arrow

कसले टेर्छ सरकारको निर्णयलाई ? 

logo
​​​​​​​बाबु नेपाली, 
प्रकाशित २०७७ चैत ३१ मंगलबार
vidya-oli-nanda-ghodejatra.jpg

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण बढे पनि शैक्षिक लगायत कुनै पनि क्षेत्र तत्काल बन्द नगर्ने निर्णय गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषद्को बैठकले अझै केही दिन कोरोना संक्रमणको प्रकृति हेरेर मात्र बन्द गर्ने वा कसरी अगाडि बढ्ने भन्नेबारेमा रणनीति बनाउने निर्णय गरेको हो । 

सरकारको यो निर्णयले विद्यालय संचालकहरु उत्साही भएका छन् । उनीहरुले सरकारलाई कुनै पनि हालतमा विद्यालय बन्द नगर्न दबाब दिँदै आएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत शुक्रबार नै बालबालिकाहरुमा कोरोनाको संक्रमण बढेको भन्दै तत्काल विद्यालयहरु बन्द गर्न आग्रह गरेका थिए । 

त्यस्तै शनिबारको बैठकमा कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पनि तीन साताका लागि विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो । । 

तर सरकारले सीसीएमसी र स्वास्थ्य मन्त्रालयको आग्रह सुनेन । विद्यालय संचालकहरु नै हाबी भए । तर सरकारले भने स्वास्थ्य सम्बन्धी नयाँ मापदण्ड बनाएर पालनामा कडाइ गर्ने निर्णय गरेको छ । 

अहिले बालबालिकाहरु नै संक्रमित बढी भइरहँदासमेत सरकारले विद्यालय बन्द गर्न गरेको अटेरीले स्वास्थ्यकर्मीहरुलाई चिन्तित पारे पनि अभिभावकहरु बोल्न सक्ने अवस्थामा देखिएका छैनन् । 

सोमबार मात्रै कोरोनाका ५५९ संक्रमित थपिए । १३ जनाको ज्यान गयो । यो तथ्यांक गत मंसिर महिनाको तथ्यांकसँग मिल्छ । तर सरकारले कुनै चासो राखेन । 

अहिले आएर नयाँ स्वास्थ्य मापदण्ड बनाउनतर्फ लागिरहेको छ । 

कसले टेर्छ सरकारको निर्णयलाई ? 
सरकारले मास्क अनिवार्य गर्ने, भीडभाडमा पूर्ण रोक लगाउने तथा सार्वजनिक यातायातमा नयाँ मापदण्ड बनाउने विषयमा बैठकमा स्वास्थ्य सम्बन्धी नयाँ मापदण्ड मंगलबार सार्वजनिक गर्ने तयारी गर्दैछ । 

तर सरकारले जारी गर्ने यो नयाँ मापदण्डलाई कसले पालना गर्छ ? 

जुन देशको राष्ट्रपति र प्रधानमन्त्रीले नै सरकारका मापदण्ड उल्लंघन गर्छन् भने त्यो देशका नागरिकले कसरी पालना गर्छन् ? 

प्रधानमन्त्री केपी शर्मा ओली आफैंले अवस्था यस्तै रहे लकडाउन गर्नु पर्ने बताउँछन् । तर तिनै ओली दैनिक विभिन्न भेला हुने कार्यक्रममा सहभागी भएर भाषण गर्दै आफ्नो सरकारको आयु लम्ब्याइरहेका छन् । 

राष्ट्रपति पनि त्यस्तै गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा भव्य समारोह आयोजना गरेर करिब ६ सय व्यक्तिलाई विभिन्न पदकले विभूषित गरिन् । 

आइतबार मात्रै संक्रमणको बेवास्ता गर्दै टुँडिखेलमा घोडेजात्रा मनाइयो । राष्ट्रपति भण्डारी त्यहाँ पनि सरिक भइन् । प्रधानमन्त्री पनि थिए दुवै स्थलमा । 

बुधबार पनि फेरि राष्ट्रपतिले पदक बाँड्दै छिन् । त्यहाँ पनि भीड हुने नै छ । 

रोकथामको पहल गर्नु पर्नेमा आफैले गल्ती गरिरहेको भन्दै विज्ञहरुले सरकारी रबैयाको आलोचना गरेका छन् । स्वास्थ्य मन्त्रालय पनि चिन्तित भइसक्यो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलाई सरकारले गरेका गल्ती ढाकछोप गर्दैमा हैरान छ । 

मन्त्रालयले संक्रमण रोक्न तीन साताका लागि शैक्षिक संस्थाहरु बन्द गर्न सिफारिस गरे पनि त्यो सम्भव भएन । 

कोरोनाको नयाँ भेरियन्टले ठूलो मात्रामा संक्रमण फैलिइरहेको छ । ट्रेसिङ गर्ने चलन नै हराइसक्यो । 

सरकारले खोपसमेत पनि ल्याएको छैन । पहिले लगाएकाले दोस्रो डोज नपाउने चिन्ता छ । तर पनि सरकार सचेत भएको पाइँदैन । 

महामारीले खतराको घण्टी बजाइरहँदा पनि सरकारले यसलाई सामान्य रुपले लिएको छ । प्रधानमन्त्री ओलीले विपक्षी तर्साउन सभा सम्मेलनमा रोक लगाउने बताए पनि आफू भने त्यस्ता सभा सम्मेलनमा जान छाडेका छैनन् । 

फेरि अब कसले टेर्छ उनको आदेश ? सरकारले बनाउने नयाँ मापदण्ड झारा टार्ने बाहेक केही हुन सक्दैन । लाखौं जनता सडकमा उतारेर आफ्नो सरकारको आयु बढाउने ओलीको बोलीमा भरोसा कम हुँदै गएको छ । 

ओली आफैले सरकारको निर्देशनको अवज्ञा गर्छन् भने अरुलाई सम्झाउने हैसियत पनि उनले गुमाइसकेका छन् । 

तस्वीर– घोडेजात्रा २०७७ को अवसरमा सैनिक मञ्च टुडीखेलमा उपस्थित प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्टपति नन्दवहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत– रासस ।

बालबालिका कति संक्रमित भएपछि खुल्छ सरकारको चेतना ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ