- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। यही चैत ५ गते बस्ने भनिएको जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठक अझै बस्न सकेको छैन। चैत ५ गतको बैठक स्थगित गरे पछि जसपाका नेताहरूले होली पछि बैठक बस्ने बताएका थिए। तर होली पनि सिद्धि सकेको छ। बैठक कहिले बस्छ कसैलाई थाहा छैन।
कार्यकारिणी समितिको बैठक बस्न नसके पछि केन्द्रीय समितिको बैठक बस्ने त कुरा भएन। जसपाको केन्द्रीय समितिको बैठक अहिलेसम्म एक पटक पनि बस्न सकेको छैन। गत मङ्सिरमा ७ सय ७८ सदस्यीय केन्द्रीय समिति बनाइएको थियो। त्यसपछि बैठक बस्न सकेको छैन। केन्द्रीय समितिको बैठक बोलाउन केन्द्रीय तहका नेताहरूले बारम्बार भन्ने गर्छन् तर उनीहरूको कुरा कसैले सुन्दैनन्।
जसपा मा केन्द्रीय समिति, कार्यकारिणी समिति र ५ सदस्यीय शीर्ष नेताहरूको समिति बनाइएको छ तर तीन वटै तहका बैठक लामो समय देखि बस्न सकेका छैनन्। बैठक बस्न नसक्दा पार्टी अनिर्णयको बन्दी बनाइएको छ। पार्टीका नेता केशव झाले भने समायोजनको काम पूरा नभएकोले केन्द्रीय समिति तथा कार्यकारिणी समितिको बैठक बस्न नसकेको बताए। ‘तयारी पनि भएको छैन। समायोजनको काम पनि बाँकी छ’झाले भने,‘त्यसैले बैठक बस्न नसकेको हो।’
केही दिनमै बैठक बस्न दाबी उनले गरे। तर, यथार्थ कुरा उनले भनेको जस्तो होइन। पार्टीभित्रको विवादको कारण बैठक बस्न नसकेको हो। पार्टी अहिले प्रष्ट्र सँग दुई कित्तामा बाँडिएको छ। एउटा कित्ता माओवादी केन्द्रसँग निकट छ भने अर्को कित्ता एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट मानिन्छ।
कसलाई समर्थन गर्ने भन्ने विषयमै पार्टी भित्र विवाद छ। ‘बैठक बस्ने बित्तिकै पार्टी फुटको अवस्थामा आउँछ। एक पक्ष अर्को पक्षको अडानमा सहमत हुने अवस्था छैन’ पार्टीका एक पदाधिकारीले भने,‘त्यसैले बैठक बस्न नसकेको हो।’
पार्टीले कुनै महत्त्वपूर्ण निर्णय गर्न कार्यकारिणी समितिले पास गर्नु पर्ने विधानमा व्यवस्था छ। तर कार्यकारिणी समितिको बैठक नै बस्न सकेको छैन। कार्यकारिणी समितिको बैठक बोलाउने काम अध्यक्ष द्वयको हो। जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव अहिले फरक फरक कित्तामा छन्। दुवै नेताले अलग अलग कित्ताको नेतृत्व गरेका छन्। त्यसैले कार्यकारिणी समितिको बैठक बस्न सकेको छैन।
कार्यकारिणी समितिमा ठाकुर बहुमतमा छन् भने शीर्ष नेताको समितिमा यादव बहुमतमा छ। ५ जना शीर्ष नेताहरू मध्ये बाबुराम भट्टराई, यादव र अशोक राई माओवादी केन्द्रसँग निकट देखिन्छन्। बाँकी दुई नेता ठाकुर र राजेन्द्र महतो केपी ओलीसँग निकट देखिन्छन्। दुई लाइनको विवाद पार्टीभित्र चरम तहमा पुगेको छ।
विवाद बढ्दै गए पछि बैठक बोलाउने साहस पार्टीका नेताहरूले गरेका छैनन्। बैठक बस्न नसकेको कारण जसपा भित्र समायोजनको काम पनि हुन सकेको छैन। जसपाको सङ्गठन नै नभएको हुम्ला, धनकुटा, जस्ता हिमाली तथा पहाडी जिल्लामा मात्र समायोजन भएको छ। जसपाको प्रभाव भएको प्रदेश १ र लुम्बिनी प्रदेको एउटा जिल्लामा पनि समायोजन हुन सकेको छैन।
जसपाको बैठक बस्न नसके पछि जसपाले प्रधानमन्त्री ओली तथा माओवादी केन्द्रसँग गरिएको संवाद र कुराकानी बारेमा सम्बन्धित नेता बाहेक कसैले जानकारी पाउँदैनन्।
विवाद यतीसम्म बढेको छ कि, प्रधानमन्त्रीसँगको वार्तामा भट्टराई र यादव सहभागी हुने गरेका छैनन्। भट्टराई र यादव ओली सरकारलाई प्रतिगमनकारी सरकार भन्दै आएका छन्।