arrow

गिरिजाबाबुको हठ, स्वभाव र अडान : जसले गरायो ऐतिहासिक परिवर्तन 

logo
नारायण पौडेल
प्रकाशित २०७७ चैत ७ शनिबार
JP-Naryan.jpeg

जो छैन,उसैको स्मरण गरिन्छ । नेपालको पछिल्लो कालखण्डका शान्तिनायक गिरिजाप्रसाद कोइरालाको महाप्रस्थान भएको ११ बर्ष पुरा भयो । वि.सं. १९८१ साल आषाढ १८ गते भारतको टेडी गाउँमा जन्मिएका नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको वि.सं.२०६६ साल चैत ७ गते काठमाडौमा निधन भयो । नेपाली राजनीतिमा दुःखद संयोग धेरैपटक देखियो ।

उदाहरणका लागि नेपालको कम्युनिष्ट राजनीतिलाई मदन भण्डारीको आवश्यकता भएकै बेला उनको रहस्यमय दुर्घटनामा निधन भयो । त्यस्तै मधेशवादी आन्दोलनलाई गजेन्द्र नारायण सिंहको नेतृत्व खाँचो पर्दा उनको निधन भयो र नेपालको गणतन्त्र संस्थागत गर्नुपर्ने समयमा गिरिजाप्रसाद कोइरालाको अपरिहार्य आवश्यकता देखिएको अवस्थामा उनको पनि निधन भयो ।

लामो समय पार्टी नेतृत्व हाँकेका गिरिजाबाबुलाई काँग्रेसमा कार्यकर्तालाई एकताबद्ध राख्ने र माया गर्ने कुशल नेताका रुपमा चिनिन्छ । तथापी उनलाई काँग्रेसमा बीपी, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईपछिको रोलक्रममा राखिएपनि उनको विचार र हक्की स्वभावले उनी सँधै कार्यकर्तामाझ छाईरहे र त्यसैका कारण आफ्ना तीनै भाई मातृका प्रसाद कोइराला, बीपी कोइराला र गिरिजाप्रसाद कोइराला देशको प्रधानमन्त्री बन्ने इतिहास रचेकोमा गिरिजाप्रसादले पाँचपटक सम्म प्रधानमन्त्री हुने सौभाग्य मात्रै प्राप्त गरेनन् कि ऐतिहासिक जनआन्दोलन २०६२÷०६३ को नेतृत्व समेत लिए ।

गिरिजाबाबुको अडान जहिलेपनि चट्टाने हुने गर्दथ्यो । जसले यदाकदा बीपीलाई समेत अप्ठेरोमा पारेपनि नेतामा हुनुपर्ने निडरपन उनमा रहेकाले बीपी गिरिजाप्रसादको अडानमा सदैव खुशी भएको विभिन्न दस्तावेजहरुमा उल्लेख छ । वि.सं.२०१२ सालमा वीरगन्जमा सम्पन्न पार्टीको महाधिवेशनले प्रजातन्त्र, राष्ट्रियता र समाजवादको नीति तय गर्दै पार्टीलाई अगाडि बढाउन जिल्ला सभापतिहरुको निर्वाचन गर्ने क्रममा कोइराला मोरङ जिल्ला सभापतिमा चयन भए । वि.सं.२०१५ सालको पहिलो संसदीय निर्वाचनमा बीपीले ‘चुनाव लड्ने कि पार्टी संगठन गर्ने ?’ भनी सोध्दा गिरिजाप्रसाद कोइरालाले संगठन रोजे । उनको सांगठनिक क्षमता देखेर बीपीले भनेका थिए, ‘गणेशमानमा भएको त्याग र दृढता, किसुनजीको जस्तो निर्णय क्षमता र गिरिजाको जस्तो सांगठनिक क्षमताको बोलबाला काँग्रेसमा कायम भईरहने हो भने नेपालको प्रजातन्त्रलाई कसैले खोस्न सक्दैन ।’

यसरी गिरिजाबाबु कार्यकर्ता एकजुट गर्न सक्षम नेता थिए र बीपी कोइरालापछि उनले नै काँग्रेसलाई सफलतापूर्वक अघि बढाए । नेपाली राजनीतिमा सबैभन्दा बढी ताली, गाली खाँदै अन्त्यमा महानायकको उपाधि गिरिजाप्रसाद कोइरालाले पाए । साथै गणतन्त्रका धरोहर गिरिजाबाबु जनआन्दोलन ०६२/०६३ पछि काँग्रेसका मात्र नेता रहेनन् । उनको उचाइले सबै दलको एक्ला नेताको रुप लियो । त्यसैले राजनीतिक जीवनको उत्तराद्र्धमा उनी महान नेता बने र कुनैपनि प्रतिपक्षी दलका नेताहरुले उनको अगाडि सिधा उभिने हैसियत समेत राखेनन् ।

भारत र चीनसँगको सम्बन्धमा गिरिजाबाबुको सँधै स्पष्ट धारणा भएकाले खासै विवाद देखिएन । तर पश्चिमाहरुसँग उनको गुनासो थियो कि उनीहरु प्रजातन्त्रको कुरा त गर्छन् तर तेस्रो विश्वमा प्रजातन्त्रलाई दिगो रुप दिन रुचि देखाउँदैनन् । यसरी उनको व्यक्तित्वले मुलुकको छबि बढाएको थियो । जसले गर्दा उनी सत्तामा हुँदा वा नहुँदा पनि उनको धारणाप्रति अन्तर्राष्ट्रिय जगत सदैव चासो राख्दथ्यो ।

तत्कालिन अवस्थामा आफ्नो राजनीतिक जीवनलाई दाउमा राखेर माओवादीलाई शान्ति प्रक्रियामा ल्याएका गिरिजाबाबुको अडानले नै संसद पुनःस्थापना हुँदै मुलुकबाट राजतन्त्रको अन्त्य गराई गणतन्त्रको उदय गरायो । खासमा गिरिजाबाबु ‘दलहरु राजतन्त्र बोकेर हिँड्ने तर राजा भने पटकपटक प्रजातन्त्रको चीरहरण गरिरहने, त्यसैले राजतन्त्रलाई सदाका लागि अन्त्य गर्नुपर्दछ’ भन्ने निष्कर्षमा पुगेपछि मात्रै नेपालमा राजतन्त्रको अन्त्य भई गणतन्त्रको स्थापना भएको हो । हुनत गणतन्त्रका लागि थुप्रै नेताहरु लडे, थुप्रै शहीद भए, तर गिरिजाबाबु त्यस्ता नेतृत्वकर्ता भए जसको योगदानले नै गणतन्त्र आयो ।

राजनीतिक उचाइका कारण गिरिजाबाबु काँग्रेसको नेता मात्रै थिएनन् । सबै वामपन्थी र लोकतन्त्रवादी उनमा भरोसा र विश्वास गर्दथे भने अन्तर्राष्ट्रिय समुदायले पनि उनलाई नेपाली राजनीतिको केन्द्रविन्दु मानेको थियो । गिरिजाबाबु वास्तवमै हठी र निडर स्वभावका राजनेता थिए, जो टुट्न तयार भए तर झुक्न तयार भएनन् । त्यसैले नेपाली राजनीति शान्ति प्रक्रिया र संविधानसभामा प्रवेश गरेदेखि नै कोइरालाले सहमति, सहकार्य र एकताको सूत्रमा निरन्तर जोड दिँदै आए । त्यसैले सहमति, सहकार्य र एकता अनि शान्ति र संविधान निर्माण प्रक्रियाको सूत्रपात उनै गिरिजा प्रसाद कोइराला गरे । वास्तवमा सहमति, सहकार्य र एकता काँग्रेस, वामपन्थी र मधेसवादीबीचमा हुनुपर्दछ । यो नेपाली राजनीतिको वर्तमान कटु यथार्थ हो ।

राज्य तथा सरकारबाट गल्ती हुँदा होस् वा राजनीतिक दलहरुबाट गल्ती हुँदा होस्, आखिर मार पर्ने त सर्वसाधारण नेपाली र नेपाललाई नै हो भन्ने तथ्य राम्रोसँग बुझेका गिरिजाबाबुमा एउटा त्यस्तो दृढता थियो लोकतन्त्रप्रति कि उनले जस्तोसुकै अवस्थामा पनि लोकतान्त्रिक परिपाटी प्रतिको आफ्नो विश्वासमा कहिँकतै आँच आउन दिएनन् । संविधानमा बाँधिएको भनिएको राजतन्त्र असंवैधानिक रुपमा प्रस्तुत हुँदा राजतन्त्र नेपाली राजनीतिबाट सदाका लागि बिदा भयो । तर फ्रान्समा जस्तो राजतन्त्रका पक्षधर वा राजपरिवारलाई सखाप नगरी मुलुकको राजनीतिमा लागिरहनका लागि छुट दिनु नै गिरिजाबाबुको महान लोकतान्त्रिक निष्ठा थियो ।

गिरिजाबाबुको हक्की स्वभावका कारणले कतिपयलाई अप्ठेरो परेको थियो । उनको लोकतन्त्रप्रतिको निष्ठाका कारणले कतिपयलाई उनको व्यक्तित्व आफ्नो पक्षमा पार्न सकस पनि परेको हुँदो हो । उनको लोकतन्त्रप्रतिको सैद्धान्तिक तथा व्यवहारिक जीवन पद्धतीले कतिलाई काँग्रेस एउटा चपाउन कडा वस्तु पनि लागेको थियो । तर जीवनका उत्तराद्र्धमा उनमा बढ्दै गएको लोकतान्त्रिक मूल्य र मान्यताको बिस्तारित स्वरुपले नेपालमा गणतन्त्र र संघीयता स्थापित गरिदियो । यतिमात्रै नभई राजतन्त्रले गणतन्त्रका पक्षमा आफूलाई सहर्ष स्वीकार गरेको र नेपाली सेनाले समेत आफूलाई गणतन्त्रको पक्षमा अनुवादित गरेको त्यो ऐतिहासिक क्षण नेपाली राजनीतिको अनुपम समय थियो, जहाँ गिरिजाबाबु थिए ।

तत्कालिन नेकपा माओवादीको मान्यता विपरीत उसलाई लोकतान्त्रिक मूलधारमा ल्याउन गिरिजाप्रसाद कोइरालाले निभाएको भूमिका नेपाल र नेपालीले सयौं बर्षसम्म सम्झिरहने छन् । जसरी उनले सशस्त्र हिंसात्मक आन्दोलनमा विश्वास गर्ने दललाई शान्तिपूर्ण मार्गबाट नेपाली राजनीतिमा स्थापित गरे, त्यो उनको प्रजातान्त्रिक संस्कार, प्रजातन्त्रप्रतिको अटुट आस्था र अविचलित सिद्धान्त थियो । त्यस्तै नेपालको राष्ट्रिय सेना सदैव मेरा पक्षमा छन् भनी सँधै लोकतन्त्रलाई बन्धक बनाउने राजतन्त्र नेपालमा थियो भने जनवादी गणतन्त्रका लागि सशस्त्र युद्धरत माओवादी पनि सेना सहित यही देशमा थियो ।

तथापी गिरिजाप्रसाद जस्तो एउटा निहत्था व्यक्तिले सशस्त्र समूहलाई हतियार बिसाउन उत्प्रेरित गर्‍यो, राजालाई गद्दी छोड्न बाध्य पार्‍यो र दुवैथरिलाई लोकतान्त्रिक प्रणाली स्विकार गर्न बाध्य बनाए । यसरी आधुनिक हातहतियारले सुसज्जित सेनासहितको सशस्त्र युद्धरत माओवादी र नेपालको राष्ट्रिय सेनाबाट संरक्षित राजालाई लोकतन्त्रको स्वतन्त्र अभिभावकत्वमा शरण दिने दुवै काम एकैपटक एकैसमयमा गिरिजाप्रसादको नेतृत्वमा भएकै कारण उनलाई नेपाली समाजले सदैव सम्झनुपर्ने भएको छ ।

अर्कोतर्फ गिरिजाप्रसाद कोइरालाको उत्तराधिकारीको रुपमा काँग्रेस हाँकिरहेका शेरबहादुर देउवा उनै कोइरालाको निगाहमा आफ्नो राजनीतिक उचाई र प्रभाव बढाएका व्यक्ति हुन् । तत्कालिन पार्टी सभापति बीपी कोइरालाकै निगाहबाट २०२९ सालमा नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका देउवा २०३६ सालको जनमतसंग्रहपछि राजनीतिक जीवनबाट विरक्तिएको बेला बेलायतमा अध्ययनको अवसर दिलाईदिने पनि कोइराला परिवार नै थियो भने अध्ययनबाट फर्केपछि गिरिजाप्रसाद कोइरालाले नै गृहमन्त्री बनाईदिएका थिए । यतिमात्रै होईन, २०५२ सालमा राप्रपासँगको गठबन्धन सरकारमा गिरिजाप्रसाद कोइरालाले नै देउवालाई प्रधानमन्त्री बनाएका थिए । तर उनै देउवाले २०५९ साल जेठ ९ गते प्रतिनिधिसभा भंग गरी असार ४ गते आफै काँग्रेसको सभापति भएको स्वघोषणा गरी पार्टी विभाजन गराए । तैपनी कोइरालाले जनआन्दोलन २०६२/०६३ मा उनै देउवालाई साथमा लिएर २०६४ सालमा देउवालाई आफूपछिको वरिष्ठ नेता सहित ४० प्रतिशत अंश दिने गरी पार्टी एकिकरण गराए । तर आज तिनै देउवा गिरिजाबाबुको नाम लिन समेत हिच्किचाउन थालेका छन् ।

त्यस्तै शान्ति, संविधान र लोकतन्त्र गिरिजाबाबुको चाहना थियो र त्यो चाहना पूरा गर्नका लागि आपसमा एक भएर सहमतिका साथ अघि बढ्नुको कुनै विकल्प आज पनि छैन । हामी नेपालीले गिरिजाबाबुको सम्झना गर्दा एउटा साहसी, दृढनिश्चयी, आफ्नो विश्वासमा सदैव अटल र लोकतन्त्रका धरोहरका रुपमा उनलाई लिनुपर्दछ, बुझ्नुपर्दछ र बुझाउनुपर्दछ । लोकतन्त्रको विकल्प भनेको लोकतन्त्र मात्र हो भन्ने गिरिजाबाबु प्रतिको सम्मान भनेको नै लोकतन्त्रप्रतिको आस्था र सम्मान हो ।

गिरिजाप्रसाद कोइरालाको योगदान विराटनगर मजदुर आन्दोलनदेखि सशस्त्र युद्धमा होमिएर १७ हजार नेपालीको ज्यान लिने तत्कालिन नेकपा माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन गरेको साहस तथा चुनौतीका कारणले ऐतिहासिक छ । यतिमात्र नभई मुलुकमा गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता जस्ता महत्वपूर्ण परिवर्तनहरु उनले बोलेपछि मात्रै संस्थागत भएका थिए । यसर्थ उनको योगदानलाई नेपाल र नेपालीले कहिल्यै बिर्सन मिल्दैन । किनकी गिरिजाप्रसाद कोइरालाजस्तो दृढ अठोट भएको नेताका कारण मुलुकमा लोकतन्त्र/गणतन्त्र आएको हो ।

यसरी मुलुकको बिषम तरल राजनीतिक अवस्थामा सशस्त्र युद्धरत माओवादीसँग सम्झौता गर्ने, अन्तरिम संविधान ल्याउने, संविधान सभाको निर्वाचन गर्ने र मूलधारको राजनीतिमा आएको माओवादीलाई सत्ता सुम्पँदै आफू प्रमुख प्रतिपक्षमा बसेर उसलाई बाटो देखाउने काम गिरिजाप्रसाद कोइरालाले गरे र भने, ‘गिरिजाप्रसाद वा काँग्रेसले हारेर पनि देश तथा लोकतन्त्रले जितेको छ, यसैमा मलाई ठूलो खुशी छ ।’ यसर्थ आजको तेस्रो विश्वमा त्यस्ता नेता अहिलेसम्म नदेखिनुले पनि उनको अभाव नेपालमा महशुस भईरहेको छ । (लेखक अधिवक्ता हुन्) ।



नयाँ