- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोभिड १९ महामारीको दोस्रो लहरको सम्भावना बढेसँगै सरकारले देशभर नियन्त्रणका लागि कडाइ थालेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सूचना अनुसार गृह मन्त्रालयले ७७ वटै जिल्लामा सचेत आफू मातहतका निकायहरूलाई निर्देशन दिएपछि देशभर नै कडाइ भएको हो ।
खास गरी छिमेकी मुलुक भारतमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण अत्यधिक बढेपछि सीमा जोडिएका जिल्लामा बढी सजगता अपनाइएको हो ।देशभर नै सीमामा हेल्थ डेस्कलाई सक्रिय गरिएको छ भने, नेपाल भित्रिनेहरूको स्वास्थ्य चेक जाँचमा र आरडिटी, एन्टिजेन टेस्ट गर्ने तयारी समेत भएको छ ।
सुदूर पश्चिम प्रदेशको मुख्य नाकाका रूपमा रहेको गड्डाचौकी र गौरीफण्टामा हेल्थ डेस्क सक्रिय भएको छ ।सबै नाकाबाट भित्रिनेहरूलाई लक्षण नदेखिए पनि स्वास्थ्य मापदण्ड पालना गरेर होम आइसोलेसनमा बस्न समेत निर्देशन दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सूचना अधिकारी कृष्णानन्द जोशीले नाकाबाट भित्रिनेहरूको अभिलेख राखिने, स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको बताएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले दुवै नाकामा हेल्थ डेस्क सक्रिय भएको बताएका छन् । उनका अनुसार गौरीफण्टा नाकामा पाँचदेखि ५ र गाड्डाचौकी नाकामा चारदेखि पाँच जना स्वास्थ्य कर्मी रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले पनि नाकामा आज मात्रै कडाइ गरिएको बताएका छन् ।बाँकेको जमुना नाकाबाट दैनिक आठ सयको हाराहारीमा मानिसहरू नेपाल भित्रिरहेको प्रजिअ कुरुम्वाङले बताए ।
अहिले नाकाबाट भित्रिनेहरूको अभिलेख राख्ने, स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको उनले बताएका छन् । नाकामा सुरक्षा निकाय र स्वास्थ्य कर्मी खटिएका छन् । कुनै किसिमको लक्षण देखिएको व्यक्तिको आरडिटी परीक्षण गरिने र आइसोलेसनको व्यवस्था समेत गरिने उनले बताए ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले पनि नाकामा र जिल्लाभित्रै पनि सचेत रहन आह्वान गरेको बताएका छन् ।जिल्लाको मुख्य बेलहिया नाकामा हेल्थ डेस्क सक्रिय पारिएको उनले बताए ।
नेपाल भित्रिनेहरूको अभिलेख राखिने, स्वास्थ्य परीक्षण गर्ने र सो अनुसार सङ्क्रमणको शङ्कास्पद व्यक्तिलाई आइसोलेसन वा क्वारेनटिनमा राखेर उपचार गरिने उनले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले इनरुवा, छपैडिया, पथलैयालगायतका मुख्य नाकामा हेल्थ डेस्कको व्यवस्था भइरहेको बताएका छन् ।
अहिले इनरुवामा मात्रै हेल्थ डेस्क सक्रिय रहेको र अन्य नाकामा एक दुई दिनभित्रै हेल्थ डेस्क तयार भइसक्ने उनले बताए ।
भारतबाट भित्रिने मानिसहरुको स्वास्थ्य चेक जाँच गर्ने, अभिलेख राख्ने र कुनै लक्षण देखिएमा आरडिटी परीक्षण गरे आइसोलेसनमा राख्ने किसिमले कडाइ भएको तामाङले बताए ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले पनि जिल्लाका दुवै नाकामा कडाइ भएको बताएका छन् ।मुख्य काँकडभिट्टा नाकामा हेल्थ डेस्क पहिलेदेखि नै रहेको र अहिले थप सक्रिय पारिएको उनले बताए ।
नाकाबाट भित्रिने हरेक मानिसको अभिलेख राख्ने, स्वास्थ्य परीक्षण गर्ने र सङ्क्रमणको शङ्कास्पद व्यक्तिलाई आइसोलेसन एवं क्वारेनटिनमा राख्ने उनले बताए । जिल्लाको कम सक्रिय नाका खजुरगाँठीमा पनि यसै किसिमको व्यवस्था भइरहेको उनले बताए ।
भारतमा कोरोना सङ्क्रमण बढ्दा नेपालमा पनि पक्कै नै बढ्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन् ।
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन हरेक व्यक्ति आफै सचेत रहनु पर्ने र पूर्ण रूपमा स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाको भनाइ छ ।
देशभित्र नै पनि सङ्क्रमण रहेका कारण देशभर भीड, गोष्ठी, भेलालगायतका कार्यक्रमहरू नगर्न र नगराउन स्वास्थ्य मन्त्रालयले आइतबार नै विज्ञप्ति जारी गर्दै निर्देशन दिइसकेको अवस्था छ ।
यस्तोमा भारतमा सङ्क्रमण बढ्दा नेपालमा पनि त्यहाँबाट थप सङ्क्रमण भित्रिन सक्ने सम्भावना भएका कारण सीमामा कडाइ गरिएको हो ।