arrow

व्यवसायीलाई ढकालको सुझाव : ‘सिङ्गल डिजीट’ ब्याजदरको उपयोग गर्नुस्, लगानी बढाउनुस्

logo
प्रकाशित २०७७ चैत ६ शुक्रबार
fncci-dhakal-birtamod.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले यतिखेर सिङ्गल डिजीटमा रहेको नेपालका बैङ्क तथा वित्तीय संस्थाको ब्याजदरको उपयोग गर्न र औद्योगिक तथा व्यावसायिक क्रियाकलापमा लगानी बढाउन नेपालका उद्योगी व्यवसायीहरूलाई सुझाएका छन्।

बिर्तामोड उद्योग वाणिज्य सङ्घको शपथ ग्रहण तथा पद हस्तान्तरण सभालाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले भने– नेपालका व्यवसायी साथीहरूलाई मेरो यो आग्रह छ कि अहिले नेपालमा ब्याजदर सिङ्गल डिजीटमा छ, यसको सदुपयोग गर्नुस् र आर्थिक क्रियाकलापहरूमा लगानी बढाउनुस्।

अहिलेको बेला भनेको यस्तो अवस्थामा व्यावसायिक क्रियाकलापहरूमा लगानी गर्ने र उद्योग व्यवसायलाई सस्टेन गर्न सघाउने समय हो, त्यसैले हामी सबैले अहिलेको यो नीतिबाट लगानी बढाउने काममा लाभ लिन सक्छौँ– उनले भने। वरिष्ठ उपाध्यक्ष ढकालले यो ब्याजदरका लागि नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कसँग लबिङ गरेको बताए।

उनले भने, नेपालमा लगानी गर्न र व्यावसायिक एक्टिभिटिजहरू बढाउनका लागि बैङ्कको ब्याजदर बढी भएको भनी देशका निजी क्षेत्रका व्यवसायीले गुनासो गरेपछि त्यसको अगुवाइ महासङ्घले गर्‍यो र म पनि एक उद्यमी एवं कमर्सियल बैङ्कको नेतृत्वकर्ताको हैसियतले पनि लागि परेँ, जसले गर्दा अहिले ब्याजदर अहिले सिङ्गल डिजीटमा आएको छ।

उनले स्मरण गर्दै भने, 'म एक कमर्सियल बैङ्कको अध्यक्ष भए पनि यो मेरो पनि एउटा प्रमुख मुद्दा थियो, म एक उद्यमी पनि भएको हिसाबले यसका लागि म व्यक्तिगत रूपमा पनि लागेको थिएँ, हाम्रो लबिङपछि यो नीति सम्भव भएको हो।

त्यसैले यो अवसरबाट हामीले लाभ लिन सक्ने अवस्था छ र हामी निजी क्षेत्रका प्रतिनिधिहरू यसबाट लाभान्वित पनि हुन सक्नुपर्छ, यो अवस्था साँच्चिकै देशका उद्योगी, व्यवसायीहरूले लाभ लिने नै बेला हो, उनले भने।

वरिष्ठ उपाध्यक्ष ढकालले झापा होस् या देशका अरू पनि क्षेत्र या जिल्लाका व्यवसायीले त्यहाँका स्थानीय सम्भावना र अवसरहरूलाई राम्रोसँग खोजी गर्नुपर्ने पनि बताए। 

उनले भने, 'व्यावसायिक तथा आर्थिक क्रियाकलापको अभिवृद्धिका लागि तथा उद्यमशीलताको विकास र विस्तारका लागि हामी व्यवसायीहरूले आ–आफ्ना स्थानीय स्थान र स्तरमा पनि अवसर र सम्भावना खोज्नुपर्छ, यसैबाट सुरु हुने उद्यमशीलताले नै देशको विकास सम्भव छ।

उनले नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वले ‘भिजन २०३०’ पेपर अघि सारेर मुलुकको निजी क्षेत्रका आवश्यकता र प्राथमिकता निर्धारण गरेर अघि बढ्ने नीति अख्तियार गरेको बताउँदै सो पत्रलाई प्रदेश स्तरमा पनि छलफलका लागि ल्याइने र त्यसमा निजी क्षेत्रका सबै साथीहरूको सुझावहरू समेटिने जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ