arrow

उपत्यकाका अस्पतालमा ह्वात्तै थपिए कोरोना संक्रमित

जोगिने पहिलो अस्त्र स्वास्थ्य मापदण्ड

logo
प्रकाशचन्द्र जोशी,
प्रकाशित २०७७ चैत ३० सोमबार
bagmati-province-corona.jpg

काठमाडौं । काठमाडौं उपत्यकाका अस्पतालमा फेरि कोरोना संक्रमित भरिन थालेका छन् । संक्रमणदर न्यून हुँदै दैनिक एक जना समेत हुने नहुने अवस्थामा पुगेका अस्पतालहरुमा अहिले आइसियु बेड समेत भरिन थालेका छन् ।

त्रिभुवन शिक्षण (टिचिङ)अस्पताल महाराजगञ्जमा पछिल्लो एक सातामै २१ जना संक्रमित भर्ना भएका छन् । एक हप्ताअघि सम्म ३ जना संक्रमित मात्रै भर्ना भएको अवस्थामा अहिले २१ जना पुगेको टिचिङ अस्पतालका सहप्राध्यापक एवं विशेषज्ञ डा. सन्तकुमार दासले बताए । संक्रमितमध्ये सबैमा जटिल किसिमका लक्षण देखिएका छन् । गम्भीर अवस्थाका ३ जना आइसियुमा भर्ना गरिएका छन् ।

त्यस्तै बलम्बु स्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पतालमा पछिल्लो एक सातामै २९ जना संक्रमित अस्पताल भर्ना भएका छन् ।संक्रमितमध्ये २ जना चिकित्सकहरु रहेका छन् । एक हप्ता अघि अस्पतालमा २ जना संक्रमितमात्रै भर्ना रहेको अस्पतालका डा. प्रविन नेपालले बताए । संक्रमितमध्ये १० जना आईसीयुमा रहेको र दैनिक तीन चार जना थपिन थालेको डा. नेपालले बताए ।

शुक्रराज ट्रपिकल एवं सरुवा रोग अस्पताल टेकुमा पछिल्लो एक सातामा आइसियुमा मात्रै १७ जना भर्ना रहेका छन् । त्यस्तै अस्पतालको आइसोलेसनमा ५ जना रहेका छन् । दैनिक भर्ना हुनेको संख्या बढ्दै विशेषज्ञ डा. अनुप बास्तोलाले बताए ।

सात दिनमा ३० जना आइसियुमा
काठमाडौंका तीन अस्पतालको अवस्था मात्रै बुझ्दा एक हप्तामै ३० जना आइसियुमा भर्ना भएको देखिन्छ । लगभग शून्यकै अवस्थामा पुगेका अस्पतालका आइसियुमा फेरि संक्रमित भरिन थालेका हुन् । देशभर नै गम्भीर अवस्थाका संक्रमितको संख्या बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसबाट उपत्यकामा मात्रै नभई देशभर कोरोनाको दोस्रो लहर चल्न थालेको स्पष्ट हुन्छ । 

बेलायती भेरियन्टको संक्रमण
पछिल्लो समय संक्रमित हुने आधा भन्दा बढी संक्रमितमा एस जिन नेगेटिभ देखिएको छ । यसको अर्थ बेलायती भेरियन्टको संक्रमण बढी रहेको विज्ञहरूको भनाइ छ । सुरुको अवस्थाबाट स्वरूप फेरेको बेलायती भेरियन्ट ७० प्रतिशत बढी संक्रामक छ । बढी मानिस संक्रमित हुँदा मृत्युदर पनि बढ्छ ।

बालबालिकामा संक्रमण बढ्दो
पछिल्लो सयम बढीजसो संक्रमित बालबालिका रहेका छन् । हिजो चैत २९ गते ३ सय ३ संक्रमित थपिदा १९ जना बालबालिका रहेका छन् । चैत २८ गते ३३७ जना संक्रमित थपिदा ५२ जना बालबालिका रहेका छन् ।

अघिल्लो दिन चैत २७ मा २ सय ८८ जना संक्रमित थपिएका थिए । जसमध्ये बालबालिका मात्रै ३५ जना थिए । अस्पताल भर्ना हुनेमा समेत ४० बर्ष मुनिकाहरुको संख्या बढ्न थालेको चिकित्सकहरुको भनाइ छ । बालबालिकाहरुमा संक्रमण बढ्दा विद्यालयहरु कोरोनाको हटस्पट बन्ने चिन्ता स्वास्थ्य मन्त्रालयको छ ।

जोगिने पहिलो अस्त्र स्वास्थ्य मापदण्ड
कोरोना भाइरसको संक्रमणबाट जोगिन हरेक व्यक्ति आफैले सचेत भएर स्वास्थ्य मापदण्डको पालना गर्न आवश्यक रहेको विज्ञहरूको भनाइ छ ।

विद्यालय, कार्यालय, सार्वजनिक स्थानलगायत संक्रमणको जोखिम भएका ठाउँमा भौतिक दुरी, मास्क र स्यानिटाइजरको प्रयोग एवं पटक पटक हात धुँदा संक्रणबाट धेरै हदसम्म जोगिन सकिने सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोला बताउँछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ