arrow

किन टाढियो सत्ता समीकरण कांग्रेसको एजेन्डाबाट ?

logo
बाबु नेपाली, 
प्रकाशित २०७७ चैत २० शुक्रबार
congress-leader3.jpg

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी मुख्यालय सानेपामा बस्दैछ ।यो बैठक नयाँ सत्ता समीकरणका लागि भने बस्ने छैन ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको १४ औं महाधिवेशनका बारेमा छलफल हुँदैछ । त्यस्तै समसामयिक विषय पनि समेटिने छ । 

समसामयिक विषयमा नयाँ समीकरणको विषय पर्छ कि पर्दैन भन्ने महत्वपूर्ण छ । नयाँ सरकार निर्माणबारे केन्द्रीय समिति बैठकमा छलफल हुने स्वभाविक भएको केन्द्रीय सदस्य रमेश लेखकले बताए । तर शुक्रबारको एजेन्डा यो विषयमा नभएको उनले स्पष्ट पारे । 

उक्त बैठकमा कांग्रेसको भदौमा हुने १४ औं महाधिवेशनका बारेमा छलफल हुनेछ । बैठकमा क्रियाशील सदस्यहरुको तालिकामा ढिलाई हुन जाँदा अन्य तालिका पनि प्रभावित हुने भएकाले तालिकासमेत हेरफेर हुने बुझिएको छ । 

देउवा सुस्ताएपछि 
कांग्रेस सभापति शेरबहादुर देउवाले जनमतले आफूलाई प्रतिपक्षमै बस्ने म्यान्डेट दिएकाले विपक्षमै बस्ने प्रतिक्रिया दिएका छन् । उनको यो पछिल्लो प्रतिक्रिया हो । त्यसअघिसम्म उनी पनि सत्ताको नेतृत्व कांग्रेसले सम्हाल्न सक्ने बताएका थिए । 

कांग्रेस सरकारमा जानु हुन्न भनी वरिष्ठ नेता रामचन्द्र पौडेलले भनेका बेलामा देउवाले कांग्रेसको नेतृत्वमा सरकारमा जाँदा कांग्रेसलाई फाइदा नै हुने भन्दै सानो चित्त नगराउन आग्रह गरेका थिए । 

तर जब फागुन २३ गते सर्वोच्च अदालतले (नेकपा) लाई अवैधानिक भन्दै एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि एकाएक पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरुले पनि देउवाले सरकारको नेतृत्व सम्हाल्नुपर्ने आवाज बुलन्द बनेर आए । 

तर सरकारमा जाने सम्भावना कम हुँदै गएपछि देउवाले आफूलाई जनमतले विपक्षमा बस्ने आदेश दिएको भन्न थाले । 

फागुन २३ गते अगाडिसम्म तत्कालीन नेकपाको पुष्पकलम दाहाल प्रचण्ड–नेपाल पक्षले देउवाले प्रधानमन्त्रीको प्रस्ताव गर्दै पटक पटक भेटेको थियो । 

संसद विघटन गर्ने केपी शर्मा ओली नेतृत्वको सरकारलाई जसरी पनि बाहिर पठाउनु पर्ने उद्धेश्यले प्रचण्ड–नेपाल पक्ष तात्तिएर अगाडि बढ्दा जनता समाजवादी पार्टी (जसपा) नेपाललाई समेत मिलाएर सत्ता समीकरण गर्ने योजना बनाएको थियो । उसले कांग्रेसलाई नेतृत्व दिन तयारी गरेको थियो । 

देउवाले शुरुआतमा चासो नराख्दा कतै ओलीसँगै पो साँठगाँठ छ कि भन्ने आशंका पनि गरियो । किनकि देउवाले निकै सुझबुझ अपनाई मौन बस्न उपयुक्त ठाने । 

ओलीले आफूलाई दिएको समर्थन फिर्ता लिन भन्दासमेत माओवादी केन्द्रले अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । अनि यस्ता दलका नेता प्रचण्डसँग विश्वास गर्ने वातावरण नभएकोतर्फ देउवापक्ष सचेत भएको स्पष्टै हुन्छ । 

कांग्रेसलाई सत्ताको लोभी दलको रुपमा परिभाषित गर्ने कम्युनिष्टहरु नै हुन् । तर उनीहरु नै सत्ताको समर्थन फिर्ता लिन हिच्किचाइरहेका छन् । भलै ओलीले फेरि प्रचण्डसँग सहकार्य गर्ने कतै पनि सम्भावना देखिँदैन । 

आखिर किन टाढिँदैछ सत्ता समीकरणको एजेन्डा 
कांग्रेसलाई अहिले आफ्नो पार्टीको १४ औं महाधिवेशनको चटारो छ । तर यसकै कारणले कांग्रेसले सत्ताको भर्याङ हटाएर महाधिवेशनको सिँढी लगाएको होइन । 

किनकि २०७६ सालको फागुनमै गर्नुपर्ने १४ औं महाधिवेशन यो वर्ष त के अब २०७८ को भदौमा मात्रै हुँदैछ । भदौमा नगरे कांग्रेस कांग्रेसै नरहन सक्छ । 

पार्टीले वैधानिकता गुमाउँदा जोसुकैले पार्टी दर्ता गर्न सक्छ । 

यो परिस्थितिबीच कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले माओवादी केन्द्र र जसपाको कारण नयाँ सरकार निर्माणको प्रक्रिया शुरु हुन नसकेको बताएका छन् । 

उनले माओवादीले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता नगरेको अवस्था र जसपा वर्तमान सरकारलाई विस्थापन गर्ने विषयमा ठोस निर्णयका साथ नआएको कारणले नयाँ सरकार गठनको प्रक्रिया आरम्भ हुन नसकेको बताएका हुन् । 

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरेर र जसपा गणितीय रूपमा एकढिक्का भएर उभिएमा मात्रै कांग्रेसको नेतृत्वमा अथवा अरु कसैको नेतृत्वमा सरकार बन्ने अवस्था आउने शर्माको तर्क छ । 

‘माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता भइसकेपछि प्रधानमन्त्रीजीले विश्वासको मत लिनुपर्ने हुन्छ । नेपाली कांग्रेसले विश्वासको मत वर्तमान सरकारलाई पक्कै दिनेछैन,’ उनले भने, ‘संसदमा सरकारलाई दिएको समर्थन उहाँहरूले फिर्ता गरिसकेपछि बैठक बसेरै विधिवत् रूपमा यसको निर्णयमा पुग्नेछौँ ।’

वर्तमान सरकारले विश्वासको मत प्राप्त नगर्ने अवस्था भएको खण्डमा नयाँ सरकारको लागि ढोका खुल्ने र सत्ता समीकरणको विषय परिपक्व ढङ्गले जाने शर्माको भनाइ छ ।

उनले माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको र जसपाले गणितीय रूपमा एकढिक्का भएर उभिने संकेत प्रष्ट नगरेको अवस्थामा कांग्रेस प्रधानमन्त्री पदको लागि तयार नरहेको पनि बताएका छन् । 

माओवादीले छिट्टै समर्थन फिर्ता लेओस् भन्ने पक्षमै ओली छन् । उनी जसपाको एक पक्षलाई मात्र लिएर भए पनि बहुमतको सरकार बताउन तयार देखिन्छन् । 

जसपाका अध्यक्ष महन्थ ठाकुरलाई लिएर उनी सरकार बनाउने पक्षमा छन् । त्यसैले पनि ओली जेलमा रहेका जसपाका सांसद रेशम चौधरीलाई छोड्न तयार देखिएका छन् । 

जसपाका सीमित माग पूरा गरेर उनी सत्तामा लैजान आतूर छन् । ठाकुरले पनि आफूहरुका माग सत्तामै रहेको प्रधानमन्त्रीले पूरा गर्न सक्ने भन्दै अन्य दलहरुसँग उधारो सम्झौता नगर्ने बताइसकेका छन् । 

तर जसपाको डा. बाबुराम भट्टराई पक्ष भने ओलीसँग टाँसिन नजाने पक्षमा छ । भट्टराईले ओली सरकारलाई घाँस हाल्न नजाने बताइसकेका छन् । 

यसबाट पनि स्पष्ट हुन्छ कि कांग्रेसले यसै भनेर निर्णय गर्ने समय आएको छैन । सत्ता समीकरणको एजेन्डाबाट टाढिएकै उत्तम । 



नयाँ