arrow

नेपाल उद्योग वाणिज्य महासङ्घले स्टार्टअप एण्ड इनोवेशन समितिको गर्‍यो गठन

logo
प्रकाशित २०७७ चैत ९ सोमबार
fncci-startup-inovation-committee.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घले स्टार्टअपहरूको प्रवर्द्धन मार्फत मुलुकभित्र उद्यमशीलता विकास, रोजगारी सिर्जनामा कार्य गर्न वर्तमान कार्यकालमा स्टार्टअप एण्ड इनोवेशन समिति गठन गरेको छ। महासङ्घमा स्टार्टअप एण्ड इनोवेशन समिति पहिलो पटक गठन भएको हो। कार्यकारिणी समितिका सदस्य रंजितराज आचार्यको सभापतित्वमा गठित समितिमा स्टार्टअप एण्ड इनोवेशन क्षेत्रमा स्थापित युवा उद्यमीहरू संलग्न छन्।

समितिले नव उद्यमीहरूलाई अर्थतन्त्रको मूल प्रवाहमा जोडने, महासङ्घले आर्थिक रूपान्तरण मार्गचित्र मार्फत अगाडी सारेको प्रतिवर्ष ४ लाख रोजगारी सृजना गर्ने लक्ष्यलाई पुरा गर्ने कार्यमा सहयोग गर्ने, स्टार्टअप-उद्योग व्यवसायको बारेमा अध्ययन गर्ने, मुलुकभित्र नवीनतम सोचसहितको उद्यमशीलता प्रवर्द्धन गर्न उद्योग मन्त्रालय अन्तरगत लगानी प्रवर्द्धन महाशाखासँगको सहकार्यमा स्टार्टअप नीति निर्माणका लागि पहल गर्ने, नयाँ सोच सहित केही गर्न अघि सरेका नव उद्यमीहरूको पहिचान गरी उनीहरूलाई अगाडि बढ्न आवश्यक पुँजी लगानी स्वरूप जुटाई सहयोग गर्ने लगायतका महत्त्वपूर्ण कार्यहरू गर्ने समितिले जनाएको छ।

समितिका कार्यक्रमहरू :
फिफ्टी इन्वेस्टर्स फिफ्टी बिजनेस:
नवीन सोचमा आधारित रहेर उद्यम गरिरहेका ५० वटा स्टार्टअप-उद्योग व्यवसायहरूको व्यावसायिक सफलताका लागि समिति अन्तरगत रहेको इन्वेस्टर्स फोरम मार्फत ५० लगानीकर्तासँग साक्षात्कार गराई लगानी तथा व्यावसायिक साझेदारीका लागि कार्यक्रम तर्जुमा गरिएको छ। यसका लागि यही चैत्र महिनाको तेस्रो साताबाट आवेदन खुला गरिने छ। यसमा आवेदन दिन चाहने स्टार्टअप-उद्योग व्यवसायहरू कम्तीमा एक वर्ष र सो भन्दा बढी सञ्चालनमा आएको हुनुपर्नेछ। आवेदन सबै क्षेत्र (जस्तो कृषि, उत्पादनमूलक, सूचना प्रविधि, सेवा )का लागि खुला गरिने समितिका सभापतिले जनाएका छन्।

मेन्टरिङ प्रोग्राम :
स्टार्टअप-उद्योग व्यवसायहरू लगानीका लागि छनौट भई सके पश्चात् उनीहरूलाई लगानीकर्ता माझ पुर्‍याउन पहिलो तीन महिनाको मेन्टरशीप कार्यक्रममा समावेश गराइने छ। उद्यमशीलता सम्बन्धी परामर्श दिन लामो व्यावसायिक अनुभवी हाँसिन गरेका सफल २० जना मेन्टरहरूको सूची तयार गरिएको छ। एक स्टार्टअप-उद्योग व्यवसायलाई एक मेन्टरका हिसाबले २० स्टार्टअप-उद्योग व्यवसायलाई मेन्टरशीप कार्यक्रम अन्तरगत लामो व्यावसायिक अनुभव वटुलेका मेन्टरहरू मार्फत करिब ३ महिना परामर्श दिई उद्यम गर्न सक्षम बनाइनेछ।

मेन्टरशीपमा सफलतापूर्वक मेन्टरिङ पुरा गरेका स्टार्टअप-उद्योग व्यवसायलाई मात्र लगानी जुटाउनका लागि लगानीकर्ता माझ आफ्नो व्यवसायको प्रस्तुतिका लागि मौका प्रदान गरिने छ। केन्द्र बाहेक जिल्ला स्तरमा पनि स्टार्टअप-उद्योग व्यवसायलाई आवश्यक पर्ने मार्गदर्शनका लागि भर्चुअल माध्यमबाट मेन्टरहरू उपलब्ध गराइने महासङ्घको स्टार्टअप एण्ड इनोवेशन समितिले जनाएको छ।

फर्स्ट फ्राइडै टक :
प्रत्येक महिनाको पहिलो शुक्रवार हरेक क्षेत्रका सफल उद्यमीसँग स्टार्टअपहरूलाई सहयोग पुग्ने गरी ज्ञान शृङ्खलाको रूपमा प्रत्येक अङ्ग्रेजी महिनाको पहिलो शुक्रवार फर्स्ट फ्राइडै टक आयोजना गरिने छ। कार्यक्रम महासङ्घ सचिवालयमा दिनको ३ देखि ५;३० बजेसम्म चल्ने छ। कार्यक्रममा सफल उद्यमीहरू र यस क्षेत्रका विज्ञहरूको सहभागिता रहने छ। आगामी अप्रिल २ तारिखमा पहिलो कार्यक्रम आयोजना गर्ने कार्य तालिका छ र उक्त कार्यक्रममा हिमालयन जाभाका प्रमुख गगन प्रधानद्वारा सफल फ्रेन्चाइज बिजनेस मोडलका बारेमा प्रस्तुति सहित अन्तरक्रिया गर्ने कार्यक्रम छ।

सो कार्यक्रममा फ्रेन्चाइज बिजनेससँग सम्बन्धी स्टार्टअप-उद्योग व्यवसायलाई सहभागी गराइने छ। सो कार्यक्रममा सहभागितामा लागि महासङ्घको स्टार्टअप एण्ड इनोवेशन हेर्ने शाखामा सम्पर्क गरेर मात्र भाग लिन सकिने छ।

सपोर्ट  प्रोग्राम :
स्टार्टअपहरूलाई आवश्यक पर्ने स्रोतसँगै अन्य आवश्यक कार्यक्रमहरू उपलब्ध गराउन महासङ्घकै सचिवालयमा इन्क्यबेशन सेन्टर स्थापना गरी प्रदान गरिने छ। महासङ्घको आई हब सेन्टर आगामी वैशाखबाट इन्क्यबेशन सेन्टर का रूपमा समेत सञ्चालन हुनेछ। महासङ्घ सचिवालयको माथिल्लो तल्लामा रहेको ब्याम्बो हाउसको को-वर्किडग स्पेसका रूपमा सञ्चालनमा ल्याइने छ। महासङ्घका केही जिल्ला उद्योग वाणिज्य सङ्घहरूमा पनि इन्क्यबेशन सेन्टर स्थापना गर्ने योजना रहेको जनाएको छ।

नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, आइएलओ, इसीमोड, काठमाडौँ महानगरपालिका, केयू, अन्तर प्रेरणा र जिल्ला उवासंघहरू साझेदार संस्थाहरूको रूपमा रहने छन्।

स्टार्टअप डाइरेक्टरी :
विभिन्न सङ्घ-संस्थाको समन्वयमा स्टार्टअप डाइरेक्टरी बनाउने र डाइरेक्टर मार्फत आफूलाई चाहेको स्टार्टअपसंग सम्पर्क गरी लगानी गर्न सक्ने अवसर सिर्जना गरिने समितिले जनाएको छ।

पोलेसी  इन्टर्वेन्शन :
नेपालमा नवीन सोच सहित स्टार्टअप-उद्योग व्यवसाय सुरु गरेका उद्यमी व्यवसायीहरूका वास्तविक समस्या तथा चुनौतीहरूका विषयमा छलफल गरी सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका विषयमा सुझाव तयार गर्ने र यस क्षेत्रका लागि हुनुपर्ने नीतिगत सुधारका विषयमा सुझाव पेस गरिने छ। यस क्षेत्रको विकास विस्तारका लागि आवश्यक नीति कानुन निर्माणमा सरकार सँग सहकार्य समेत गर्दैछौं।

मुलुकभित्र औद्योगिक विकास, व्यावसायिक सोचको विस्तार नभएसम्म समृद्धि आउन सक्दैन। रोजगारी सृजनाका लागि उद्यमशीलता प्रवर्द्धन आवश्यक छ। उद्यमशीलताको प्रवर्द्धनका लागि नवीनतम सोच भएका युवाहरूलाई सहयोग गर्ने तर्फ ध्यान केन्द्रित गर्नु जरुरी छ।

नेपालमा पछिल्लो पटक नवीनतम सोचमा आधारित उद्यम व्यवसायमा बिस्तारै बढोत्तरी हुँदै आएको पाइन्छ। पछिल्लो ५ वर्षमा नेपालमा स्टार्टअपहरू राम्रो फस्टाएको कुरालाई विभिन्न अध्ययनहरू समेत देखाएको छ।

खास गरी महाभूकम्प र कोभिड पश्चात् नेपालमा पनि स्टार्टअप व्यवसायले गति लिन थाल्यो। प्रविधिमा आधारित साना तथा मझौला व्यवसायहरू उच्च वृद्धि भइरहेको देखिन्छ। विश्व इनोभेसन सुचकाड्ढमा नेपाल १२६ देशहरू मध्ये १०९ औँ स्थानमा देखिन्छ।

नेपालमा स्टार्टअपको अवधारणा अहिलेसम्म पनि नयाँ नै छ। हरेक वर्ष स्वदेश तथा विदेशका विश्व विद्यालयबाट समेत आफ्नो अध्ययन पुरा गरेर आउने सङ्ख्या निकै ठुलो छ। युवाहरूमा नवीनतम सोच अत्यधिक रहेको पाइन्छ। अहिले स्टार्टअप थालेका उद्यमीहरू २५ देखि ४० वर्षका युवाहरू र उनीहरू विदेशका प्रतिष्ठित शैक्षिक संस्थाहरूमा अध्ययन गरी आएका नै अधिक पाइन्छन्।

स्टार्टअपको सुरुवात गरेका उद्यमीहरूका अनुसार नेपालमा पुँजीको सहज उपलब्धता, करको उच्च दर, स्टार्टअप मैत्री नीतिको अभाव, नियामक अवरोधहरू र नयाँ सुरुवात गर्न लाइसन्सको समस्या मुख्य चुनौती रहेको छ।

उद्यमशीलता विकासका लागि आवश्यक पुँजी जुटाउन साना तथा मझौला व्यवसायीलाई पनि बजारमा प्रवेश गराउनु पर्छ। नेपालमा उद्यमशीलता वृद्धिका लागि आवश्यक पुँजी लगानी गर्ने प्रवृत्तिको अभाव छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ