arrow

बेलायती भेरियन्ट अधिक प्राणघातक नरहेको अध्ययनको निष्कर्ष

अनुसन्धान निष्कर्ष स्पष्ट छैन

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत ३१ मंगलबार
Corona-virus.jpg

काठमाडौं । कोरोना भाइरसको बेलायती भेरियन्ट बढी गम्भीर बिरामी पार्ने र बढी प्राणघातक नभएको हालै सार्वजनिक एक अध्ययनले देखाएको छ । बी.१.१.७ भनेर पनि चिनिने बेलायती भेरियन्ट अहिले युरोप र अमेरिकामा मुख्य सङ्क्रामक भइसकेको छ । अर्थात् सुरुको भाइरस भन्दा बेलायती भाइरसबाट सङ्क्रमित हुनेको संख्या बढी भइसकेको छ ।

नेपालमा समेत बेलायती भेरियन्टको सङ्क्रमण बढ्दै गइरहेको छ । यस्तोमा सोमबार सार्वजनिक भएको अध्ययनले यो भाइरस बढी सङ्क्रामक भए पनि बढी बिरामी पार्ने र बढी ज्यान लिने किसिमको भने नभएको देखाएको हो । यो अध्ययन सोमबार लान्सेट जर्नलमा प्रकाशित भएको छ ।

बेलायती भेरियन्टबारे युनिभर्सीटी कलेज लण्डन र नर्थ मिडिलसेक्स विश्वविद्यालय अस्पतालका सङ्क्रमितहरूमा अध्ययन गरिएको थियो । नोभेम्बर ९ देखि डिसेम्बर १० सम्ममा अस्पताल भर्ना भएका ३ सय ४१ बिरामीको जिन सिक्वैन्सिङ गरिएको थियो । तीमध्ये ५८ प्रतिशतमा बेलायती भेरियन्ट देखिएको थियो भने ४२ प्रतिशतमा अर्कै स्वरूपको भाइरस देखिएको थियो ।

त्यसपछि  दुवै समूहमाथि लक्षणहरूको तुलना गरिएको थियो । त्यसरी तुलना गर्दा बेलायती भेरियन्ट बढी प्राणघातक र बढी बिरामी पार्ने किसिमको नभएको पाइएको हो ।

बेलायती भेरियन्टको सङ्क्रमण बढ्दै गइरहेको अवस्थामा भएको यो अध्ययनले के यो भेरियन्ट बढी खतरनाक छ त ? भन्ने प्रश्नको जवाफ दिएको छ ।

'हामीले यो अध्ययन रियल टाइममा गर्न सक्यौँ' अध्ययनका प्रमुख लेखक एवं युनिभर्सीटी कलेज लण्डनका बायोइन्फर्मेसनका डेन फ्रेम्पटनले भने ।

बेलायती भेरियन्टबाट सङ्क्रमित भएकाहरुमा भाइरल लोड अर्थात् भाइरसको मात्रा भने बढी रहेको देखिएको छ । यसको कारण भने थाहा हुन सकेको छैन । त्यस्तै बेलायती भाइरसबाट सङ्क्रमित भएका बढी संक्रमितलाई अक्सिजन दिनु  परेको पनि देखिएको छ ।

यो भाइरस बढी सङ्क्रामक हुनुको कारण पनि सङ्क्रमितको शरीरमा बढी भाइरस भएको हुनसक्ने फ्रेम्पटनको भनाइ छ ।
यद्यपि यो एक सानो अध्ययन भएको र यसमाथि अझै धेरै अध्ययन गर्न बाँकी रहेको उनको भनाइ छ ।

गत महिना नेचर जर्नलमा प्रकाशित अध्ययनले बेलायती भेरियन्ट ६१ प्रतिशत बढी प्राणघातक रहेको उल्लेख गरेको थियो ।

गत मार्चमा दि बीएमजे जर्नलमा प्रकाशित अध्ययनले ३० बर्षभन्दा माथि उमेर समूहका मानिसमा बेलायती भेरियन्ट ६४ प्रतिशत बढी प्राणघातक भएको उल्लेख गरिएको थियो । तर खोप लगाइएको समूहमा भने मृत्यु दर कम हुने अध्ययनमा उल्लेख छ ।

क्यालिफोर्नियाको स्क्रिप्स अनुसन्धान अनुवाद संस्थानका निर्देशक डा. एरिक टोपोलले फरक फरक अध्ययनबाट यो भाइरसबारे धेरै कुरा थाहा हुन बाँकी रहेको बताएका छन् ।

मृत्युदर बढी नभए पनि बढी अक्सिजन दिनु पर्दा त्यसभित्र केही कारण छ, कुनै पनि अध्ययनलाई स्पष्ट मान्न नसकिने डा. टोपोलको भनाइ छ । यो भेरियन्टमथि थप अध्ययन र अनुसन्धान गर्नु जरुरी रहेको उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ