arrow

श्री पशुपतिनाथमा महाशिवरात्री

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७७ फागुन १३ बिहिबार
maha-shivaratri-final.jpg

गौरीघाट । नेपालीहरूको आराध्यदेव श्री पशुपतिनाथको दर्शनका लागि नेपाल अधिराज्यको कुना काप्चा तथा भारत लगायत अन्य देशहरूमा बसोबास गरिआएका हिन्दु धर्मावलम्बी आउने गर्दछन् । भारतका विभिन्न तीर्थस्थलहरूमा रहेको द्वादश ज्योतिर्लिङ्ग दर्शन गर्नाले सप्त जन्मका पापबाट मनुष्यले मुक्ति पाउँछ भनिन्छ र त्यसरी दर्शन गर्ने होडबाजी नै चल्दछ । तर नेपाल आएर श्री पशुपतिनाथको दर्शन नगरीकन ती ज्योतिर्लिङ्ग दर्शन गरेको फल प्राप्त हुँदैन भनेर भारतबाट पनि दर्शन गर्न आउने चलन छ ।

श्री पशुपतिनाथको ज्योतिर्लिङ्ग उत्पत्तिका बारेमा हिमवतखण्ड लगायत पुराणहरूमा वर्णन गरिएको छ । छोटो चर्चा गरौँ, एक पटक ब्रह्मा र विष्णुका बिचमा को ठुलो भन्ने चर्चा भयो । श्री महादेवले प्रकट भएर   यो शिव लिङ्गको टुप्पो र फेद पत्ता लगाऊ अनि को ठुलो हुन्छ भन्ने निक्यौल हुन्छ भन्ने आशयको आकाशवाणी भयो । ब्रह्मा टुप्पो पत्ता लगाउन गए भने विष्णु फेद पत्ता लगाउन पाताल तिर गए । पातालमा उनले शेष नागलाई भेटे र उनको सल्लाह माने । किनभने यसको फेद पत्ता लगाउन सम्भव थिएन र विष्णु फर्केर आए । ब्रह्माले पनि सकेनन् तर उनले बहाना बनाएर आफूले भेट गरेका कामधेनु गाई, जपा कुसुम तथा केतुकीलाई साक्षी राखे ।
शिवजीले थाहा पाइ हाल्नुभयो र अव तिम्रो १ शिर हट्छ भनेर ब्रह्मालाई सजाय दिनुभयो भने केतुकी र जपा कुसुमलाई  अहिलेसम्म तिमीहरू मेरा प्यारा थियौ अव तिमीहरू मेरो प्यारा हुने छैनौ र तिमीहरू अव ममा चढिने पुष्पमा पर्दैनौ भनेर श्राप दिनुभयो । त्यसै गरी कामधेनुलाई पनि अव देखि तिम्रो मुख बिटुलो हुनेछ भन्ने श्राप दिनुभयो । जुन श्राप अहिलेसम्म पनि हाम्रो समाजमा लागू भइरहेको पाइन्छ । गाईको दूध पूजा आजामा चढाइन्छ, गोवर, गहुँत आदि अपवित्र वस्तुलाई पवित्र बनाउन प्रयोग गरिन्छ ।

शिवजीको श्राप पछि ब्रह्मा र विष्णुले उहाँको स्तुति गरे । स्तुतिबाट प्रसन्न भएर श्री शिवले उनीहरूलाई अव सृष्टि र स्थिति गर भनेर काम बाँडिदिनुभयो र आफू श्लेषमान्तक वनमा बस्छु भनेर अन्तर्धान हुनुभयो ।

भारतको केदारनाथमा दर्शन  गर्न जाँदा पनि त्यहाँ भेट भएका यात्रुहरूसँग तीर्थहरूको बारेमा चर्चा हुनु स्वाभाविकै हो । उनीहरू भन्छन्, 'भगवान् शिवको शिर त नेपाल पशुपतिनाथ नै हो नि? तपाईँहरू शीरको दर्शन गरेर पाउको दर्शन गर्न आउनु भएको छ ।' अहिले केही वर्षदेखि केदारनाथको शिर भक्तपुरको डोलेश्वरलाई पनि मानिँदै आएको छ ।

हामी निकट भविष्यमा नै नेपालमा महाशिवरात्री पर्व मनाउन गइरहेका छौँ । यस पर्वका लागि नेपाल तथा भारतका विभिन्न स्थलहरूबाट दर्शनार्थी आउँदछन् । यस महापर्वमा आउने साधु सन्तहरूलाई एकादशीको दिनदेखि बिदाइ दिइने दिनसम्म श्री पशुपतिनाथको भित्री प्राङ्गणमा राखिने चलन छ । बिदाइ दिँदा नगद, उपर्ना, मृग चर्म आदि दिने चलन छ । समय र परिस्थितिले गर्दा केही बस्तुहरूको ओसार पसारमा प्रतिबन्ध पनि लगाइएको हुनाले शायद त्यस्ता वस्तुहरू प्रदान नगरिने कुरा पनि सुनिएको छ । नागा साधुहरू निर्वस्त्र भए पनि भित्र प्राङ्गणमा नै बस्न पाउँछन् । वैरागीहरू भने आर्यघाट पारी राम मन्दिर क्षेत्रमा बसेको देख्न पाइन्छ ।  

यसका लागि सम्बन्धित कार्यालयले दाउरा, मुढा, तथा भोजन पानीको बन्दोबस्त गरिने चलन अद्यापि देखिन्छ । अहिले त झन् अनेक सङ्घ संस्थाले भोजन पानी, पाल आदिको बन्दोबस्त गर्ने चलन पनि आएको छ । यसै गरी आउने साधु, सन्तहरू कोही राजराजेश्वर घाट तथा कति त काल मोचन घाट, थापाथलीमा पनि बस्ने गर्दछन् । यस पवित्र दिनमा पवित्र शिव मूर्तिको दर्शन गर्न बिहानै देखि दर्शनार्थीको लाइन लागेको देख्न सकिन्छ ।

श्री शिवपुरी बाबा पनि यस दिनको महत्त्वको वर्णन गर्दै यस दिन शिवजी कुनै न कुनै रुपमा मन्दिर प्रवेश गर्नुहुन्छ र श्रद्धालुहरुले आशीर्वाद पाउने हुनाले शिवलिंग दर्शन गर्न नसके पनि प्राङ्गण या मन्दिरको मात्र दर्शन छुटाउनु हुन्न भनेर भक्तहरूलाई उपदेश दिनु हुन्थ्यो । यसरी लाइनमा बस्नेहरू कोही हर हर महादेव, कोही ओम नमः शिवाय, आदि जप गर्दै बस्छन् ।
(क्रमशः...)

(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तका संकलक हुन् ।) इमेल :aamodita@gmail.com



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ