arrow

'सरकारलाई दिएको समर्थन फिर्ता हुदैन'

logo
प्रकाशित २०७७ चैत ४ बुधबार
dinanath-sharma.JPG

काठमाडौँ ।   नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले नयाँ प्रधानमन्त्रीको उम्मेदवार अघि नसरेसम्म आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारेका छन् ।

उनले आफूहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मात्रै समस्याको समाधान फिर्ता नहुने जिकिर गरे । उनले भने,‘समस्याको समाधान हामीले समर्थन फिर्ता  लिएर मात्रै हुँदैन । प्रधानमन्त्री हुन को तयार छ ? नभए ओलीजी नै हुनुहुन्छ । अरू दलहरूले हिम्मत गर्नुपर्‍यो । प्रमुख प्रतिपक्षी दल वेटिंग ईन गभर्मेन्ट हो । सत्ता पक्षले राज्य सञ्चालन गर्न सकेन भने, प्रतिपक्षी हिम्मत गरेर आउनुपर्‍यो नि । हामी त नेकपा सरकारमै थियौँ ।’ तर, आफूहरू अहिले सरकारमा नभएको उनको भनाई छ ।

माओवादी केन्द्रका साथीहरू एमालेमै समाहित भएको पनि उनले सुनाए । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिच भोलि फेरि एकता पनि हुनसक्ने उनले सम्भावना सुनाए । सरकारमा सहभागी भएका माओवादी केन्द्रका साथीहरूलाई आफूहरूले पार्टीमा फर्कन अनुरोध गरेको सुनाए । उनले नेकपा एमाले नफुटोस् भन्ने आफूहरूको चाहना रहेको सुनाए । उनले भने,‘आन्दोलन नफुटाऔँ । कांग्रेस पनि एक ढिक्का हुनुपर्छ । माोवादीलाई त्यस्तो समस्या छैन । एमालेभित्र देखिएको समस्या निषेध गर्नुहुन्न क्या ।’

सरकारको नेतृत्व गर्नेगरि कांग्रेस सभापति शेरबहादुर देउवा तयार भएर नआए आफूहरूले के गर्ने ? भन्नेबारे अहिले छलफल गरिरहेको स्पष्ट पारे ।  उनले पार्टीको नाम परिवर्तनबारे बैठकमा छलफल भए पनि त्यो एजेन्डा नभएको सुनाए । उनले अहिले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने कुरामा कुनै दाबी नगरेको पनि जिकिर गरे । कांग्रेस र जसपाले सहमति गरेर आउँदा आफूहरूको समर्थन हुने उनको भनाई छ ।

नेता शर्माले देशको राजनीतिक परिस्थिति अलि अलि गम्भीर नै रहेको सुनाए । उनले भने,‘नेकपाभित्र उत्पन्न विवादका कारणले राष्ट्रिय राजनीतिमा समस्या देखा परेको छ । अहिले हामी अलग अलग भयौँ । हामीले लामो प्रयत्न गरेर एकता गरेका थियौँ । अन्तरविरोधहरुलाई हल गर्ने कुरा जिम्मेवार नेताको काम हो । नेकपाभित्रका नेता पार्टीभित्रको अन्तर्विरोध हल गर्न असफल हुनुभयो । नेतृत्वकै सङ्कट हो । नेताहरूको सङ्कट हो । घर मुलीले सम्हाल्ने हो नि घरको समस्याको समाधान गर्ने कुरा । दुवै जना जिम्मेवार छन् । अलिकति बढी जिम्मेवार प्रधानमन्त्री ओलीजी हुनुहुन्छ । हामी विभाजित हुनुपर्ने स्थिति हो । मैले त मेरो नेता ओलीजीलाई मानेको थिएँ । अलग अलग हुँदा मलाई दुःख लागेको छ। तर, अब ओली कमरेडलाई मैले नेता मान्न सकिनँ । जनप्रतिनिधि संस्था, जनताको उत्साहका साथ मत दिए । दुई तिहाइको मत दिए । स्वयम प्रधानमन्त्रीले संसद विघटन गर्नुभयो । मलाई दुःख लाग्यो । संसद् विघटन गर्नुहुन्थेन । अहिले आन्तरिक विवादका कारण पार्टी विभाजन भयो । मैले प्रधानमन्त्रीलाई भनेको थिएँ कि तपाईँ पाँच वर्षको प्रधानमन्त्री हो । उहाँले संसद्मा बहुमत प्राप्त गर्नुहुन्थ्यो । तर, उहाँले संसद् फेश गर्नुभएन ।’

उनले नयाँ सरकार गठनको लागि सहमतिको आधारमा छलफल चलिरहेको सुनाए । तर, प्रधानमन्त्रीको टुङ्गो नलाग्दासम्म आफ्नो पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने जिकिर गरे । शर्माले भने,‘नयाँ सरकार बन्ने बाटो सिर्जना नभएसम्म समर्थन फिर्ता लिँदैन । सङ्कट निम्त्याउने मान्छे हामीलाई चाहिएको छैन । ओलीजीले संसद फेश गर्नुभएन । त्यो उहाँको एउटा कमजोरी भयो । संसद् पूनःस्थापना भएपछि उहाँ पछि फर्किएको भए, राजनीतिक एउटा सही बाटोबाट अघि बढ्थ्यो । हामीले सांसदबाट जबरजस्ती अवस्थाबाट हटाउनुपर्ने अवस्था आयो । प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गरेर । राजीनामा दिन मान्नुभएको छैन । उहाँसँग हठ छ, त्यो नै उहाँको कमजोरी हो । हठले मान्छेलाई बिगार्छ । आग्रह र पूर्वाग्रह नराखी अघि बढ्नुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ