arrow

कोरोना सङ्क्रमण नियन्त्रणमा भ्याक्सिन कति प्रभावकारी ?

logo
नारायण पौडेल
प्रकाशित २०७८ वैशाख १६ बिहिबार
naryan2.jpg

विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट देखिएपछि परिस्थिति थप जटिल मोडमा पुगेको छ । जसको कारण विज्ञान तथा प्रविधि माथि प्रश्न चिन्ह खडा त भएको छ नै, दिनहुँ हजारौं मानिसहरूले ज्यान गुमाइरहेका छन् । त्यसैले पछिल्लो समय नेपालमा बढिरहेको कोरोना सङ्क्रमणलाई समयमा नै रोक्न सकिएन भने अबको केही दिनमा सङ्क्रमितहरूको सङ्ख्या बढ्न गई उपलब्ध अस्पतालहरूबाट समेत बिरामीहरूको निगरानी गर्न सक्ने अवस्था रहँदैन । त्यसमाथि अहिले कोरोनाको डबल म्युटेसन देखिएको वैज्ञानिकहरूको भनाई छ । मानिसको शरीरमा रोगसँग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमतालाई कुनै पनि तरहले झुक्काएर मानव शरीरमा छिटो आक्रमण गर्न सक्ने र एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण छिटो फैलिनुलाई डबल म्युटेसन भनिन्छ ।

कोरोनाको नयाँ भेरियन्टका कारण छिमेकी मुलुक भारतमा भयावहको स्थिति देखिएको छ । जसको प्रभावमा नेपालमा पनि प्रत्यक्ष रूपमा पर्दछ । त्यसमाथि अहिलेसम्म नेपालले भारतसँग जोडिएका सीमा नाकाहरू प्रभावकारी ढङ्गले बन्द गरेको छैन, नाकामा आवतजावत गर्ने व्यक्तिहरूको स्वास्थ्य जाँच समेतमा लापरबाही गरिएको छ । यसरी भारतमा निकै जटिल मोडमा पुगेको सङ्क्रमणले नेपालमा समेत त्यसको असर देखाउने निश्चित छ । कुनै पनि भाइरस अत्यन्त सूक्ष्म हुन्छ । त्यसैले भाइरसलाई साधारणता सूक्ष्म दर्शक यन्त्रले समेत देख्न सकिँदैन । त्यसैले कोरोना केही होइन, कडा रुघाखोकी जस्तै भएकाले तातोपानीमा बेसार राखेर पिउँदा ठिक हुन्छ भन्नेजस्ता सामान्य अनुमान अझै पनि गर्न थालियो भने त्यसबाट उत्पन्न नतिजा हामी सबैका लागि प्रत्युत्पादक हुन्छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिडका सन्दर्भमा विज्ञहरूले व्यापक अनुसन्धान गरिरहेको र भ्याक्सिन समेत बजारमा उपलब्ध भइसकेको देखिए पनि भ्याक्सिन शत प्रतिशत विश्वसनीय छैन । अर्कोतर्फ खोप उत्पादन हुने बित्तिकै नागरिकको पाखुरामा खोप्न सम्भव हुँदैन । त्यसका लागि आवश्यक सङ्ख्यामा चाहिने सिरिन्ज तथा निडलको उत्पादन गर्ने क्षमता अझ चुनौतीपूर्ण हुन्छ भने उत्पादन स्थलबाट अति कम तापक्रममा भण्डारण गरी खोपलाई सुरक्षित रूपले संसारका विभिन्न भागमा पुर्‍याउनुपर्दछ । यसरी उत्पादन, भण्डारण, ढुवानी र सुई हाल्ने संयन्त्र लगायतको उचित व्यवस्थापनका लागि संसारका सबै जनसङ्ख्यालाई खोप दिन लामो समय निश्चित लाग्छ ।

चीनको वुहान शहरबाट उत्पत्ति भएको कोरोनाले एकबर्ष मै संसारभर आफ्नो प्रभाव जमाउँदा खोप र सङ्क्रमणको दौडमा कसले जित्ला भन्ने प्रश्न खडा भएको छ ।  मानिसको जीवनभन्दा महत्त्वको विषय अरू हुन सक्दैन । कोरोना उन्मूलन हुन कति समय लाग्ला ? मानव जीवन पूर्ववत् अवस्थामा फर्कन सक्ला कि नसक्ला जस्ता प्रश्न अहिले भाइरसका अगाडि चुनौती बनिरहेका छन् । त्यस्तै खोपको पहुँचमा धनी देश मात्रै रहेको अवस्थामा नेपाल लगायत संसारका गरिब मुलुकले कहिले आफ्ना नागरिकलाई खोप दिन सक्लान् रु कोरोनाले देशको भौगोलिक सीमा सहजै पार गर्ने, भ्याक्सिन भने धनी देशभित्रै रुमलिई रहँदा गरिब देशमा कोभिडको सङ्क्रमण लहरलाई स्वाभाविक रूपमा लिनुपर्ने बाध्यताले हामीजस्तै अविकसित र गरिब मुलुकलाई कहाँ पुर्‍याउला ?

कोभिड विरुद्धको भ्याक्सिन लिँदा हाम्रो शरीरको प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) ले उक्त भाइरसलाई जित्न सक्ने क्षमता भएको ‘एन्टीबडी’ त बनाउँछ, तर एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने यो भाइरस निस्तेज हुनका लागि सबै नागरिकहरूमा ‘इम्युनिटी पावर’ पक्कै पनि बढी हुनुपर्दछ । कोरोना भाइरस (कोभिड–१९) महामारी विरुद्ध लड्न हामीले प्रयोग गरेको हतियारमध्ये भ्याक्सिन सबैभन्दा बलियो हतियार हो र केही भ्याक्सिन ९० प्रतिशतभन्दा बढी प्रभावकारी पनि देखिएका छन् ।

यसले धेरै मानिसलाई बिरामी हुन र सङ्क्रमणकै कारण मृत्यु हुनबाट जोगाउन सक्छ । तर कुनै पनि भ्याक्सिन अहिलेसम्म शत प्रतिशत प्रभावकारी छैन । त्यसले भ्याक्सिन लगाइसकेपछि पनि सङ्क्रमण हुनसक्छ  । हामीले सोचिरहेका छौं कि भ्याक्सिनले कोरोना भाइरस (कोभिड-१९) महामारी पूर्णरुपमा नियन्त्रणमा लिनेछ  । तर वैज्ञानिकहरुका अनुसार भ्याक्सिनले मात्रै भाइरस सङ्क्रमण नियन्त्रणमा लिन सम्भव हुने देखिँदैन र कोरोना भाइरस नियन्त्रण गर्न कुनै पनि एक उपाय शत प्रतिशत प्रभावकारी छैन । त्यसैले आउँदा दिनहरूमा सङ्क्रमणबाट प्रभावित र मृत्यु हुनसक्ने सङ्ख्याको विषयमा अहिले यकिनका साथ भन्न सकिँदैन ।

संसारका विभिन्न स्थानबाट सङ्कलित कोरोना भाइरसको अणुवांशिक परीक्षणले भाइरस एकर्कामा दुरुस्त नभई तिनीहरूले बिस्तारै आफ्नो स्वरूप परिवर्तन गर्दै लगेको देखियो र एउटै पुर्खा भएर पनि फरक स्वरूप देखिएकै कारण अहिले कोरोना भाइरसलाई वैज्ञानिक भाषामा ‘भेरियन्ट’ भनियो । जसकारण प्रारम्भको भाइरसले भन्दा अहिलेको भाइरसले निकै छिटो र सजिलै व्यक्तिलाई आक्रमण गरी छोटो समयमा नै मृत्युको मुखमा पुर्‍याउँछ । त्यसैले अहिले पनि कोभिड विरुद्धको भ्याक्सिन लगाउन पाए पनि नपाए पनि कोरोनाको दीर्घकालीन औषधी भनेको मास्क, स्यानिटाइजर, साबुन पानी, पिपिई, सामाजिक दुरी र तातोपानीको नियमित सेवन नै हो । यसका अतिरिक्त सन्तुलित आहार विहार त मानव जीवनका लागि सदैव महत्त्वपूर्ण मानिन्छ ।

विश्वव्यापी रूपमा हेर्दा चीनले सेल्फ क्वारेनटाइनमा बसेका व्यक्ति र ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने सम्पूर्ण खाद्यान्न घरमै पुर्‍याउने, कन्ट्याक्ट ट्रेसिङमा सावधानी अपनाउने, हरेक व्यक्तिको नाम दर्ता गर्ने, बिरामीलाई समुदायको व्यवस्थापनमा राख्ने, सीमा नाकाहरू पूर्णरुपमा बन्द गर्ने लगायतका कार्यहरू गरी जसरी कोरोना नियन्त्रणमा सफलता प्राप्त गर्‍यो, नेपालले पनि अब यथाशक्य छिटो सोही प्रक्रियालाई अनुशरण गर्न नसक्ने हो भने महामारी नियन्त्रण बाहिर जानेछ । त्यस्तै मास्क नलगाई हिँड्ने, भिडभाड गर्ने, स्वास्थ्य सुरक्षा नअपनाई गतिविधि गर्न दिने हो भने कोरोना सङ्क्रमणको स्थिति थप भयावह बन्नेछ ।

कोरोना भाइरसले सर्वप्रथम घाँटी, श्वास नली र फोक्सोमा रहेका कोषलाई आक्रमण गर्दछ र बिस्तारै ती अङ्गलाई भाइरसले आफ्नो नियन्त्रणमा लिई गम्भीर असर पुर्‍याउँछ । यस्तो भाइरस परजीवी भएकै कारण मानिसमा विभिन्न रोग लाग्छ । कोरोना भाइरस मानवको श्वासप्रश्वासमा अवरोध निम्त्याउने एक प्रमुख भाइरस हो । कोभिड–१९ मुख्यतः सङ्क्रमित व्यक्तिले खोक्दा र हाच्छ्युँ गर्दा नाक वा मुखबाट निस्कने र्‍यालबाट सर्दछ । कोरोनाको नयाँ भेरियन्ट सम्बन्धमा भइरहेको अनुसन्धान अनुसार प्राकृतिक वा खोप जुनसुकै प्रक्रियाबाट भए पनि विकसित भएको सङ्क्रामक रोग विरुद्ध लड्ने क्षमता मानवमा सय हप्ताभन्दा बढी समयसम्म सक्रिय हुन सक्यो भने मात्रै आगामी दिनहरूमा यो रोगको सङ्क्रमण दर घट्न सक्ने बताइन्छ ।

अहिले नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न यथेष्ट स्वास्थ्य सुरक्षा अपनाइएको छैन । किनकि सङ्क्रमण नियन्त्रणका लागि लकडाउन, निषेधाज्ञा, जोरबिजोर प्रणालीमा सवारी सञ्चालन, व्यापारिक केन्द्र बन्द जस्ता उपायहरू मात्रै प्रभावकारी हुँदैनन् कि यस्ता निकाय वा उपायमा स्वास्थ्य सतर्कता कस्तो छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । त्यसमाथि हाम्रोमा मास्कको प्रयोग समेत नगरी भिडभाड, बजार, सार्वजनिक यातायातमा यात्रा भइरहेको छ । यसै गरी सामान्य स्थितिमा जस्तै यातायात, होटेल, व्यवसाय, कार्यालय, हाटबजार, पसल, अस्पताल, विद्यालय, कलेज लगायतमा स्वास्थ्य सुरक्षाको ख्याल नगर्ने प्रवृत्तिलाई नियन्त्रण नगर्ने हो भने यसले मानव अस्तित्व माथि ठुलो क्षति पुर्‍याउँछ ।

यदि आफूलाई कोरोना सङ्क्रमित हुनबाट जोगाउन सकिएन भने आफ्नो परिवार, समाज, देश र विश्व नै ध्वस्त हुनबाट जोगाउन कदापि सकिँदैन । नेपालमा कोरोना भाइरसको प्रारम्भिक चरणमा मास्क लगाउने, सामाजिक दूरी कायम गरी भेटघाट गर्ने, कुनै वस्तु छोएमा साबुन पानीले हात धुने, हात धुन तत्काल सम्भव नभए स्यानिटाइजर प्रयोग गर्ने, बाहिरबाट आएका व्यक्तिहरूलाई निश्चित समय क्वारेनटाइनमा राखेर मात्र आफ्नो घर पठाउने जस्ता उपायहरूको अवलम्बन गरिएकोमा अब यी बाहेक अन्य विषयहरूमा पनि समयमै सावधानी अपनाउन सकिएन भने नयाँ भेरियन्ट सहितको कोरोनाबाट आम नागरिकहरूमा गम्भीर क्षति पुग्ने निश्चित देखिन्छ ।



नयाँ