवन व्यतित गर्ने भएको हुनाले नै आमा बुवालाई ब्रह्म भनिएको हो ।
महाप्रजापति गौतमीलाई सारै खुशी लागि वहाँको मातृ हृदयमा यस्तो कल्पना उठ्यो- “आहा कति शोभनीय हुनुहुन्छ बुद्ध ! अहा कति दर्शनीय तथा सौभाग्यशाली हुनुहुन्छ बुद्ध ! उनान्तीस वर्षसम्म वहाँ गृहस्थिमा हुँदा वहाँलाई मैले नगरेकी सेवा सुश्रुषा केही थिएन । पान, सुपारी समेत मैले आफैले दिएकी थिएँ । अब वहाँ तथागतलाई के दिऊँ ? ।”
बुद्धत्व प्राप्तिको प्रथम वर्षको अन्त तिर महाप्रजापति गौतमीले सम्यक सम्बुद्धको दर्शन गर्ने मौका पाएकी थिइन् । बोधिसत्व सिद्धार्थ कुमार बुद्ध बनिसक्नु भएपछि वहाँ बुद्धगयाबाट ऋषिपतन मृगदावनमा जानुभयो । त्यहाँ पञ्चवर्गीय भिक्षुहरूलाई आफुले पाएको ज्ञानको भण्डारलाई सर्वप्रथम बाँडिदिनु भयो । धर्मको भाषामा यसलाई धर्मचक्रको प्रर्वतन भनिन्छ अर्थात शुद्ध धर्मको पांग्रालाई लोक कल्याणको निमित्त घुमाउनु भयो । त्यस पश्चात तथागत बुद्धले पञ्चवर्गीय भिक्षुहरू कौण्डिन्य, वप्प, भद्दिय, महानाम र अस्सजीका साथमा प्रथम वर्षावास यसै ऋषिपतन मृगदावनमा बिताउनु भयो । वर्षावास बिताइसक्नु भएपछि क्रमशः आफ्नो पूर्व वचनानुसार राजगृहमा जानुभई मगध सम्राट बिम्बिसारलाई बुद्धधर्ममा दीक्षित गराउनु भयो । यस पश्तात सम्पूर्ण श्रावक संघको साथमा आफ्नो जन्मभूमिको निम्ति प्रस्थान गर्नुभयो ।
फल्गुन पूर्णिमा देखि प्रारम्भ गर्नु भएको यात्रा अन्तत बैशाख पूर्णिमाको दिनमा मात्र तथागत कपिलवस्तु आइपुग्नु भएको थियो । कपिलवस्तु पुग्नु भई आफ्ना ञाति शाक्यहरूले उहाँको सम्मानको लागी न्यग्रोध उद्यानमा बनाइदिनु भएको न्यग्रोधाराम विहारमा तथागत आफ्ना श्रावकहरुसँग विहार गर्नुभएको थियो । उक्त समयमा भगवान बुद्धको दर्शनले कपिलबस्तुका शाक्य राजपरिवार अनि प्रजाहरुको विशाल परिषद हर्षले अत्यन्त गद्-गद् भएका थिए । कपिलबस्तु आईपुग्नु भएको भोलिपल्ट आफ्नो परिषद्का साथ आफु पहिला चारघोडे वग्गीमा हिड्ने नगरका सडकहरुमा हातमा भिक्षा पात्र लिदै भिक्षाटन जादै गरेको कुराले कपिलवस्तु नरेशको दरवारमा खलबल मच्चियो । अनि स्वयम शुद्धोदन राजाले भगवान बुद्धलाई राजदरवारमा लैजानुभयो । यसरी कपिलवस्तु दरवारमा भोजनपछि भगवान बुद्धले निम्न गाथाले उपदेश गर्नुभयो -
धम्मं चरे सुचरितं - न तं दुच्चरितं चरे ।
धम्मचारी सुखं सेति - अस्मि लोके परिम्हिच ।।
अर्थात - “धर्म आचरण राम्रोसंग गर्नुपर्छ, दुराचरण गर्नुहुँदैन । धर्माचरण गर्ने व्यक्तिले इहलोक, परलोक दुवैमा सुखपूर्वक जीवन बिताउँछ ।”
यसरी प्रथम पटक कपिलबस्तुमा आउनु बेलामा दरवारमा दिनुभएको उपदेश सुनी प्रजापति गौतमी स्रोतापति फलमा प्रतिष्ठित भएकी थिईन । भगवान बुद्ध प्रति अब महाप्रजापति गौतमीको श्रद्धा अडिग रह्यो । पूर्व मातृ-स्नेह र ममता अब श्रद्धामा परिणत भयो । उहाँको श्रद्धा, भाव भक्ति अति शुद्ध निर्मल र पवित्र थियो । त्यसबेला बुद्धका यि सौभाग्यलाई अवलोकन गरिरहनु भएकी महाप्रजापति गौतमीलाई सारै खुशी लागि वहाँको मातृ हृदयमा यस्तो कल्पना उठ्यो- “आहा कति शोभनीय हुनुहुन्छ बुद्ध ! अहा कति दर्शनीय तथा सौभाग्यशाली हुनुहुन्छ बुद्ध ! उनान्तीस वर्षसम्म वहाँ गृहस्थिमा हुँदा वहाँलाई मैले नगरेकी सेवा सुश्रुषा केही थिएन । पान, सुपारी समेत मैले आफैले दिएकी थिएँ । अब वहाँ तथागतलाई के दिऊँ ? ।”
यस्तो मनमा कल्पना हुँदा त्यस बखत वहाँले यस्तो चिताउनुभयो- “मेरो पुत्रलाई अब एक जोडा वस्त्र चढाउँछु, राजदरवारमा अनेकौं प्रकारका वस्त्रहरू त छन् तर ती वस्त्रहरू दिनमा मलाई सन्तोष लाग्दैन । यसमा कुनै महत्व पनि छैन । त्यस्ता वस्त्रहरू त वहाँलाई सबैले दिनसक्छ । अतः आफ्नै हातले कपडा तयार पारी दिनपाए सर्वोत्तम हुने थियो ।” भगवान् बुद्ध दरवारबाट फर्किनु भएपछि महाप्रजापति गौतमीले उत्तमाति उत्तम धेरै कपास ल्याउन लगाई आफ्नै हातले कपास केलाई फट्की मसिनो धागो काटी राजदरवार भित्रै तान राख्ने शाला बनाउन लगाई, शिल्पकारहरूलाई बोलाई, आफुले खाने जस्तै खाना खान दिई कपडा बुन्न लगाउनुभयो । समय-समयमा आफु स्वय्म पनि धाईहरूका साथ शालामा गई तान चलाउनु हुन्थ्यो । कपडा तयार भएपछि शिल्पकारहरूलाई ठुलो सम्मान गरी बिदा दिनुभयो । त्यसपछि तयार गरिएको कपडा सुगन्धित पानीमा भिजाई राख्नुभयो ।
केहिदिन पछि मेरो पुत्रलाई चीवर, वस्त्र, चढाउन जान चाहन्छु भनि शुद्धोदन राजालाई बिन्ति गर्नुभयो । यहि नै महाप्रजापति गौतमीको पुत्र स्नेह थियो । चीवर तयार भएपछि आफ्नो शिरमा राखी न्याग्रोघाराममा जानुभयो । भगवान बुद्धलाई पञ्चाङ्ग वन्दना गरी चीवर दान ग्रहण गरिदिनु हुन आग्रह गरेकी महाप्रजापति गौतमीलाई तथागत बुद्धले- “गौतमी संघमा देऊ संघमा दिंदा म पनि पूजित हुनेछु र संघपनि” “संघे दिन्नं महप्फलं” - संघलाई दिने फल महान हुन्छ भनि चीवर संघलाई दिन लगाउनु भयो- महाकारूणिक तथागतले आफ्नो आमालाई ठुलो महान पुण्य प्राप्त होस् भनी संघलाई दिन लगाउनुभयो । यसरी महाप्रजापति गौतमीले आफुले हुर्काएको छोरा बुद्धपुरुष जगत संसारको उद्धारका लागि चारिका गर्नु भएको देखि उनको मन गर्व र आनन्दले प्रफुल्लित भएको थियो । बुद्ध पुरुष जस्तो व्यक्तिलाई सेवा गर्न पाउनु, आमा बन्न पाउनु र स्याहार सुसार गर्न पाउनु महाप्रजापति गौतमीले ठूलो भाग्य सोच्नु भयो ।
महाप्रजापति गौतमीको जन्म नेपालको पश्चिमी तराई स्थित हाल नवलपरासी जिल्लामा रहेको देवदह नगरमा भएको थियो । कोलिय वंशका सुप्रसिद्ध राजा रामद्वारा बस्ती बसाली सुरु भएको रामग्राम नगरको राजधानीको रुपमा पनि परिचित देवदह नगरमा राजा अन्जन शाक्य र रानी सुलक्षणाको कोखबाट कान्छी छोरीको रुपमा महाप्रजापति गौतमीको जन्म भएको थियो । कपिलवस्तुका राजा शुद्धोदनसँग विवाह गरेका यिनि आफ्नो दिदि महामाया देवीको देहवसान पश्चात- उहाँका पुत्र सिद्धार्थ कुमारको सम्पूर्ण मातृत्व भार बहन गरि स्तन पान समेत गराई मातृ स्नेहरुपी शितल छहारी प्रदान गरि हुर्काउन सक्षम महाप्रजापति गौतमी बुद्ध माता बन्न सफल हुनुभयो ।
तथागत बुद्ध प्रथम पटक कपिलवस्तु नगरमा आउनु भएको बेलामा कपिलवस्तु दरवारमा भोजनोपरान्त दिनुभएको उपदेश सुनी महाप्रजापति गौतमी स्रोतापति फलमा प्रतिष्ठित भएकी थिइन् । यहिँबाट महाप्रजापति गौतमीको धार्मिक शान्ति यात्रा सुरु भएको थियो- आफ्नो छोरा नन्दकुमार र नाति राहुल पनि बुद्ध शासनमा प्रव्रजित भएर गए साथै शुद्धोदन राजा पनि परिनिर्वाण भैसकेको थियो । यि कारणहरुले गर्दा महाप्रजापति गौतमीलाई कपिलवस्तु दरवार शुन्य लाग्न थालिसकेको थियो । भौतिक सुख सुविधाले पूर्ण कपिलवस्तु दरवारमा अब कुनै रौनक र सुखको अनुभव गर्न नसकेपछि प्रवजित हुने आफ्नो तिब्र चाहानलाई तथागत सामु तीन पटक सम्म ब्यक्त गर्दा पनि अनुमति पाउन सक्नु भएन । तर पनि आफ्नो प्रवजित हुने तिब्र चाहानालाई साकार गर्ने सामर्थ लिइ कपिलवस्तु नगरबाट करिब ५१ योजन टाढा रहेको बैशाली नगरमा ५०० जना शाक्य स्त्रीहरूको साथमा केश क्षौर गरि, गेरुवा वस्त्र धारण गरि पैदल नै जानुभई भगवान बुद्ध कहाँ आनन्द भन्तेको सहयोगबाट अष्ट गरु धर्मलाई स्वीकार गरी बुद्धमाता महाप्रजापति गौतमी प्रवजित हुनु भई बुद्ध शासनको प्रथम भिक्षुणी हुनुभयो ।
८० बर्षको उमेरमा प्रवजित हुनुभएकी भिक्षुणी महाप्रजापति गौतमीले धर्मको अभ्यास गरि चाँदै नै प्रतिसम्भिदा सहित अर्हत फलमा प्रतिष्ठित हुनुभयो । यसरी प्रव्रजित जीवनलाई सार्थक बनाई, धेरै असंख्य नारीहरूको कल्याणको लागि, मुक्तिको लागी, निर्वाण साक्षात्कार गर्नका लागी नेतृत्वदायी भूमिका निभाउनु भई, बुद्ध शासनको चार पांग्रामध्ये दोस्रो पांग्रा भिक्षुणी शासनको लागी बलियो जग बनाई, चीर रात्रज्ञ भिक्षुणी श्राविकाहरू मध्येमा महाप्रजापति गौतमी अग्र हुनुभयो । यसप्रकार बुद्ध माता हुनुभई आफ्नो मातृत्व वात्सल्य पुरा गर्नुभएका महाप्रजापति गौतमी- भिक्षुणी भाव अनि सम्पूर्ण विनय नियम, कर्तव्य पुरा गर्नुभई १२० वर्षको उमेरमा जीवनको अन्तिम समयमा बुद्धसामु क्षमायाचना गर्नु हुँदै “तपाई मेरो छोरा हो भने अर्कोतर्फ तपाई मेरो पिता हुनुहुन्छ ! हे वीर तपाईको सानी आमाले आफ्नो अर्थ प्राप्त गरी सकेको छ । तपाईको पाउमा म वन्दना गर्दछु ” यसप्रकार गाथाद्वाराबाट पनि आसय प्रकट गर्दै अनेक प्रकारले ऋद्धि प्रातिहार्य देखाउनु भई महापरिनिर्वाण हुनुभयो ।
सन्दर्भ सामाग्री-
१) भिक्षु अमृतानन्द, संक्षिप्त बुद्ध जीवनी, लुम्बिीनीः अन्तराष्ट्रिय बौद्ध समाज, २०५५,
२) आचार्य भिक्षु अमृतानन्द, धम्मपद, अनान्दकुटी विहार गुठी, (२०५७),
३) अनु. भिक्षु बोधिसेन (२०७२), अङ्गुत्तर निकाय, काशीमाया मानन्धर, चुन्ति मानन्धर, पूर्णलक्ष्मी मानन्धर र केशावती मानन्धर ।
४) भिक्षु धर्मगुप्त, (२०७१), परियत्ति शिक्षा, नेपाल बौद्ध परियत्ति शिक्षा परिषद् ।
५) आचार्य भिक्षु अमृतानन्त्र (२०६१), महाप्रजापति गौतमी, मोतिलाल शिल्पकार ।
६) भुवनलाल प्रधान, नेपालमा बुद्धधर्म, काठमाण्डौः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
७) मानन्धर, नानीमैंया (२०६३), नारी प्रति बुद्धका देन, श्री विश्वमान बज्राचार्य, परिवार ।