arrow

अन्योलताकै बीच निर्वाचन आयोगका पाँच तयारी

मङ्गलवार पदाधिकारी बैठक

logo
प्रकाशित २०७७ फागुन २४ सोमबार
election-commission-nepal.jpg

काठमाडौँ ।  सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई वैधता दिएपछि निर्वाचन आयोगले पाँच रणनीतिसहित अघि बढ्ने तयारी गरेको छ । अदालतको फैसलापछि आयोगले सर्वोच्च अदालतबाट प्राप्त फैसलालाई आइतबार नै दर्ता गरिसकेको छ । आयोगले अब फैसला कार्यान्वयन गर्दै कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न मङ्गलवार पदाधिकारी बैठकसमेत बोलाएको छ । बैठकमा पाँच विषयलाई अघि बढाउने आयोगको तयारी छ ।

बैठकबाट आयोगले नेकपा एकतापछि दर्ता भएका एमाले र माओवादी केन्द्रलाई पार्टीको नाम र निर्वाचन चिन्हको विकल्प रोज्न लगाउँदै पत्र पठाउने, एकताअघिका दुवै दल एमाले र माओवादी केन्द्रलाई विवरण अद्यावधिक गर्न पत्र लेख्ने, कट्टेल नेतृत्वको दललाई मार्ग प्रशस्त हुनबाट रोकिएकोमा बधाई सहित आधार दिने, एमाले र माओवादीलाई एक हुन वा गाभिन चाहेमा पत्र पठाएर फेरी बोलाउने र उपनिर्वाचनपछि नेकपाबाट निर्वाचित भएकाहरूका विषयमा कानुनी परामर्श गर्ने गरी पाँच तयारी गरेको हो ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले कट्टेल नेतृत्वको नेकपालाई अब अदालतको फैसला अनुसार नै कामकारबाही अघि बढाउन मार्ग प्रशस्त गर्ने जानकारी दिए ।  ‘अदालतको पत्र आयो, अब ऋषि कट्टेल नेतृत्वको दललाई कामकारबाही अघि बढाउन सहज हुने गरी मार्ग प्रशस्त गर्छौ र अन्य विकल्पहरूमा आयोगअघि बढ्छ,’ आयोगका प्रमुख आयुक्त थपलियाले भने ।

आयोगले केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्र बीच २३ जेठ २०७५ मा पार्टी एकीकरणपछि बनेको दलको नाम नेकपा राखिदिएको थियो ।  त्यसपछि सो नाम आफ्नो दलको भएको भन्दै कट्टेलले निर्वाचन आयोगमा उजुरी गरेका थिए । तर आयोगले सुनुवाइ नगरेपछि कट्टेलले आधिकारिकता माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । कट्टेलले आफ्नो पार्टी निर्वाचन आयोगमा सुरुमा २२ साउन २०७० र नेपालको संविधान २०७२ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ अनुसार २२ भदौ २०७४ मा विधिवत् दर्ता भएको उल्लेख गरेका छन् ।

एउटा पार्टी दर्ता भइसकेको अवस्थामा आयोगले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच एकीकरण भएर बनेको दललाई २३ जेठ २०७५ मा आफ्नो पार्टीसँग नाम मिल्ने गरी नेपाल कम्युनिस्ट पार्टीकै नाममा दर्ता गरेको भनी कट्टेलले २१ मङ्सिर २०७५ मङ्सिरमा सर्वोच्चमा रिट दिएका थिए ।

त्यसपछि आयोगमा फेरी नेकपा एमालेको नामबाट सन्ध्या तिवारी र माओवादी केन्द्रको नामबाट गोपाल किराँतीले पार्टी दर्ता गराएका थिए । तिवारीले दर्ता गरेको दलको चिन्ह उदाउँदो सूर्य र किराँतीको दलको चिन्ह हँसिया हथौडा छ ।  तर,सर्वोच्च अदालतको आइतबारको फैसलापछि उनीहरूले समेत आयोगमा दर्ता गरेर पाएका पार्टीको  नामको समेत विकल्प खोज्नु पर्ने भएको छ ।
 
‘यो बीचमा एमाले पनि दर्ता भयो, माओवादी केन्द्र पनि दर्ता भयो, अब आयोगले संविधान अनुसार दर्ता खारेज गर्न मिल्दैन, अब उनीहरूलाई नाम र चिन्हमा विकल्प छान्न बोलाउँछौँ, दिएको समय भित्र नआए दर्ता कायम राखेर आयोगले नै नाम र चिन्ह तोकिदिन्छ ।’ प्रमुख आयुक्त थपलियाले भने ।

यसै गरी साबिकको दल एमाले र माओवादी केन्द्र लाईसमेत आयोगले पुनः एकीकरणमा जान चाहे राजनीतिक दल सम्बन्धी ऐनको दफा १० अनुसार एकीकृत हुन वा गाभिन निश्चित समय दिएर बोलाउने छ । आयोगले मङ्गलवार बस्ने बैठकबाट निर्णय गरेर एमाले र माओवादी केन्द्रलाई पत्र पठाउने तयारी गरेको हो ।

यस्तै दुवै दलबीचको पार्टी एकतापछि भएका विभिन्न तहका उपनिर्वाचनमा सूर्य चिन्हबाट निर्वाचित व्यक्तिहरूको कानुनी हैसियत के हुने भन्ने विषयमानसमेत आयोगले परामर्श गर्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ