arrow

विष्णुका प्यारा श्रीकृष्ण अर्थमा शक्तिशाली, बजेटको मुखमा ११ सहसचिवको फेरबदल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १३ सोमबार
artha-mantralaya_Nepal.jpeg

काठमाडौं । अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाललाई गत साउन महिनामै सरकारले सुदूरपश्चिम प्रदेशमा सरुवा गरेको थियो । तर उनले एक दिन पनि सरकारले सरुवा गरेको ठाउँमा खुट्टा राखेनन् । 

उनी अहिले पनि उक्त महाशाखामै कार्यरत छन् । जब कि उनीसँग सरुवा भएर प्रदेश गएका सहसचिवहरु फेरि काठमाडौंमा फर्केका छन् । तर उनले अर्थ छाडेनन् । १० महिनासम्म पनि नेपाल सरुवा भएको ठाउँमा हाजिर गर्न गएका छैनन् । उनको व्यवहारले उनी अर्थमा ‘शक्तिशाली’ कर्मचारीको रुपमा चिनिएका छन् । 

अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखा आकर्षक महाशाखा मानिन्छ । त्यहाँ जान अर्थका सहसचिवहरु प्रयास गर्छन् । तर यो अवसर नेपालले पाएका छन् । पाल्पा घर भएका नेपाल अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग निकट मानिन्छन् । अर्थ स्रोत भन्छ, ‘अर्थमन्त्रीसँग निकट भएको कारण उनलाई सिंहदरबार छाड्नु परेको छैन । सिंहदरबार बसे पनि उनले रोजेकै महाशाखा पाएका छन् ।’

भन्सार विभागबाट केही समयअघि मात्र अर्थ मन्त्रालयमा ल्याइएका सुमन दाहाललाई अर्थको कर्मचारी प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । बजेटको मुखमै सरकारले अर्थका ११ जना सहसचिवहरुको फेरबदल गरेको छ । फेरबदलमा पर्नेहरुमा थानप्रसाद पँगेनी पनि परेका छन् । 

उनलाई सह महालेखा नियन्त्रकका रुपमा खटाइएको छ । यसैगरी वीरगन्ज भन्सारका प्रमुख महेश आचार्यलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ । वीरगञ्ज भन्सार प्रमुखमा सहसचिव सरहको दरबन्दी कायम गरिएको छ । वीरगञ्ज बाहेक अन्य भन्सारहरुमा भने भन्सार प्रमुखको दरबन्दी उपसचिव सरहको  छ । आचार्यलाई सरुवा गरे पछि उनको ठाउँमा विश्वप्रसाद अर्याललाई खटाइएको छ ।

यसैगरी अर्का सहसचिव अच्युत शिवाकोटीलाई भन्सार जाँचपास कार्यालयको प्रमुख प्रशासक पदमा सरुवा गरिएको छ । यसैगरी ईश्वरीप्रसाद अर्याललाई अर्थ मन्त्रालयबाट भन्सार विभागको उप महानिर्देशक पदमा सरुवा गरिएको छ । 

यसैगरी अर्थका अर्का सहसचिव बाबुराम भण्डारीलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको तालिम प्रमुख पदमा खटाइएको छ । भन्सारका उपमहानिर्देशक भूमिराम शर्मा भने नेपाल राजश्व परामर्श विकास समितिको सदस्य सचिवमा सरुवा भएका छन् । 

उमाकान्त आचार्य अर्थमन्त्रालयबाट सहमहालेखा नियन्त्रकमा पदस्थापन भएका छन् । यसअघि उनी वन मन्त्रालयमा कार्यरत थिए । वनमै हुँदा उनी उपसचिवबाट सहसचिवमा बढुवा भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ