arrow

दृष्टिविहीन अमिट केसीको सगरमाथा यात्रा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १० शुक्रबार
amit-kc-blind-mountaineer.jpg

काठमाडौं । राष्ट्रिय झण्डा बोकेर शिरमा ढाका टोपी ढल्काएर दृष्टिविहीन अमिट केसी सगरमाथाको शिखर चुम्ने अठोट लिएर त्यतै लागेका छन् । उनी शुक्रबार बिहान काठमाडौंबाट लुक्ला लागेका छन् । 

लुक्ला पुगेपछि उनले हाम्राकुरासँग भने, ‘लुक्ला पुगियो । लुक्लाबाट आज फाक्देन बस्छौं । भोलि शनिबार नाम्चे बस्छौं । त्यसरी यात्रा अगाडि बढ्छ ।’

उनको साथमा उनीसँगै पाँच जना छन् । उनले भने, ‘मसँगै दुई जना समिटर हुनुहुन्छ, एक जना माउन्टेन गाइड र एक जना पत्रकार हुनुहुन्छ ।’

नेपालबाट अहिलेसम्म कुनै पनि दृष्टिविहीनले सगरमाथाको चुचुरोमा पाइला राखेका छैनन् । अहिलेसम्म एक जना विदेशीले सगरमाथा चुमेका छन् । अमिटले त्यो कीर्तिमान आफ्नो नाममा लेखाउन चाहन्छन् । 

आर्थिक अभावका बीच पनि उनी आफ्नो दृढ इच्छाशक्तिलाई पछ्याउँदै सगरमाथा जान लागेका हुन् । उनको यो यात्रालाई उद्योग वाणिज्य महासंघ एफएनसीसीआई) ले सघाएको छ । त्यसैले नेपालको झण्डासँगै एफएनसीसीआईको झण्डा पनि उनीसँगै छ ।  

उनको यो कीर्तिमानी यात्राका लागि बाग्लुङ उद्योग वाणिज्य संघले सहयोग गरेको छ । उनी भन्छन्, ‘तपाई हिँड्दै गर्नुस् फण्ड आउँदै गर्छ भनेर बाग्लुङ संघले भनेको छ । मेरो उत्साह थप्ने काम गरेको छ । म अगाडि बढेँ ।’

यसअघि दृष्टिविहीन अमेरिकी नागरिक एरिकले सगरमाथाको पाइला चुमेका थिए । अमिट दोस्रो बन्न चाहन्छन् । पहिलो नेपाली बन्न चाहन्छन् । 

यसअघि अमिटले सगरमाथाको आठ हजार मिटर चढिसकेका छन् । त्यसैले पनि बागलुङको जैमिनी नगरपालिका–४ का अमिटलाई यसपालि जीवनको धोको पूरा गर्न सजिलो हुने देखिन्छ । 

उनलाई त्यतिबेला मौसमले धोका दिएको थियो । यसपटक मौसमले साथ दिनेमा विश्वस्त छन् । उनको धोको छ, ‘म यसपटक सगरमाथा पुगेर राष्ट्रिय झण्डा र एफएनसीसीआईको झण्डा फहराउन चाहन्छु ।’

त्यसो त उनी धनी हैनन् । पैसा ‘कौडी’ नहुँदा पनि विश्वमान चित्रमा आफ्नो नामसँगै नेपाली भनेर गर्व गर्ने बनाउनका लागि पनि उनी तात्तिएका छन् । त्यसैले पनि उनी उद्योग वाणिज्य महासंघको झण्डा बोक्न तयार भए । 

मनकारीहरुलाई अझै पनि उनले अपिल गर्न भने छाडेका छैनन् । उनले प्रभु बैंक बागलुङ शाखामा रहेको खाता नम्बर Amit K.C. prabhu bank limited Baglung  A/C No-0600048599700012 मा सहयोग गर्न पनि अपिल गरिरहेका छन् । 

उनलाई ५० लाख चाहिन्छ । मनकारीहरुले सहयोग गर्दै पनि आएका छन् । १० लाख त गत महिना नै जम्मा गरिसकेका थिए । 

 एनआरएनए अभियन्ता तथा पूर्वउपाध्यक्ष कुल आचार्यले एक लाख रुपैंयाँ सहगोग उपलब्ध गराउँदै विश्वभरका एनआरएनए अभियन्ताहरुलाई सहयोगको आब्हानसमेत गरेका छन् । 

त्यस्तै अर्का एनआरएनए अभियन्ता चिरञ्जिवी ढकालले २५ हजार रुपैंयाँ सहयोग गर्ने बचन दिइसकेका छन् । त्यस्तै साउथ अष्ट्रेलियाको एडिलेडबाट गोविन्द सापकोटा र उनकी श्रीमती सुधा सापकोटाले पठाएको ५० हजारको चेक पनि नेपालमा खडानन्द सापकोटाले हस्तान्तरण गरे ।

समाजसेवी इन्दिरा राना मगरले १० हजार सहयोग गर्दै अन्य व्यक्तिहरुसँग पनि आर्थिक सहयोग जुटाउने प्रतिवद्धता जनाएकी छिन् । 

कहाँबाट हौसिए अमिट सगरमाथा चढ्न ?
शिक्षकको जागिरकै शिलशिलामा आठ बर्षअघि पोखरामा अमेरिकी नागरिक क्लेफले दृष्टिविहीनहरूलाई दिएको ‘रक क्लाइम्बिङ’ को प्रशिक्षण लिएका उनलाई त्यसैबेलादेखि सगरमाथा चढ्ने हुटहुटी जागेको सुनाउँछन् । 

त्यसयता छँदाखाँदाको जागिर नै छाडेर उनी सगरमाथा आरोहणको तालिम र अभियानमा वर्षौंदेखि लागिरहेको बताए ।

तालिमकै दौरान उनी २०७२ सालको वैशाखमा सोलुखुम्बुको ६ हजार एक सय ८६ मिटर उचाइमा रहेको आइसल्यान्ड पिक र सोही वर्षको चैत ८ मा ६ हजार ६ सय ५४ मिटर उचाइमा रहेको मेरापिकमा पुगिसकेका थिए । 

जसले गर्दा उनमा थप आँट पलाएको छ । फलस्वरुपः उनमा सगरमाथाको चुचुरोमा पाइला टेकेर विश्वभर आफ्नो नाम राख्ने अभियानमा छन् ।

दृष्टिविहीन भएर उनले बाहिरी आँखाले संसार नदेखे पनि भित्री आँखाले उनी सगरमाथामा पुगिसकेका छन् । अब बस् सबैले सहयोग भए भौतिक शरीर पुर्याउनमात्र बाँकी छ । 

अमिटको साहसलाई सलाम !
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ