arrow

जसपा सत्तामा कि विपक्षमा

महन्थ ठाकुर र उपेन्द्र यादवको विवादमा यादव अल्पमतमा

स्थापना दिवस फरक फरक स्थानमा हुने सङ्केत

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ चैत २९ आइतबार
mahant-thakur-uprendra-yadav.jpg

काठमाडौँ। जनता समाजवादी पार्टीभित्र बढ्दै गएको दुई लाइनको विवादमा पार्टी अध्यक्ष उपेन्द्र यादव अल्पमतमा परेका छन्। पूर्व समाजवादी पार्टीका सांसदहरूले समेत यादवलाई साथ छाडेका छन्। यादव कुनै पनि अवस्थामा केपी ओलीले नेतृत्व गरेको एमालेसँग मिल्ने पक्षमा छैनन्। उनले सार्वजनिक रूपमा ‘दिमाग खुस्केकाहरू मात्र ओलीसँग मिल्छन्’भन्ने गरेका छन्।

तर जसपाको अर्को लाइनको नेतृत्व गरेका महन्थ ठाकुर भने एमालेसँग मिल्न गृहकार्य सुरु गरेका छन्। ठाकुर लाई पूर्व समाजवादी पार्टीका केही सांसदहरूले समेत दिएका छन्। यस विवादमा यादव अल्पमतमा परेका छन्। यादवसँग पार्टी फुटाउनको लागि संसदीय दलमा ४० प्रतिशत सांसद समेत नभएको पार्टी स्रोतले दाबी गर्‍यो।

यादवलाई जसपाका सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई ले खुलेरै साथ दिएका छन्। भट्टराई पनि ओलीसँग मिलेर सरकारमा जाने पक्षमा छैनन्। भट्टराई ले ओलीको विरुद्ध सार्वजनिक रूपमा विभिन्न अभिव्यक्ति दिने गरेका छन्।

राजेन्द्र श्रेष्ठ र लीला सिटौलाले यादवलाई साथ दिएका छन्। तर पनि ठाकुरको पक्षमा बहुमत सांसदहरू देखिएका छन्। केही सांसदहरू भने मौन बसेका छन्। पार्टी स्रोतका अनुसार यादवलाई जसपाका ६ जना सांसदहरूले मात्र साथ दिएका छन्। ३२ जना सांसदहरू मध्ये २४ जना सांसदहरू ठाकुरको पक्षमा देखिएको ठाकुर निकट एक नेताले दाबी गरे।

यादवलाई भट्टराई र श्रेष्ठ बाहेक पूर्व राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादव, र पूर्व समाजवादी पार्टी सह अध्यक्ष राजेन्द्र श्रेष्ठले साथ दिएका छन्। पछिल्लो समय महेन्द्र यादव महन्थ ठाकुरसँग चिढिएका छन्। केन्द्रीय समिति सदस्य छनौट गर्दा महेन्द्रले पठाएको सूचिलाई ठाकुरले काँटछाँट गरे पछि महेन्द्र ठाकुरसँग चिढिएका हुन्।

ठाकुरलाई पूर्व राजपाका अध्यक्ष मण्डलका ६ जना सांसद मध्ये महेन्द्र यादव बाहेक सबैले साथ दिएका छन्। राजेन्द्र महतो, शरत्सिंह भण्डारी र अनिल झाले खुलेरै साथ दिएका छन्। जसपाका ३४ जना सांसद छन्। जसमध्ये दुई जना सांसद हरिनारायण रौनियार र रेसम चौधरी निलम्बित अवस्थामा छन्। पोहर साल झन्डै समाजवादी पार्टीका फुटाएका इस्तिायक राई, प्रदीप यादव, विमल श्रीवास्तब लगायतका सांसदहरूले अहिले ठाकुरलाई साथ दिएका छन्।

रेणु यादव र रामबाबु यादव भने मौन देखिएका छन्। पूर्व समाजवादीको संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरैया पनि ओलीले माग पूरा गरेमा एमालेसँग मिल्ने सक्ने धारणा राखेका छन्। ‘हाम्रो चासो र चिन्ता भनेको हाम्रो कसरी पूरा गर्ने भन्ने नै हो’अरगरैयाले भने,‘त्यसैले हामीले पार्टी हेर्दैनौ जुन पाटीले हाम्रो माग पूरा गर्‍यो। त्यो पार्टीलाई साथ दिन्छौ ।’ रेणुका गुरुङ र डा. सुरेन्द्र यादव खुलेका छैनन् तर सूर्य नारायण यादवले भने भित्रभित्रै ठाकुरसँग निकटता बढाएको स्रोतले दाबी गर्‍यो।

स्रोतले भन्यो, जसपा भित्र अहिले दुई लाइन बीचको विवाद यसरी बढ्दै गएको छ कि, आगामी वैशाख १० गते पार्टीले मनाउने स्थापना दिवस पनि फरक फरक स्थानमा हुने सम्भावना देखिएको छ। पोहर साल वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी बीच एकीकरण भई जसपा निर्माण भएको थियो। पार्टी स्थापना भएको एक वर्ष नपुग्दै पार्टीभित्र चरम विवाद सुरु भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ