arrow

एमालेको कार्यक्रममा देउवा

ओली र विद्यालाई देउवाको प्रश्न- मदन भण्डारीको हत्यारा अहिलेसम्म किन पत्ता लागेन ? [भिडियो]

संसद्‌‌‌मा पतिपक्षले उठाएको विषयलाई सरकारले गम्भीरतापूर्वक र सकारात्मक रूपमा ग्रहण गर्नुपर्दछ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १० सोमबार
deuba-080-01-10.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । सोमबार नेकपा एमालेद्वारा आयोजित हीरक महोत्सव समारोहमा देउवाले मदन भण्डारीको हत्यारा अझै पत्ता लगाउन नसकेको भन्दै एमाले नेतृत्वप्रति प्रश्न समेत गरे । 

कांग्रेसलाई गाली गर्नेले मदन भण्डारीको हत्यारा पत्ता लगाउन अहिलेसम्म नसकेको सभापति देउवाको भनाई थियो । उनले मदन भण्डारी आफूहरूको पनि नेता भएको उल्लेख गर्दै उनको हत्यारा पत्ता लगाउने काम किन गरिएन ? भन्ने मदन भण्डारीकी धर्मपत्नी समेत रहेकी विद्या भण्डारीलाई पनि प्रश्न गरे ।

दुई पटक राष्ट्रपति हुँदा र एमालेको नेतृत्वमा पटक पटक सरकार बन्दा पनि सो हत्याकाण्डको रहस्य पत्ता लगाउने काम नभएको उल्लेख गर्दै सभापति देउवाले त्यसमा कांग्रेसले कुनै व्यवधान खडा नगरेको पनि बताए । उनले कांग्रेसलाई गाली गर्नेहरूले मदन भण्डारीको हत्यारा पत्ता लगाउनुपर्ने बताए ।

सभापति देउवाले भने, ‘कांग्रेसलाई गाली गर्नेले मदन भण्डारीको हत्यारा अहिलेसम्म पत्ता लगाउन सकेको छैन । हुँदाहुँदा उनको ड्राइभर पनि मारियो । त्योसम्म अहिलेसम्म पत्ता लगाउन सकेको छैन । भनेदेखि मदन भण्डारी हाम्रो नेता हो, त्यसमा दुई मत छैन । तर मार्नेको पत्ता किन लागेन ? त्यसकारण कांग्रेसको विरोध गर्न सजिलो होला । गर्नुस् केही छैन । तर आफ्नो पनि भन्नु पर्‍यो नि । किन मदन भण्डारीको हत्यारा पत्ता लागेन । कांग्रेस लुकेको छ यहाँ ? कहाँ लुकेको छ ? त्यसैले यो रहस्यमय हत्या । दुई पटक राष्ट्रपति बनिसक्नु भयो । प्रधानमन्त्रीहरू बनिसकेको सबै । खै पत्ता लगाएको ? त्यसकारण मलाई गाली गरेर केही हुनेवाला छैन । त्यो कुरा पत्ता लगाउनुपर्‍यो तपाईँहरूले ।'

सभापति देउवाले नेपाली कांग्रेस सधैँभर देशको महत्त्वपूर्ण मुद्दामा विद्यमान राजनीतिक दलहरुबीच संवाद, सहमति र सहकार्यको नीति लिँदै आएको र त्यसको निरन्तरताको पक्षमा रहेको पनि बताए । उनले संसद्‌‌‌मा प्रतिपक्षले उठाएका विषयलाई गम्भीरतापूर्वक लिन पनि सरकार र सत्तारुढ दलहरूलाई आग्रह गरे । 

उनले भने,'  गणेशमान हाम्रो नेता हो । देशका महत्त्वपूर्ण कार्यहरूमा हामी बीच सहकार्य भएको पनि लामो इतिहास छ । २०४६ सालको जनआन्दोलन, २०६२÷६३ सालको जनआन्दोलन, वर्तमान संविधान हामी बीचका सहकार्यबाट मुलुकले प्राप्त गरेको उपलब्धिका उदाहरण हुन् । नेपाली कांग्रेसले सदैभरि देशको महत्त्वपूर्ण मुद्दामा विद्यमान राजनीतिक दलहरुबीच संवाद, सहमति र सहकार्यको नीति लिँदै आएको छ । हामी त्यसको निरन्तरताको पक्षमा छौं । अहिले पनि मुलुकमा कतिपय यस्ता विषयहरू छन्, जसमा हाम्रा संवाद, सहकार्य र सहमतिको आवश्यकता छ भन्ने गरेको छु । वर्तमान संविधान हामीले मिलेर सहमतिमा बनाएका हौँ । यस संविधानले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीको सुनिश्चितता गरेको छ । संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, नागरिकको मौलिक हक अधिकार र देशको आर्थिक उन्नति गर्नु हाम्रो जिम्मेवारी हो । संघीय लोकतान्त्रिक गणतन्त्रको माध्यमले देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्त गर्नका लागि हाम्रो बीचमा न्यूनतम सहमति आवश्यक छ । हामीले अभ्यास गरेको व्यवस्थामा संसद्‌‌को भूमिका महत्त्वपूर्ण हुन्छ । संसद्‌‌लाई राष्ट्रको हितमा क्रियाशीलतापूर्वक काम गर्ने वातावरण सुरक्षित हुनुपर्दछ । संसद्‌‌‌मा पतिपक्षले उठाएको विषयलाई सरकारले गम्भीरतापूर्वक र सकारात्मक रूपमा ग्रहण गर्नु पर्दछ । संघीय संसद्‌‌‌मा प्रतिपक्षले उठाएका विषयलाई गम्भीरता र सकारात्मक रूपमा लिन म हार्दिक आग्रह गर्दछु । नेपाली कांग्रेसका देशमा लोकतन्त्र स्थापनालगायतका महत्त्वपूर्ण कार्यहरू नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । २००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलनदेखि लिएर २०६२÷०६३ को जनआन्दोलनमा कांग्रेसको नेतृत्वदायी भूमिका रहेको कुरा इतिहासमा कसैले नकार्न सक्दैन । २०५२ सालदेखि देशमा शुरु भएको सशस्त्र द्वन्द्वलाई शान्तिमा परिणत गर्ने कामको नेतृत्वको कांग्रेसले गरेको थियो भन्ने तथ्य निर्विवाद छ । वर्तमान संविधान निर्माण गर्ने सवालमा होस्, संविधान परिकल्पना गरे अनुसार दुई वटा निर्वाचन सम्पन्न गर्ने काममा होस् । कांग्रेसको भूमिका स्पष्ट देखिएको छ । यी धेरैजसो अभियान नेकपा कम्युनिष्ट पार्टी एमाले, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लगायतका पार्टीहरू पनि सँगै रहेका थिए । नेपाली कांग्रेस राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति अविचलित रूपमा आस्था र विश्वास गर्ने पार्टी हो । हामी लोकतान्त्रिक समाजमा विश्वास गर्दछौँ । हाम्रा सबै कामहरू यिनै आदर्शबाट निर्देशित छन् । हामी हाम्रा आदर्श र लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिबद्ध छौं । ’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ