arrow

प्रधानमन्त्री ओलीबाट अझै प्रतिगमनको खतरा छ : डा. खड्का

केपी ओलीसँग नफरत छैन, सहकार्य हुनसक्छ : कर्ण

logo
प्रकाशित २०७७ फागुन २९ शनिबार
narayan-khadka-congrss.jpg

काठमाडौँ। नेकपा (एमाले) का नव मनोनीत केन्द्रीय सदस्य तथा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले अब सांसद र मन्त्री पद गए पनि आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने स्पष्ट पारेका छन्। आज (शनिवार) रिपोर्टर क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले आफूहरूको लागि मन्त्री र सांसद पद ठुलो नभएको भन्दै सही विचार, सिद्धान्त र निष्ठाको राजनीति गर्ने र त्यो प्रधानमन्त्री ओलीसँग रहेकोले ओलीको साथ कुनै पनि हालतमा नछाड्ने स्पष्ट पारे । उनले भने,‘मन्त्री र सांसद पद जान्छ भन्ने हामीलाई चिन्ताको विषय होइन, ज्यान त छँदै छ नि । हामीलाई केही चिन्ता छैन।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्री ओलीले देशको विकास र समृद्धिको लागि सही एजेन्डा बोकेकोले आफूहरू एमाले पार्टी भन्दा पनि ओलीको विचारको पछि लागेको प्रतिक्रिया दिए । उनले तत्कालिन् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अन्तर्विरोध चर्किनुको कारण विचार र सिद्धान्त भन्दापनि अर्को पक्षले पद र प्रतिष्ठाको लागि मात्रै विरोध गरेको टिप्पणी गरे । 

मन्त्री रायमाझीले अब आफूहरू कुनै पनि हालतमा नेकपा (माओवादी केन्द्र) मा नफर्किने दाबी गरे । उनले माओवादी केन्द्रलाई ‘डोरी जलिसकेको र अब गाँठो मात्रै बाँकी छ’ को संज्ञा दिए । उनले प्रधानमन्त्री ओलीलाई तत्कालीन नेकपा (आफ्नै पार्टी) बाट सरकार र पार्टी चलाउन अवरोध गरिएको पनि आरोप लगाए । देशलाई अस्थिरतारतबाट बचाउनको लागि बाध्य भएर प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको भए पनि अदालतबाट आफूहरूले मुद्दा हारेको रायमाझीले सुनाए । अर्को नेकपाको नामको विषयमा पनि आफूहरूले मुद्दा हारेको उनले सुनाए । 

उनले आफूले मोहनविक्रम सिंहको पार्टीबाट राजनीति सुरु गरेको भन्दै यो बिचमा विभिन्न कम्युनिस्ट घटक हुँदै माओवादीसम्म आइपुगेको र अहिले माओवादीबाट एमाले भएको सुनाए । आफू सही विचार र नीतिको राजनीति गर्ने व्यक्ति भएकोले अहिले ओलीले बोकेको विचार सही भएकोले यता लागेको पनि रायमाझीले स्पष्ट पारे । तर, कम्युनिस्ट पार्टी छोडेर काँग्रेस वा राप्रपामा भने नजाने उनले विश्वास दिलाए । उनले अब माओवादी केन्द्रमा कुनै पनि हालतमा फर्कने सम्भावना नरहेको दोहोराए । 

तपाईँले क्यान्टोनमेन्टको १९ अर्ब भ्रष्टाचार भएको कुरा उठाउनुभएको थियो, तपाईँ त मन्त्री हुनुहुन्छ, जनतालाई यो विषयमा अलिक प्रस्ट पारिदिनुहोस् न भनेर पत्रकारले सोधेको प्रश्नमा उनले आफूले क्यान्टोनमेन्टको भ्रष्टाचारको कुरा प्रसङ्गवश उठाएको पनि स्पष्ट पारे । बुटवलमा आयोजित पूर्व जनमुक्ति सेनाहरूको भेला कार्यक्रममा प्रसङ्गवश त्यो कुरा उठेकोले आफूले पनि ‘यो विषय उठेको छ र यसको खोजीनिती हुनुपर्छ’ भनेको उनले सुनाए । 

उनले भने,‘उहाँहरूले त्यो भेलामा यो कुरा उठाउनुभयो । व्यापक रूपमा यो विषय उठाउनुभयो । पहिले पनि उठिराखेकै थियो । त्यो उठिसकेपछि त्यहाँको एउटा नेताको हिसाब, अतिथिको हिसाबले मैले भन्नुपर्ने कुरा आयो । हो, मैले भनेको कुरा के हो भने–हो, यी कुरा उठेका छन् । यस विषयमा कुनै न कुनै निकायले, यसको खोजीनिती हुनेछ । मैले यत्ति भनेको हो । मैले आँपै उब्जाएर भनेको होइन । उठेको प्रश्नको मैले यसरी जवाफ आयो ।’

त्यसो भए क्याबिनेटले अब १९ अर्बको खोजी गर्दैन ? भनेर पत्रकारले सोधेको अर्को प्रश्नमा उनले भने,‘हामी त्यसको अध्ययनमा छौँ । अब त्यो विभिन्न निकायबाट खोजी नीति होला, प्रश्न उठेको छ । त्यसको औचित्य र आवश्यकताको आधारमा त्यसलाई अगाडि बढ्छ होला ।’

फरक प्रसङ्गमा उनले आफूमाथि लोडसेडिङ गराएको आरोप लगाउने गरिए पनि त्यसमा कुनै सत्यता नभएको जिकिर गरे । बरु, आफू पहिलो पटक उर्जामन्त्री हुँदा ९९ बुँदे मास्टर प्लान ल्याएको र सोही गुरुयोजना अनुसार लोडसेडिङ अन्त्य गर्न मद्दत पुगेको दाबी गरे । उनले अब लोडसेडिङ हुने कुनै पनि सम्भावना नहरेको जिकिर गरे । आगामी भदौबाट नेपाल ऊर्जामा पूर्ण आत्मनिर्भर हुने पनि उनले घोषणा गरे । 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रभावशाली नेता, सांसद तथा पूर्व मन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोजिने भन्दै छिट्टै काँग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा नेपालबिच सरकार गठनबारे समझदारी हुने विश्वास दिलाएका छन् । 

नेता खड्काले संसद् विघटनजस्तो प्रतिगमनकारी कदम चालेका प्रधानमन्त्री ओलीले अहिले पनि आफ्नो निरन्तरताको लागि प्रयास गरिरहेको सुनाए । तर, अब एमालेबाहेकका दलहरूको सरकार बनाउनुपर्ने उनले सुनाए । र, अब बन्ने सरकारको नेतृत्व काँग्रेसले नै गर्ने पनि उनले स्पष्ट पारे । जनता समाजवादी पार्टी, नेपालका माग र मुद्दा सम्बोधन गर्नको लागि काँग्रेसले यसअघि पनि प्रयास गरेको भन्दै यसअघि संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावको पनि खड्काले चर्चा गरे । 

संसद् पूनःस्थापना भएपछि र सर्वोच्च अदालतको पछिल्लो फैसलाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग भएपछि जसपा नेपाल, सत्ता समीकरणको लागि ‘किङ मेकर’ को भूमिकामा रहेको उल्लेख गर्दै खड्काले प्रधानमन्त्री ओलीले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई नै प्रधानमन्त्री दिने भनेर ललिपप देखाएको पनि टिप्पणी गरे । 

उनले अहिले पार्टीभित्र पनि सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बनाउनुपर्छ भनेर आवाज उठेको र नेताहरूबिच सहमति भएको सुनाए । उनले काँग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धन बन्नेतर्फ सहमति उन्मुख रहेको प्रतिक्रिया दिए । प्रधानमन्त्री ओलीबाट अझै प्रतिगमनको खतरा देखिएको पनि उनले चित्रण गरे । उनले भने,‘नेपाली आकाशमा खतराको बादल मडारिरहेको छ । यस खतरालाई सबै मिलेर परास्त गर्नुपर्छ ।’

नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई पनि म्यानेज गर्न नसक्ने ठोकुवा गरेका छन् । प्रधानमन्त्रीले संसद् पूनःस्थापना भएपछि तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्नेमा त्यसो नगरी स्वेच्छाचारी ढङ्गले अघि बढेको उनको टिप्पणी छ । 

नेता पौडेलले नेकपा माओवादी केन्द्रबाट ओली सरकारमा मन्त्री बनेकाहरूलाई फिर्ता हुन लिखित निर्देशन दिइएको सुनाए । र, अर्को पार्टीमा लागेको भन्ने सूचना भएकोले त्यसबारेमा स्थिति के हो भनेर स्पष्ट पार्नको लागि २४ घण्टाको पनि समय दिइएको उनले जनाए । उनले अब नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपा नेपालको संयुक्त सरकार बनाउनुपर्ने पनि धारणा राखे । उनले भने,‘हामीले सम्भव हुन्छ भने काँग्रेस, माओवादी केन्द्र र जसपाको सरकार बनाउनुपर्छ भनेका छौँ ।’

तर, प्रधानमन्त्री ओलीले आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिन प्रयास गरेको सुनाउँदै उनले कतै प्रधानमन्त्री ओली अल्पमतमा पर्ने भए भने नेपालमा अदृश्य घट्न पनि घट् नसक्ने पौडेलको टिप्पणी छ । उनले आफूहरूले सरकारको नेतृत्वको दाबी नगरेको पनि स्पष्ट पारे । उनले काँग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर जो भए पनि आफूहरूलाई कुनै आपत्ति नहुने सुनाए । 

उनले प्रधानमन्त्री ओलीले जसपाको माग र मुद्दा कुनै पनि हालतमा सम्बोधन नगर्ने पनि ठोकुवा गरे । ‘जसपाको माग हामीले पूरा गर्छौँ’,उनले भने,‘ओलीले त कुनै पनि हालतमा गर्दैनन् ।’ प्रधानमन्त्री पद टिकाउनको लागि ओलीले जस्तोसुकै सम्झौता गर्न सक्ने उनले बताए । तर, सम्झौता भएको भोलिपल्टबाट त्यसलाई लत्त्याउने पनि उनले ठोकुवा गरे । विप्लव र सिके राउतलाई वार्ता गरेर सहमति गरेकोमा भने उनले ओलीको कदमको प्रशंसा गरे । तर, विप्लवका माग सरकारले पूरा नगरेको उनको भनाई छ । 

फरक प्रसङ्गमा उनले आफ्ना पार्टीका अध्यक्ष पुष्पकमल दाहालले फेरि हतियार उठाउने कुरा नगरेको जिकिर गरे । उनले भने,‘उहाँले हतियार उठाउने कुरा गर्नुभएको छैन । बरु, काठमाडौँ बस्न अलिक कम गरेर जनताको माझ बस्नुपर्छ भन्नुभएको हो ।’

जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले आफ्नो पार्टी सबैसँग छलफलमा रहेकोले अहिले नेकपा (एमाले), नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) सँग निरन्तर छलफलमा रहेको बताएका छन् । आफूहरूले अघि सारेका माग र मुद्दा सम्बोधन हुनुपर्ने आफूहरूको मुख्य एजेन्डा रहेको पनि उनले सुनाए । 

नेता कर्णले आफूहरूसँगको छलफलमा प्रधानमन्त्री ओली सकारात्मक रहेको पनि प्रतिक्रिया दिए । उनले भने,‘हाम्रो माग र मुद्दामा उहाँले म सकारात्मक छु भन्नुभएको छ । तर, ठोस सहमति भएको छैन । तर, उहाँले मुद्दा फिर्ता र कैदी बन्दी रिहाइको लागि संविधान र कानुनअनुसार अघि बढ्ने प्रतिक्रिया दिनुभएको छ ।’ उनले आफूहरूले अहिले नै प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने भनेर नभनेको पनि सुनाए । उनले भने,‘हाम्रो माग पूरा गर्नुभयो भने समर्थन हुन्छ । तर, उहाँहरूको एउटै पार्टीमा पनि एकरूपता छैन । अहिले हामीले घटनाक्रमलाई बडो नजिकबाट हेरिराखेका छौँ । दुई÷चार दिनभित्र बैठक बसेर यस सम्बन्धमा निर्णय लिन्छौँ ।’

उनले केपी ओलीलाई आफूहरूले कुनै भेदभाव नगर्ने पनि टिप्पणी गरे । उनले भने,‘उहाँसँग हामीलाई कुनै नफरत छैन, भेदभाव छैन । अछुतो पनि छैन । माग पूरा गर्नुभयो भने सहकार्य हुन्छ ।’ उनले प्रधानमन्त्री ओलीले आफूहरूलाई सरकारमा सहभागी हुन वा समर्थन गर्न आग्रह गरेको पनि जानकारी दिए । 

उनले आफूहरू संसद्को पूरा कार्यकाल नै संसद् चल्नुपर्छ भन्ने पक्षमा रहेको सुनाए । यद्यपि संसद् चल्नै सक्ने अवस्था भएन भने निर्वाचनबाट भागेर पनि नजाने उनको प्रतिक्रिया थियो । उनले भने,‘हामी त यो प्रतिनिधिसभाको पूरा कार्यकालको पक्षमा छौँ । यदि संसद् चल्ने अवस्था भएन भने चुनाव त अन्तिम विकल्प हो।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ