arrow

मुलुकको परिस्थिति अन्त्यन्तै जटिल मोडमा पुग्यो कांग्रेसले निकास दिनुपर्छ – डा. शेखर कोइराला

logo
हरि पन्त, 
प्रकाशित २०७७ चैत ३० सोमबार
shekhar_1618202891.jpg

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मुलुकको परिस्थिति अत्यन्तै जटिल मोडबाट गुज्रिरहेको बताएका छन् । उनले पुस ५ गते संसद विघटन गर्ने निर्णयसंगै बिग्रिएको राजनीतिक परिस्थिति अझै सुधार नहुनु, माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन अझै फिर्ता नलिनु, नयाँ सरकारका लागि जनता समाजवादी पार्टीमा विवाद आउनु, संसद अनिर्णयको बन्दी हुनुले मुलुक निकै जटिल मोडबाट गुज्रिएको बताएका हुन् ।

नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले नेकपामा आवद्ध दुई पार्टी पुरानै अवस्थामा फर्किनु र एमालेमा दुई धार देखिनुले पनि राजनीतिक अवस्था बिग्रिएको स्पष्ट पारे ।

नेपाली राजनीतिज्ञमा नैतिकताको खडेरी देखिएको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीमा राजनीतिक इमानदारी र नैतिकता कति पनि नभएको आरोप लगाए । उनले भने, ‘संविधान कुल्चिएर प्रधानमन्त्रीले गरेको संसद विघटनको निर्णय सर्वोच्च अदालतले रोकिदिएपछि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्नेमा झनै तर्क गरे । त्यसैले प्रधानमन्त्री ओलीले नैतिकता गमाए ।’

प्रधानमन्त्रीले राजीनामा नदिनु, सरकारले संसदमा बिजनेश दिन नसक्नु, सभामुखले उपसभामुख नियुक्ति लगायतका काममा केही गर्न नसक्नु झनै बिडम्वना भएको नेता कोइरालाले बताए । 

अब कांग्रेसले निकास दिनुपर्छ 
नेता कोइरालाले देशको यो विषम परिस्थितिलाई कांग्रेस टुलुटुलु हेरेर बस्न नहुने र अब जतिसक्दो छिटो निकास दिनुपर्नेमा जोड दिए । पार्टीको महाधिवेशन, नयाँ सरकार गठनसंगै चुनावतर्फ लाग्नुपर्नेमा जोड दिंदै उनले यसका लागि पार्टीको नेतृत्व अग्रसर हुनुपर्ने बताए ।

पार्टीको महाधिवेशन तोकिएकै मितिमा, देशको चुनाव सकेसम्म आगामी मंसिरमा नभए चैतमा र नयाँ सरकार गठन यथाशीघ्र हुनुपर्ने उनको जोड थियो । यी तीन विषयमा कांग्रेस नेतृत्व चुके नेपालमा संसदीय व्यवस्था धरापमा पर्ने उनले जिकिर गरे ।

जसपा ओलीसंग नजिकिनु घातक
नेता कोइरालाले जनता समाजवादी पार्टीका एक खेमा वर्तमान प्रधानमन्त्रीसंग नजिक हुन खोज्नु दुःखद् भएको भन्दै यति सहकार्य भएर ओली सरकारलाई टिकाउने प्रयास भए मुलुकका लागि झनै घातक हुने चेतावनी दिए ।

उनले भने, ‘जसपाका संविधान संशोधन लगायतका मागहरु कांग्रेस र माओवादीले पहिले नै पूरा गर्न खोज्दा एमालेले नै विफल पारेको हो । यस्तो अवस्थामा फेरि एमालेसंगै सहकार्य हुन खोज्नु राष्ट्रका लागि निकै घातक हुन सक्छ ।’

कांग्रेसले सरकारको नेतृत्व गर्ने र मुलुकलाई चुनावमा लैजाने सुल्टो बाटो हुने भन्दै नेता कोइरालाले जसपाले नै सरकार नेतृत्व गरे पनि आफूलाई आपत्ति नहुने बताए । पार्टी सभापति शेरबहादुर देउवा ओलीसंग नजिकिएको भन्दै जनताले शंकाको घेरामा राख्नु झनै विडम्वना भएको भन्दै उनले यसको जवाफ सभापतिले दिनुपर्ने स्पष्ट पारे ।

साथै नेता कोइरालाले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सार्वजनिक कार्यक्रममै झगडा गर्नुलाई विडम्वनाबाहेक केही भन्न नसकिने बताए । 

सभापति बाहेक अन्य पदमा उम्मेदवारी दिन्न
नेपाली कांग्रेसको महाधिवेशनको चर्चा परिचर्चा चलिरहँदा नेता कोइरालाले आफ्नो उम्मेदवारी पार्टी सभापति बाहेक अन्यमा नहुने स्पष्ट पारे । ‘तपाईको उम्मेदवारी अब के मा ?’ भन्ने पत्रकारको प्रश्नमा उनले छोटो जवाफ दिंदै भने, ‘मेरो उम्मेदवारी पार्टी सभापतिबाहेक तल्ला पदमा हुँदैन ।’

प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा र सचिव प्रदीप पौडेलले पनि बोलेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ