arrow

तानातानमा जसपा : एकै समयमा बालुवाटार र बुढानीलकण्ठको निम्तो

पहिले कता जालान् जसपा नेताहरू ?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ फागुन २८ शुक्रबार
jaspa-janta-samajbadi-party.jpg

काठमाडौं। नेकपाको आधिकारिकता विवादको टुङ्गो सर्वोच्च अदालतले लगाएसँगै राजनीतिक परिदृश्य फरक हुँदै आइरहेको छ । यही परिदृश्यका बीच संसद्को चौथो ठुलो दल जनता समाजवादी पार्टी सत्ता समीकरणमा निर्णायक देखिएको छ । 

सत्ता समीकरणका लागि निर्णायक देखिएको जसपाका नेताहरूले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्ना शर्त राखिसकेका छन् । प्रधानमन्त्री ओलीसमेत जसपाले राखेका शर्तमा सहमत भएको दाबी गरिँदै छ । उनी जसपालाई विश्वासमा लिएर सत्ता टिकाउने मनस्थितिमा छन् । 

जसपाले प्रधानमन्त्री समक्ष रेशम चौधरीको मुद्दा फिर्ता र रिहाइ, मधेस आन्दोलनका आन्दोलनकारीहरूमाथि लगाइएका मुद्दा फिर्ता र संविधान संशोधन लगायतका शर्त राखेको थियो । 

संसद्को दोस्रो ठुलो दल कांग्रेस पनि जसपासँग सत्ता सहकार्यका लागि सक्रिय छ । कांग्रेस नयाँ सत्ता समीकरणमा माओवादी केन्द्र र जसपासँग सहयात्रा गर्दै अघि बढ्ने रणनीतिमा छ । सो रणनीति बनाउनका लागि कांग्रेसले आजै पदाधिकारी बैठकसमेत बोलाइसकेको छ । 

पदाधिकारी बैठकपछि आजै कांग्रेस सभापति शेरबहादुर देउवाले साँझ ४ बजे जसपाका नेताहरूलाई बुढानीलकण्ठ बोलाएका छन् । यसै गरी सोही समयमा प्रधानमन्त्री ओलीले समेत जसपा नेताहरूलाई बालुवाटार बोलाएका छन् । 

जसपा अध्यक्ष उपेन्द्र यादवले चार बजे छलफलका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको जानकारी दिए । 
‘चार बजे छलफलका लागि देउवा जीले बुढानीलकण्ठ बोलाउनु भएको छ, के कसरी अघि बढ्ने भन्ने विषयमा छलफल होला,’ नेता यादवले भने । 

जसपा नेतृ चन्दा चौधरीले चार बजे नै प्रधानमन्त्रीले छलफलका लागि बोलाएको जानकारी दिइन् । ‘प्रधानमन्त्रीले हिजो पनि बोलाउनु भएको थियो, आज पनि चार बजे बोलाउनु भएको भन्ने छ, हाम्रो बैठक सकिएपछि जाने कुरा छ,’ नेतृ चौधरीले भनिन् । 
कांग्रेसले बोलाएको समय पारेर नै प्रधानमन्त्रीले किन बोलाए भन्ने बारे जसपा नेताहरूले बोल्न चाहेनन्। समय जुध्नु संयोग हो वा अरु केहि भन्ने प्रष्ट भएको छैन। 

संसदमा जसपाको ३४ जना सांसद छन् । यो संख्या हालका प्रधानमन्त्री ओलीलाई सत्तामा टिकाइ राख्न र कांग्रेस र माओवादी केन्द्र बीचको गठबन्धन बनेमासमेत निर्णायक हो । हाल जसपा भित्र पनि सत्ता गठबन्धनबारे दुई धार देखिएको छ । जसपाका नेताहरू बाबुराम भट्टराई र उपेन्द्र यादव देउवा-प्रचण्डसँग सहकार्य गरेर अघि बढ्नु पर्ने मनस्थितिमा छन् भने  नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोसहित लक्ष्मणलाल कर्ण ओलीसँग नजिक देखिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ