arrow

बाबुरामसँगको सम्बन्ध ब्युँझाउन खोज्दै प्रचण्ड

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ चैत ४ बुधबार
baburam-bhattrai-jpg.jpg.jpeg

काठमाडौँ। जनता समाजवादीका सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीचको सम्बन्ध निकै पुरानो हो। माओवादी जनयुद्धमा यी दुई नेताले सँगै आन्दोलन गरे। १० वर्षीय जनयुद्धभर बाबुराम र प्रचण्डबीचको सम्बन्धमा आरोह अवरोह आइरह्यो। जे भए पनि दुई नेताको सम्बन्ध निकट रही रह्यो।

सङ्कट परेको बेला दाहालले पुरानो सम्बन्धलाई ब्युँझाउन प्रयास गर्दै छन्। सत्ता समीकरणमा अहिले जसपा निर्णायक देखिएको छ। यद्यपि जसपा एक्लैले केही गर्न सक्दैन। तर जसपा जोसँग मिल्छ, उसकै सरकार बन्ने सम्भावना प्रबल छ। त्यसैले भट्टराई लाई फकाउन दाहालले प्रयास गरी रहेका छन्। यसबीचमा दाहालले भट्टराई सँग पटक पटक भेट गरेको स्रोतको भनाइ छ। पछिल्लो पटक भट्टराईलाई भेट्न दाहाल सोमबार भट्टराई निवास टोखामा पुगेका थिए। करोनाको खोप लगाए पछि भट्टराईलाई सन्चो भएन। सन्चो नभएको बेला स्वास्थ्य लाभको कामना गर्न भन्दै दाहाल टोखा पुगेका हुन्।

उपराष्ट्रपति नन्द किशोर पासाङले दाहाल र भट्टराईबिचको सम्बन्धलाई ब्युँझाउन मध्यस्थताको प्रयास गर्दै छन्। उपराष्ट्रपतिको सहयोग र समर्थन दाहाल तीर देखिएको छ। अघिल्लो महिना पासाङले दाहाल र भट्टराई दुबैलाई आफ्नो निवासमा बोलाई भेट गराएका थिए। त्यसपछि दाहाल र भट्टराइबीच पटक-पटक  एक्ला एक्लै कुराकानी भएको स्रोतको भनाइ छ।

माओवादी जनयुद्धभर सँगसँगै काम गरेका भट्टराई र दाहालबीचको सम्बन्ध माओवादी शान्ति प्रक्रियामा आए पछि भने धेरै लामो टिकेन। २०७४ को चुनाव अघि नै भट्टराई दाहालसँग विधिरत रूपमा छुट्टिएर नयाँ पार्टी खोले। तर, उनको नयाँ पार्टी चलेन। त्यसपछि उनी उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन सङ्घीय समाजवादी फोरममा एकीकृत भए। हाल भट्टराई जसपाको मर्यादाक्रममा पहिलो स्थानमा छन् तर उनको भूमिका निर्णायक हुँदैन। जसपाको निर्णय गराउन उनले उपेन्द्र यादव र महन्थ ठाकुरलाई मनाउनै पर्छ। पछिल्लो समय उनी उपेन्द्रसँग निकट मानिएका छन्।

नयाँ सरकार निर्माणको विषयमा जसपा हाल न यता न उता जस्तो भएको छ। पार्टीले स्पष्ट लाइन तय गरिसकेको छैन। पार्टी अहिले दुई कित्तामा बाँडिएको छ। एउटा कित्ताको नेतृत्व महन्थ ठाकुर, र राजेन्द्र महतोले गरेका छन्। उनीहरूको ओली सरकार प्रति झुकाव बढ्दै छ। अर्को कित्ताको नेतृत्व उपेन्द्र यादवले गरेका छन्। उनी नेपाली काँग्रेस र माओवादीसँग मिलेर सरकार साझेदार गर्ने इच्छुक देखिन्छन्। उपेन्द्रलाई बाबुराम भट्टराई ले साथ दिएका छन्। बाबुराम र उपेन्द्र कुनै पनि अवस्थामा ओली सरकारसँग मिल्ने पक्षमा छैनन।

यद्यपि, जसपाका धेरैजसो नेताहरूले यस पटक सरकारको नेतृत्व आफैले गर्नु पर्ने दाबी गर्दै आएका छन्। नेतृत्व गर्ने अवसर आएमा कसले गर्ने भन्ने विषयमा भने नेताहरू दुई लाइनमा बाँडिएका छन्। धेरै जसोले महन्थको नाम लिने गर्छन् तर महन्थलाई रोक्न यादव र भट्टराई लागिपरेका छन्।

सरकारको नेतृत्व गर्ने अवसर जसपाले पाएन भने कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा पनि जसपाका नेताहरू दुई कित्तामा बाँडिएका छन्। महन्थ र राजेन्द्र महतो निकट नेताहरू एमालेसँग मिलेर सरकार बनाउनु पर्ने पक्षमा छन् भने बाबुराम र उपेन्द्र निकट नेताहरू नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउनु पर्ने अडानमा छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ