arrow

कोभिड-१९: दोस्रो लहर

कोरोना संक्रमण बढ्दो गतिमा : शहरी क्षेत्रका विद्यालय बन्द गर्ने तयारीमा सरकार

दोस्रो चरणको लहरमा बालबालिकामा संक्रमण बढी

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७७ चैत ३० सोमबार
Corona-Covid-nepal.jpg

काठमाडौं । कोरोना संक्रमणको दोस्रो चरणको लहरमा युवा तथा विद्यार्थीहरु बढी प्रभावित हुन थालेपछि सरकारले निजी तथा सरकारी स्कुलसहितका शहरी क्षेत्रका शैक्षिक संस्थाहरु बन्द गर्ने तयारी गरेको छ । 

नेपालमा युवा तथा विद्यार्थीमा पछिल्लो पटक संक्रमणको गति  बढ्दै गएपछि सरकारले शहरी क्षेत्रमा संचालित निजी तथा सरकारी विद्यालय बन्द गर्दै ती विद्यालयका विद्यार्थीहरुलाई अनलाइन प्रणालीबाट पठन पाठन संचालन गर्ने गरी तयारी गरेको हो । 

सम्भवतः आज साँझ बस्ने मन्त्रीपरिषद् बैठकले शहरी क्षेत्रका विद्यालय तथा शैक्षिक संस्थाहरु केही समय बन्दको निर्णय गर्ने सम्भावना छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पहिलो चरणमा बालबालिकामा संक्रमण कम देखिएको र अहिलेको दोस्रो चरणको लहरमा बालबालिकामा संक्रमण बढी देखिएकाले विद्यालय नै बढी जोखिम क्षेत्रका रुपमा देखिएको बताए । 

‘पहिलो चरणमा बालबालिकामा संक्रमण कम देखिएको थियो, अहिले दोस्रो चरणको लहरमा बालबालिकामा संक्रमण बढी देखिएको तथ्यांक छ,  विद्यालय नै बढी जोखिम क्षेत्रका रुपमा देखिएकाले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने विषयमा साँझ बस्ने मन्त्रीपरिषद् बैठकमा छलफल हुन्छ,’ परराष्ट्र मन्त्री ज्ञवालीले हाम्राकुरासँग भने । 

कोरोनाको नयाँ प्रजातिको जोखिम बढेको भन्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सेमी लकडाउनको खाका तयार पारेर सरकारलाई आवश्यक निर्णय लिन सिफारिस गरिसकेको छ । 

सीसीएमसीले विभिन्न ११ बुँदे स्वास्थ्य मापदण्डसहितको निर्देशिका जारी गर्दै विद्यालय तथा विश्वविद्यालयहरू बन्द गर्नेसहितका प्रस्ताव गत शनिवार निर्णय गरेर मन्त्रीपरिषद्मा पठाएको हो । सो बैठकले पारित गरेको प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट अनुमोदन भएपछि नयाँ मापदण्ड लागु हुने बताइएको छ ।

सीसीएमसीको प्रस्ताव अनुसार संक्रमण बढी भएका स्थानहरूका विद्यालय तथा कलेजहरू कम्तीमा तीन सातासम्म बन्द गर्न प्रस्ताव भएको छ । काठमाडौँ, पोखरा लगायतका बढी भिडभाड हुने ठाउँमा संचालित केही विद्यालय तथा कलेजमा एस जिन नेगेटिभ (बेलायतको नयाँ भेरियन्ट) को मात्रा बढेको र विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढी रहेकाले ती स्थानका विद्यालय बन्दको तयारी भएको हो । 

यस्तै सीसीएमसीले सपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल लगायतका क्षेत्र तथा धार्मिक स्थानहरूमा जनस्वास्थ्यका मापदण्डहरू पूर्ण रूपमा पालना गर्न र डीसीसीएमसीमार्फत कडाइका साथ अनुगमन गर्न निर्देशन दिइसकेको छ । 

यसै गरी रात्रिकालीन व्यवसायहरू राति १० बजेपछि बन्द गर्नुपर्ने र संक्रमणको अवस्था हेरि एउटा स्थानीय तहबाट अर्कोमा नियन्त्रित आवागमन गर्नेसमेतको निर्णय सीसीएमसीले गरिसकेको छ ।

यस्तै सीसीएमसी बैठकले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न र नयाँ प्रजातिको कोरोना भाइरसको जोखिमबाट जोगिन सबैलाई अपिल समेत गरेको छ ।

सिसिएमसी स्रोतका अनुसार विदेशबाट फर्केपछि घरमा क्वारेनटिन बसेका र संक्रमित भएर घरमै आइसोलेसनमा रहेकाले सो सम्बन्धी मापदण्ड पालना गर्न प्रेरित गर्ने र आवश्यक निगरानीका लागि सबै पालिकाहरूले स्थानीय तहमा निगरानी वा अनुगमन समिति बनाई नियमित अनुगमन र निगरानी गरी सो को विवरण डीसीसीएमसी मार्फत सीसीएमसीमा पठाउने, सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क प्रयोग अनिवार्य गरी जनस्वास्थ्यका अन्य मापदण्ड समेत पालना गर्ने, सिट संख्याका अनुपातमा यात्रुको संख्या सीमित रहने गरी यात्राको व्यवस्था गर्ने, सो को नियमित अनुगमन यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीबाट गर्न लगाउने निर्णय गरिसकेको हो । 

यस्तै रात्रिकालीन डान्स वार, नाइट क्लब, दोहरी साँझ जस्ता धेरै भिडभाड हुने क्रियाकलापहरू राति १० बजेपछि बन्द गर्ने र सो को अनुगमन डीसीसीएमसीले गर्ने, संक्रमणको अवस्था हेरी महानगरपालिकाहरूमा ५००, उप महानगरपालिकामा ३००, नगरपालिकामा २००, गाउँपालिकाहरूमा १०० वा सो भन्दा बढी सक्रिय संक्रमित भएमा सम्बन्धित पालिकाहरूको समन्वयमा नियन्त्रित आवागमन गर्ने व्यवस्था डीसीसीएमसीले मिलाउने र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा सम्बन्धित पालिकाले टेस्टिङ, क्वारेनटिन र आइसोलेसन लगायतका व्यवस्था मिलाउने जस्ता विषयहरूलाई मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको स्रोतले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ