- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सेरोमोनियल प्रतिपक्ष र सरकार कै स्लिपिङ पार्टनरको आरोप खेप्दै आएको प्रतिपक्षको मौनता आश्चर्य लाग्दो छ । सत्ता बिनाको कांग्रेस पानी बिनाको माछो भनिन्थ्यो तर प्रधानमन्त्री पद किस्तीमा राखेर ढोकामा विभिन्न पार्टी र नेताहरूले पुर्याउन जाँदा पनि काङ्ग्रेस सभापति मुख अमिलो पारेर बसेको भान सबैलाई परेको छ ।
यसो किन भयो त रु प्रधानमन्त्री पद र सत्ता यति बदनाम र चरित्रहीन भयो कि सत्ताको लागि जे पनि गर्छन् भनिने शेर बहादुर प्रधानमन्त्री पदप्रति आशक्ति देखाउन छाडेका छन् । शेरबहादुरले सत्तामा आशक्ति नदेखाउनु भनेको एक आश्चर्यको विषय सबैलाई लागेको छ । बारम्बार सत्ता मोहको बात लाग्ने देउवा किन सत्ताप्रति उदासीन बने रु यसबिच पार्टी सङ्गठन निर्माण गरेर बलियो भएर चुनावमा जान लागेको पनि होइन । बेफुर्सदी बनेर पनि होइन तर फुर्सदमा बसेर पनि सत्तातिर ध्यान नदिनु अलि उदेक लाग्दो नै कुरा हो विशेष गरी देउवाको सन्दर्भमा ।
ओली प्रतिस्थापनको हतारो गर्दैन काङ्ग्रेस । हिजो निकम्मा ओली भन्ने काङ्ग्रेस आज ओली विस्थापन गर्ने खाँचो देख्दैन । गज्जब छ राजनीति १ प्रमुख प्रतिपक्षी भए पनि संसद् र सत्ताको गणितमा काङ्ग्रेस निर्णयले सत्ता उल्टाउने हैसियत राख्दैन तथापि काङ्ग्रेसले सत्ताबाट ओलीलाई झार्ने निचोड निकाल्यो भने त्यसले राजनीतिक अर्थ र महत्त्व अवश्य राख्नेछ । अरू दलले पनि कांग्रेसको प्रतीक्षा गरिरहेका छन् । सफलता नै पाउनु पर्छ भन्ने छैन तर प्रतिपक्षको धर्म सत्तालाई राजनीतिक पासो थापिराख्नु हो । विडम्बना कांग्रेस भद्रता साँधेर रमिता हेरिरहेछ । या रमिता देखाइरहेछ ! आफ्नो भूमिका र अनिवार्यतालाई चुनाव मार्फत पुष्टि गर्ने रणनीति अख्तियार गर्दैछ कि के गर्दैछ कसैले भेउ पाउन सकेको छैन ।
कांग्रेस आफैमा अनिर्णीत बन्दैछ या यो बहाना बाजी र राजनीति भित्रको कूटनीति या परिपक्वता हो ? कतै अनिर्णय नै निर्णय त होइन ? यावत ढङ्गले प्रश्नहरू उब्जिएका छन् । प्रधानमन्त्री ओली निरङ्कुश बन्ने अभ्यासमा लागे भन्ने कांग्रेस आज ओलीलाई सत्ताच्युत गर्न अग्रसर छैन । आफ्नै एक कोखाका भाइ विद्रोही ओली इतर नेकपा र नेकपा एमाले खेमाका कमरेडहरू,ओलीलाई गलहत्त्याउन आफ्नो राजनीति जोखिममा राखेर लाग्दा पनि कांग्रेस यो अवसरलाई सत्ता उक्लने सुवर्ण मौका बनाउन चुकिरहेछ । बरु आफ्ना भाइ अंश खोस्ने ओलीका कमरेडहरू भन्दा देउवाप्रति ओलीको ठुलो भरोसा देखिन्छ ।
आफ्नो ४६ औं वर्ष अघिको चिनजान र परिचयको सम्बन्ध भजाएर ओली देउवासँग ढुक्क छन् । सत्ता पक्षमा ठुलो विग्रह र घर घर झगडा चलेको बेला प्रमुख विपक्षी चुप बस्नु राजनीतिमा विरलै हुने घटनाक्रम हो । कतै आम मान्छेले औंला ठड्याए झैं देउवा सत्ता अर्थात् ओलीका स्लिपिङ्ग पार्टनर नै हुन् त ? कि सेरोमोनियल विपक्षी मात्रै ? आजको विषम र गम्भीर राजनीतिमा देउवाको भूमिका र कांग्रेसको प्रतिपक्षी धर्म ठिक ठाउँमा छ या आफ्नो सम्भावित राजनीतिको खाडल खन्दैछ रु सत्ता असफल बनेको बेला तिमी छोड हामी चलाउँछौँ भन्नु प्रमुख विपक्षीको मूल धर्म नै हो । यद्यपि, पाँच वर्ष कांग्रेसलाई सत्ता चलाउने जनमत छैन तर जनमत पाएकाले ल्याकत देखाउन नसक्दा हामी छौँ भन्ने भरोसा दिने पालो प्रमुख विपक्षी कै हो ।
यहाँनेर नैतिकताको प्रश्न आउँदैन । बाध्यता र परिस्थितिको उपजको रूपमा हेरिन्छ । यसर्थ मध्यावधि चुनावमा मुलुकलाई लैजानु भन्दा कांग्रेस आफ्नो नेतृत्वमा सरकार बन्नु अन्यथा होइन, राजनीतिशास्त्र मान्यता विपरीत पनि हुन्न । मध्यावधि चुनावमा गएर सुविधाजनक बहुमत कांग्रेसको भित्री आकाङ्क्षा होला तर कम्युनिस्टहरूको अप्रत्याशित मिलन र बिछोड देखेको कांग्रेस पुन चुनावमा मोर्चा बनाएर कम्युनिस्ट एक भएर नजालान् भन्न सकिन्न । सिद्धान्त विहीन एकता र नाटकीय अभिनय कम्युनिस्टहरूको पहिचान र परिचय बनेको कुरा कांग्रेसले भुल्नु हुँदैन । कांग्रेस चुनाव आफ्नै बुताले जित्ने गरी सङ्गठित र बलियो निश्चय पनि छैन । तर कम्युनिस्ट फुट नै आफ्नो जितको आधार मान्छ भने त्यो गलत विश्लेषण हुनेछ । कांग्रेसले के सिक्नु र बुझ्नु जरुरी छ भने अरूको फुट बेमेलेमा होइन आफ्नै ल्याकत र धरातल बलियो बनेर प्राप्त हुने उपलब्धि मात्रै दिगो र बलियो हुनेछ । आफ्नो खुट्टाको आधार नै सबै जितको सुनिश्चित आधार र कारण हो । अरू निर्बल छन् तसर्थ म बलियो छु भनेर बुझ्नु चैँ कल्पनाको स्वाद मात्रै हो । यथार्थमा त्यो स्वादिष्ट नहुन सक्छ । जसको हेक्का कांग्रेसजनले प्रायः राखेको देखिन्न ।
जित्ने, जित्ने अवस्था हुँदा कांग्रेसमा उम्मेदवारका आकाङ्क्षी थुप्रै हुने र टिकट लिन अस्वस्थ प्रतिस्पर्धा रहने, गुटको भरण पोषण गर्ने धेरै रहनेछन् । टिकट नपाउनेले अन्तर्घात गर्ने र चुनाव हार्ने सम्भावना उत्तिकै देखिन्छ । उसै पनि अन्तर्घातको जननी कांग्रेस आफै हो । अन्तर्घातका उस्ताद काँग्रेसमा प्रशस्त छन् । तसर्थ कम्युनिस्टहरूको बेमेल नै कांग्रेसको चुनाव जित्ने आधार र कारण बन्दैन । आन्तरिक एकता र अन्तर्घात नगर्ने परिपाटीको कठोर प्रावधान र शपथ नलिई कांग्रेस मध्यावधि चुनावमा जानु भनेको पुनः अर्को पटक नराम्रोसँग पछारिने स्थिति नबन्ला भन्न सकिन्न ।
एकता नै बल हो कांग्रेसको मुख्य ध्यान यसमा जानु वाञ्छनीय देखिन्छ । अर्को कुरा कांग्रेसको १४ औं अधिवेशन कम विवादमा सम्पन्न हुनु जरुरी छ । महाधिवेशन चुनावी जित हारको तुष बोकेर चुनावमा कांग्रेस जानु भनेको मृत्यु पत्रमा हस्ताक्षर गरे बराबर नै हुनसक्छ । आपसी एकता, सुदृढ सङ्गठन र सफल महाधिवेशन पश्चात् मात्रै कांग्रेस चुनावमा जाने मानसिकतामा रहनुपर्छ जसको लागि मध्यावधि चुनाव होइन आवधिक चुनाव कांग्रेसको लागि अनुकूल हुनसक्छ ।
संसद्को सबैभन्दा ठुलो दुई तिहाइ नजिकको पार्टी फुटको राजनीतिक लाभ काङ्ग्रेसलाई मिल्ने त होला तर आज काङ्ग्रेस जुन मजाका साथ नेकपा फुट र नेकपा एकताको आधार भत्केर पूर्वमाओवादी केन्द्र र पूर्व एमाले बनेको र एमाले पनि दुई भागमा चिरा परेको जुन दृश्यमा रमाएको छ । यो आफ्नो पार्टीको सम्भावित सत्ता रोहणपछि सम्भावित परिदृश्य कांग्रेस आफ्नै नहोला भन्न सकिन्न । किनकि नेपालमा पार्टी फुट्न विशेष दिन र गतेको प्रतीक्षा गर्नु पर्दैन ।
देशलाई बोझ भएका ओली कांग्रेसलाई बोझ आज आएर भएनन् किन रु पदच्युत गर्न किन अघि सर्दैन काङ्ग्रेस । विपक्षीको धर्म के हो कसले सम्झाइदिने काङ्ग्रेसलाई ? पौडेल निकट नेताहरूले भनेको सुनिन्छ ‘सभापति प्रधानमन्त्री बन्नु सभापतिका आकाङ्क्षीहरूका लागि क्षति नै हो । तर तत्कालको क्षति व्योहोरेर पनि देउवालाई अगाडि बढाउन सबै तयार भएका छौँ । किनकि ओली सरकार रहँदा अझ ठुलो क्षति हुन्छ ।’
सभापति देउवाले पनि बैठक राखेर आधिकारिक धारणा बनाउन पहल नगरेपछि नेताहरूले आफ्नो अनुकूल धारणा राख्न थालेका छन् । कतिपय नेता कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने पक्षमा देखिए पनि संस्थापन इतरका बहुसङ्ख्यक नेताहरूले सरकार नै नबन्ने अवस्था आए गाँठो फुकाउनुपर्ने, तर सरकारमा जान नहुने धारणा राख्दै आएका छन् । ओलीलाई पदच्युत गर्ने र ओलीको पार्टीको अन्तर्द्वन्द्व चर्काएर कम्युनिस्टहरुलाई मिल्ने कुनै पनि बहाना र अवसर नदिन कांग्रेसको राजनीति र रणनीति केन्द्रित हुनु अनिवार्य देखिन्छ कांग्रेसलाई चुनावमा जित हासिल गर्नको लागि । कांग्रेसलाई आज होइन भोलिको सुविधाजनक बहुमत सहितको सरकार गठनको ध्येय हुनुपर्छ ।
आज कांग्रेस सत्तामा जाने होइन तर सत्ताबाट ओलीलाई ओराल्ने र सत्ता पक्षको द्वन्द्व उत्कर्षमा पुर्याएर आगामी चुनावमा उनीहरूलाई धुलो चटाउनु पनि हो । यो आज कम्युनिस्ट फुट र कांग्रेस भएर भनिएको कुरा होइन राजनीतिको यथार्थ र कुशलता सत्तामा पुग्ने कुटिल चाल र राजनीतिको छल हो । आफ्ना पक्षमा अवसर पार्न विपक्षीले गर्ने धर्म र निभाउने भूमिका यही हो । यसो गर्दा कतै संविधानको मर्ममा दुख्दैन । अवसर पाएकाले समयमा ल्याकत देखाउन नसक्दा कम अवसर पाएकाले हामी छौँ अब सुध्रिएर आयौं विश्वास गर्नुस् क्षमता हामी पुन प्रदर्शन गर्छौ भन्नु सामान्य राजनीति नै हुन जान्छ । कुनै असंवैधानिक र नन इथिकल राजनीति हुँदैन । सेरोमोनियल प्रतिपक्ष या सत्ताको स्लिपिंङ्ग पार्टनर रु या आगामी चुनाव पछिको बलियो सत्ताधारी दल कांग्रेसले आफ्नो रोल किटान गर्नु अपरिहार्य छ ।