arrow

सुरक्षित रहँदै व्यवसाय गर्नु : पोखरा उद्योग वाणिज्य सङ्घ

logo
रासस,
प्रकाशित २०७८ वैशाख १३ सोमबार
pokhara-1.jpg

गण्डकी। पोखरा उद्योग वाणिज्य सङ्घले स्वास्थ्य सुरक्षाका सम्पूर्ण प्रबन्धसहित व्यापार व्यवसाय सञ्चालन गर्न व्यवसायीसँग आग्रह गरेको छ। कोभिड–१९ को दोस्रो लहरले जनजीवन असहज बनेको समयमा सङ्घले आइतबार विज्ञप्ति जारी गर्दै दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति तथा ढुवानी कार्यलाई पारदर्शी, सरल र प्रभावकारी बनाउन तथा आम उपभोक्ता तथा नागरिकसँग सामान किनमेल गर्दा आवश्यक दूरी कायम गर्न, अनावश्यक भिडभाड नगर्न एवं अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरेको हो।

सङ्घका महासचिव सुरेन्द्रमान बिजुक्छेद्वारा जारी विज्ञप्तिमा कोभिड–१९ को दोस्रो लहरले ल्याएको विपत्तिबाट नागरिकलाई जोगाउन स्वास्थ्य सुरक्षाको यथोचित प्रबन्ध गर्न र सरकारबाट प्रदान हुने स्वास्थ्य सेवाप्रति जनतालाई आश्वस्त बनाउन तीन वटै सरकार तथा सरोकारवाला निकायसँग माग गरिएको छ। सङ्घले उद्योग-व्यवसाय लयमा फर्कँदै गर्दा पुनः ‘मिनी लकडाउन’को अवस्था आउनु निजी क्षेत्रका लागि दुर्भाग्यपूर्ण अवस्था भएको ठहर गरेको छ।

“सरकारबाट घोषित राहतका प्याकेजको पर्खाइको क्षणमा आएको यो विपत्तिले हामीलाई कहाँ पुर्‍याउँछ थाहा छैन तर कोभिडको दोस्रो लहर भित्रिएको पुष्टि भइसकेको वर्तमान अवस्थामा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तोकेका मापदण्ड पालना गर्नु हामी सबैको दायित्व र कर्तव्य हो”, विज्ञप्तिमा भनिएको छ। 

सङ्कटका बेला उद्योगी-व्यवसायीमाथि दायित्व थपिने उल्लेख गर्दै सङ्घले सुरक्षित रहँदै बजारलाई गतिशील बनाउने तथा एक वर्ष थलिएर ऋणात्मक बनेको अर्थतन्त्रलाई उकास्ने सरकारी नीतिअनुरूप तयार हुनु पनि निजी क्षेत्रको कर्तव्य भएको उल्लेख गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ