- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। पार्टी दुई कित्तामा विभाजित भए पछि जनता समाजवादी पार्टीका सांसदहरू दुवै पक्षबाट तानातानमा परेका छन् । जसपामा हाल ३४ जना सांसद छन् । ती मध्ये दुई सांसद हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा परेका छन् । बाँकी ३२ जना सांसदहरूको दुवै कित्ताका नेताहरूले गणना सुरु गरेका छन् ।
केपी ओलीलाई सहयोग गर्ने कि ओलीको विरोधमा जाने भन्ने विषयमा पार्टी दुई कित्तामा बाँडिएको छ । जसपाका सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र जसपाका अध्यक्ष उपेन्द्र यादव ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु पर्छ भन्दै लबिङ गरिरहेका छन् । ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन भट्टराई र यादवले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग बैठक र छलफल गरेका छन् । ओली सरकार ढाल्नु पर्छ भन्ने पार्टीको लाइन यथावत् रहेको यादवको भनाइ छ ।
यता, ओली सरकार विरोधी कुनै पनि गठबन्धनमा सहभागी नहुने सहमति जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले गरेका छन् । जसपाले उठाएका माग सरकारले पूरा गर्न प्रक्रिया अघि बढाइरहेको बेला सरकार विरोधी गठबन्धनमा पार्टी सहभागी नहुने सहमति भएको ठाकुर निकट नेता डा.सुरेन्द्र झाले बताए ।
पार्टी भित्र दुई कित्ताको विवाद यसरी बढ्दै गएको छ कि, पुराना समाजवादी पार्टीका नेताहरू पुरानै समाजवादी पार्टीको कार्यालय बालकुमारी जाने गर्छन् भने पुरानो राजपाका नेताहरू पुरानो पार्टी कार्यालय बबरमहल जाने गर्छन् । तर, दुवै पक्षबाट सांसद तान्ने क्रम भने सुरु भएको छ । यो होडबाजीमा पुरानो समाजवादीका अध्यक्ष उपेन्द्र यादवले पुरानो राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवलाई नै आफूतिर पार्न सफल भएका छन् । ५१ सदस्यीय कार्यकारिणी समितिमा रहेका महेन्द्र पक्षधर ३ नेताहरू महेन्द्र यादव, रमेश यादव र रामनरेश यादवले अहिले कित्ता परिवर्तन गरी उपेन्द्र यादवको कित्तामा पुगेका छन् । महेन्द्र यादव पक्षधर नेताहरू अहिले पुरानो राजपा पार्टी कार्यालय बबरमहल जाने गर्दैनन् ।
पूर्व समाजवादीका सांसदहरू रेणु यादव, प्रदीप यादव, इस्तियाक राई, विमल श्रीवास्तव अहिले पनि प्रधानमन्त्री ओलीसँग निकट मानिन्छन् । त्यसैले उनीहरू ठाकुरसँग निकट भएको बताइन्छ । पोहोर यी नेताहरूले झन्डै तत्कालीन समाजवादी पार्टी फुटाएका थिए । सुरेन्द्र यादवलाई महोत्तरीबाट काठमाडौँ ल्याउने क्रममा पोल खुले पछि पार्टी फुटाउने योजना भताभुङ्ग भएको थियो । रेणु, इस्तिायक लगायतका नेताहरूको त्यस बेला प्रधानमन्त्रीसँग भएको निकटता अहिले पनि कायमै रहेको बताइन्छ । पार्टी फुटाउन लागेको पोल खुलाएका सुरेन्द्र यादव अहिले बाबुराम भट्टराईसँग निकट मानिन्छन् । सुरेन्द्रलाई इस्तियाक, रेणु, प्रदीप लगायतका सांसदहरुले त्यति विश्वास गदैनन् । त्यसैले सुरेन्द्र भट्टराई–यादव गुटसँग निकट मानिन्छन् । यसै गरी भट्टराई–यादव गुटलाई रामसहाय यादव, रामबाबु यादव, राजेन्द्र श्रेष्ठ र लीला सिटौलाले साथ दिएका छन् । सूर्य नारायण यादव मौन छन् । रेणुका गुरुङ अशोक राई पक्षसँग निकट मानिन्छिन् । पूर्व राजपाका १६ सांसदहरू मध्ये महेन्द्र यादव बाहेक १५ सांसद अहिले पनि ठाकुरसँग निकट रहेको स्रोतको भनाइ छ ।
पोहोर साल तत्कालीन दुई पार्टी राजपा र समाजवादीबीच एकीकरण भई जसपा गठन भए पनि अहिलेसम्म दुई पार्टीका अलग अलग संसदीय दल छन् । दुई पार्टीका संसदीय दलबीच अझै समायोजन हुन सकेको छैन । पूर्व समाजवादीको संसदीय दलको नेता उपेन्द्र यादव हुन भने पूर्व राजपाका संसदीय दलको नेता महन्थ ठाकुर हुन् ।